८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले भने- 'संशोधन नटुंगिएसम्म मिति घोषणा हुँदैन'

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक टुंगो नलागेसम्म सरकारले स्थानीय निर्वाचन मिति घोषणा नगर्ने आश्वासन मधेसी मोर्चालाई दिएका छन्। सरकार र मधेसी मोर्चाबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयकलाई टुंगोमा पुर्‍याउन परिमार्जनसहित अघि बढाउने तयारी सुरु भएको जानकारी पनि गराए। 

निर्वाचन तयारीसँगै संशोधन विधेयकलाई एकसाथ अघि बढाउने र विधेयकको टुंगो लागेपछि मात्र चुनाव मिति घोषणा गर्ने जानकारी दाहालले गराएका हुन्। उनले मोर्चासँग सहमति गरेर मात्र सरकारले चुनाव मिति घोषणा गर्ने बताएका थिए।    

छलफलमा प्रधानमन्त्रीले संशोधन प्रस्ताव टुंगो लागेपछि मात्र चुनाव मिति घोषणा गर्नेगरी निर्वाचन आयोगलाई तयारी थाल्न आग्रह गरेको प्रस्ट पारेका थिए। 'प्रधानमन्त्रीज्यूले संसद्मा टेबुल भएको संशोधन प्रस्तावको टुंगो नलागेसम्म स्थानीय तहको चुनाव मिति घोषणा नगर्ने भन्नुभएको छ,' छलफलपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकसँग भने, 'संशोधन प्रस्ताव टुंगो लगाएर चुनाव गर्दा निर्वाचन आयोगलाई तयारी गर्न समय नपुग्ने भएकाले अहिले नै तयारी थाल्न सरकारले आग्रह गरेको हो।'

प्रधानमन्त्रीले बिहीबारको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे मोर्चाका नेतालाई जानकारी गराएका थिए। मोर्चाको मागअनुसार स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनमा थप अध्ययन गरी रिर्पोट बुझाउन समिति गठन गरेको जानकारी  प्रधानमन्त्री दाहालले गराएका थिए। समितिको प्रतिवेदन आएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने उनले बताएका थिए। मोर्चाका नेताले आयोगको प्रतिवेदन अधुरो रहेको बताएका थिए।

मोर्चाका नेताले भने  परिमार्जनसहित संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडान दोहोर्‍याएका थिए। प्रधानमन्त्रीले भने परिमार्जनसहित संशोधन गर्न सरकार लागिपरेको जबाफ दिएका थिए। प्रधानमन्त्रीले संविधान संशोधनमा दुईतिहाइ जुटाउन दलहरूसँग समझदारी गर्ने बताएका थिए। प्रस्ताव पास गराउन राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा ल्याउन प्रयास भइरहको जानकारी उनले गराएका थिए। 'परिमार्जनसहित संशोधन प्रस्ताव पास गराउन प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गरेका अन्य दलसँग पनि समझदारीको प्रयास गर्ने बताउनुभएको छ', संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष्य राजेन्द्र श्रेष्ठले भने, 'हामीले प्रधानमन्त्रीलाई प्रस्ट रुपमा परिमार्जनसहित संशोधन प्रस्ताव पास नभएसम्म चुनाव हुन सक्दैन भनेका छौं।' 

बैठकमा मोर्चाका नेताले परिमार्जनसहित संशोधन प्रस्ताव पास नभईकन सरकारले चुनाव मिति घोषणा गर्न थालेको भन्ने विषयमा प्रधानमन्त्रीसँग  जानकारी मागेका थिए। 'सरकारले चुनाव मिति घोषणा गर्न  लाग्यो, जेठ १० भित्रै मिति घोषण हुन्छ भन्ने चर्चा आइरहेको छ। के सरकारले संविधान संशोधन नगरी चुनाव मिति घोषणा गर्न खोजेको हो भनी हामीले प्रधानमन्त्रीसँग बुझ्न खोज्यांै', राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता तथा सांसद धर्मेन्द साहले भने, 'प्रधानमन्त्रीज्यूले बाहिर आएको हल्ला सत्य होइन, सरकारले मधेसी मोर्चासँग सहमति गरेर मात्र चुनाव मिति घोषणा गर्छ भन्नुभएको छ।' 

बैठकमा सरकारी पक्षबाट प्रधानमन्त्री दाहाल, माओवादी केन्द्रका नेता श्रेष्ठ तथा मधेसी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका नेता अशोक राई, सहअध्यक्ष श्रेष्ठ, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, रामसापका साहलगायत उपस्थित थिए।

प्रकाशित: २२ माघ २०७३ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App