सिड्नी- अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान माइक हसीले भारतीय कप्तान विराट कोहलीको रिसाहा बानीका कारण ४ टेस्टको शृंखलामा हुनसक्ने सम्भावित विवाद पन्छाउन स्पष्ट रणनीति बनाउनु पर्ने बताएका छन्। कोहलीको कप्तानीमा भारत पछिल्लो १८ टेस्टमा अपराजित छ। यस क्रममा भारतले श्रीलंका र वेस्ट इन्डिजको घरेलु मैदानमा शृंखला जितेको थियो भने आफ्नै देशमा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र इङल्यान्डलाई हराएको थियो।
भारतलाई टेस्ट वरियताको शीर्ष स्थानमा पुर्याउन २८ वर्षे कप्तान कोहलीले महत्वपूर्ण भुमिका खेलेका छन्। उच्च लयमा रहेका कोहलीले २०१६ मा तीन वटा दोहोरो शतक पूरा गरेका थिए।
‘उनलाई उत्तेजित बनाउने प्रयास गर्नु हुन्न,’ अस्ट्रेलियन क्रिकेट बोर्डको आधिकारिक वेवसाइटमा हसीलाई उदृत गर्दै लेखिएको छ, ‘गिज्यायो (विपक्षी खेलाडीका मनोबल गिराउन गरिने कार्य) भने उनी चाढै रिसाउछन्। उनी साच्चिकै आक्रामक प्रतिद्वन्द्वी हुन्। खेल दौरान उनलाई गिज्याउनु पर्ने कुनै आवस्यकता छैन। यसले उनलाई थप आक्रामक बनाउँछ।’
कोहलीले सन् २०१२ मा सिड्नी क्रिकेट मैदानमा भएको टेस्टमा दर्शकलाई अस्लिल हाउभाउ देखाएपछि उनी कार्वाहीमा परेका थिए। त्यो व्यवहारका कारण कोहलीलाई खेलको आधा रकम जरिवाना गराइएको थियो। अस्ट्रेलिया र भारतविरुद्धको टेस्ट शंृखला पुनेमा फेब्रुअरी २३ बाट हुनेछ।
‘खेलमा धेरै वादविवाद गरेर आफ्नो ध्यान अन्यत्र मोडनु हुँदैन। खेलमा सबभन्दा महत्वपूर्ण कुरा भनेको ध्यान केन्द्रित गर्नु हो,' ४१ वर्षे हसीले भने, ‘जुन टोलीले आफ्नो क्षमता मैदानमा प्रमाणित गर्न सक्छ, त्यसैले जित्ने हो। विवाद गरेर जितिदैन।’
पछिल्लो पटक २०१२ मा भारत भ्रमण गरेको अस्ट्रेलियाले शृंखला ४–० ले गुमाएको थियो। हसीले अस्ट्रेलियाले शंृखलामा जित्न कोहलीलाई चाढो भन्दा चाढो आउट गर्नुपर्ने बताए।
‘अस्ट्रेलियाको जितमा नम्बर एक बाधक कोहली हुन्। हामीले उनलाई चाढोभन्दा चाढो पवेलियनको बाटो देखाउन सक्नु पर्छ,’ हसीले भने, 'उनले टिकेर खेले भने धेरै रन जोड्छन्। अहिले उनी उच्च लयमा छन्। उनलाई घरेलु मैदानको साथ हुन्छ। उनले राम्रो खेले भारतलाई रोक्न गाह्रो हुन्छ।’
प्रकाशित: २२ माघ २०७३ ०४:३३ शनिबार