coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गाउँ पसे नेता

नेपालगन्ज- मंगलबार दिउँसो झण्डै एकै समय। निर्वाचन क्षेत्र एउटै– सुर्खेत क्षेत्र नम्बर १। कार्यक्रमको उद्देश्य पनि एउटै– गाउँमा निर्वाचनबारे कार्यकर्तामा जागरण ल्याउनु। पात्र र पार्टी भने फरक। बबई नदी किनारमा अवस्थित हात्तीखालमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय नेता पूर्णबहादुर खड्का सहभागी थिए भने भेरी किनारको मेहलकुनामा एमाले महासचिव इश्वर पोख्रेल। दुबै नेताले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रादेशिक र संघीय निर्वाचन छिट्टै हुने भएकाले तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिए।

सरकारले निर्वाचन मिति तोक्न गृहकार्य गरिरहँदा प्रमुख राजनीतिक दलका केन्द्रीय नेता पनि गाउँ पस्न थालेका छन्। नेताहरूले संविधान कार्यान्वयनमा जोड दिँदै मतदातालाई आआफ्नो पार्टीमा आकर्षित गरिरहेका छन्।

हात्तीखालमा आयोजित कार्यक्रममा कांग्रेस नेता खड्काले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन अनिवार्य भएकाले तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए। 'संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प छैन, त्यसैले तपाईंहरू चुनावी तयारीमा लाग्नुहोस्,' उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, 'लोकतन्त्रमा चुनाव जित्न जनताको मन जित्नुपर्छ, कांग्रेस जनताको मन–मनमा बस्न सक्नुपर्छ।'

मेहलकुनामा आयोजित आमसभामा एमाले महासचिव पोख्रेलले आफ्नो पार्टीको पक्षमा जनलहर आएको दाबी गर्दै सत्ता साझेदार दल चुनावदेखि डराएको बताए। 'अब चाहेर पनि कसैले चुनाव रोक्न सक्दैन, चुनाव पक्षमा बढेको जनदबाब थेग्ने हिम्मत सरकारसँग छैन,' पार्टी कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, 'तपाईंहरू जनताको घरदैलोमा पुगेर एमालेको दृष्टिकोणबारे जागरुक गर्नुहोस्।'

दुबै आमसभाको एउटा मिल्दोजुल्दो पक्ष थियो– अन्य पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउनु। मेहलकुनामा महासचिव पोख्रेलले मोहन वैद्य नेतृत्वको माओवादी राज्य समिति सदस्य एवं क्षेत्रीय इन्चार्ज जेवी सुनारसहित ७० जनालाई टीका लगाएर एमालेमा स्वागत गरे। हात्तीखालमा पनि खड्काले कांग्रेस प्रवेश गरेका एमाले स्थानीय नेता धनीराज जैशीसहित एक सय १० जनालाई फूलमालाले स्वागत गरे।

'सरकारले चुनाव मिति घोषणा नगरे पनि गाउँमा हुने कार्यक्रम र नेताहरूको उपस्थिति देख्दा चुनाव आएको झल्को देखिन थालेको छ,' कांग्रेस आमसभामा भेटिएका स्थानीय प्रेम केसीले भने, 'हाम्रो पनि कामना छ, चुनाव छिट्टै भएर संविधान कार्यान्वयन होस्।'

पछिल्लो समय सुर्खेतमात्र होइन, पश्चिमका विभिन्न जिल्लामा दलका केन्द्रीय नेताहरू जनता फकाउन गाउँमै पुगेका छन्। उनीहरूको ध्यान स्थानीय निर्वाचनमा केन्द्रीत देखिन्छ। एक सातायता एमाले पोलिटब्युरो सदस्य यामलाल कँडेल दैलेखको नौमूले, सुर्खेतको गोजीबजारलगायत स्थानमा आयोजित पार्टीको सभामा सहभागी भए। ग्रामीण क्षेत्रका यी कार्यक्रममा उनले चुनावलक्षित भाषण गरे। यही समयमा जाजरकोटका दल्ली, रग्दा, भवती, बारेकोट, शिवालय, स्याउली बजारलगायत क्षेत्रमा कांग्रेसले 'आगामी चुनावका लागि गाउँ जागरण अभियान' सञ्चालन गर्‍यो। ती कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बद्री पाण्डे र हृदयराम थानी सहभागी भए। 'स्थानीय तहको  चुनावलाई लक्षित गर्दै जनतासँग घरदैलो कार्यक्रम सुरु गरिएको छ,' जाजरकोट कांग्रेस सचिव खड्क बुढाले भने, 'अहिलेको माहोलले आगामी स्थानीय निर्वाचन हाम्रो पक्षमा हुने निश्चितजस्तै छ।' निर्वाचन लक्षित आमसभा तयारी भएको उनले बताए। जाजरकोटमा माओवादी केन्द्रले समेत पार्टी सचिवालय सदस्य शक्तिबहादुर बस्नेतको सहभागितामा विभिन्न स्थानमा चुनावलक्षित कार्यक्रम आयोजना गर्‍यो। बस्नेत जाजरकोट साथै भेरी र कर्णालीका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी भएका थिए।

प्रमुख एजेन्डा विकास

गाउँ पुगेका नेताले जनतालाई आकर्षित गर्न विकासलाई प्रमुख एजेन्डा बनाएका छन्। अब विकासको समय भएकाले त्यसमा आफू र आफ्नो पार्टी दत्तचित्त भएर लाग्ने उनीहरूको भनाइ छ।

हात्तीखालमा आयोजित कार्यक्रममा कांग्रेस नेता खड्काले सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस अगुवाइमा भेरी उपत्यका आधुनिक सहर, भेरी बबई डाइभर्सन र भेरी करिडोर आयोजना, रामघाटमा क्षेत्रीय विमानस्थललगायत विकासका थुप्रै पूर्वाधार अघि बढिरहेको बताए। 'कांग्रेस विकास गर्नकै लागि जनतासँग हातेमालो गरिरहेको छ,' उनको भनाइ थियो, 'नवनेपाल निर्माण जिम्मा कांग्रेसको काँधमा छ, यसमा तपाईंहरू ढुक्क हुनुहोस्।'

मेहलकुनामा आयोजित कार्यक्रममा एमाले महासचिव पोख्रेलले देशको विकास र समृद्धिका लागि एमालेको हातमा सत्ताको साँचो हुनुपर्ने बताए। एमालेले सत्ताको बागडोर सम्हाल्दा सधैं जनमुखी विकास कार्यक्रम ल्याउने गरेको दाबी गर्दै उनले भने, 'एमालेले बोल्नेमात्र होइन, विकास गरेर देखाउँछ।'

(नगेन्द्र उपाध्याय– सुर्खेत, गोविन्द केसी– दैलेख र जनक केसी– जाजरकोटको सहयोगमा)

प्रकाशित: २२ माघ २०७३ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App