७ वैशाख २०८१ शुक्रबार
समाज

थानकोट नाकाबाट दुई युवतीको उद्धार

काठमाडौं- प्रहरीले कुवेतमा घरेलु कामदारका लागि बेच्न लैजाँदै गरेका दुई युवतीको उद्धार गरेको छ। घटनामा संलग्न दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले माइती नेपालको सहयोगमा नागढुंगा नाकाबाट बुधबार सिन्धुपाल्चोकका २० वर्षे दुई युवतीको उद्धार गरेको हो। उनीहरुलाई कुवेत पठाउन लागेका बाग्लुङका लक्ष्मण सापकोटा र सिन्धुपाल्चोकका रिमजिम तामाङलाई वृत्तले पक्रेको छ। 

पोखरा जाँदै गरेको बा२ख २०५८ नम्बरको माइक्रोबस जाँचक्रममा प्रहरीले ती युवतीलाई भारतको दिल्लीतिर लैजान लागेको खुलेको थियो। वृत्तका डिएसपी डिल्ली पन्तका अनुसार पक्राउ परेका सापकोटाले ६ हजार रुपैयाँ लिएर दिल्लीसम्म पुर्‍याउन ती युवतीको जिम्मा लिएका थिए। उद्धार गरिएकी एक युवतीका दाजु तामाङले गाउँमा रहेका काकाबाट नगद १० हजार रुपैयाँ लिई दिल्ली हुँदै कुवेतसम्म बेचबिखनका लागि पठाउन सहयोग गर्न खोजेको अनुसन्धानमा खुलेको उनले बताए।

'परिवारकै सहयोगमा विदेशमा बेचबिखनका लागि लैजाने र जाने गर्दा रहेछन्, पक्राउ परेपछि वृत्तमा समेत परिवारले नै सल्लाहमा पठाएको भन्दै थिए,' डिएसपी पन्तले भने। उद्धार गरिएका दुई युवती माइती नेपालको रेखदेखमा रहेको डिएसपी पन्तले जानकारी दिए।

प्रहरीले थानकोट नाकाबाट यस आर्थिक वर्षमा मात्र एक सय चार महिला तथा बालबालिकाको उद्धार गरिसकेको जनाएको छ। खाडी देशमा कामदारका रुपमा बेच्न, भारतका विभिन्न सहरमा यौन व्यवसायका लागि र मगन्ते बनाउनसमेत तस्करी हुने गरेको छ। वृत्तका अनुसार ६४ महिला, ४१ बालिका र एक बालकको प्रहरीले उद्धार गरेको हो। घटनामा संलग्न २८ जना विरुद्ध मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा दायर भएको वृत्तले जनायो।

प्रकाशित: २३ असार २०७३ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App