७ वैशाख २०८१ शुक्रबार
समाज

अस्पतालबाटै नवजात शिशु गायब, नारायणी अस्पतालमा तनाब

नाती हराएपछि रुदै गरेकी शिशुको हजुरआमा रमावति देवी र आफन्तहरु। तस्बिर: रितेश त्रिपाठी

वीरगन्ज- नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो एउटा नवजात शिशु गायब भएपछि अस्पताल दिन भरी तनावग्रस्त भएको छ। शिशुलाई एक जना महिलाले चोरेर लगेको खुल्न आएको छ। आफन्तहरु घरी रुवावास गर्दै थिए घरी होहल्ला। ‘मलाई कुनै पनि हालतमा मेरो नाति चाहियो,’ शिशुको हजुरआमा रमावति देवीले प्रहरीलाई भनिन्, ‘यसमा अस्पतालको लापारवाही छ कि मिलोमतो तपाईहरु पत्ता लगाउनुस्, हामीलाई  बच्चा चाहियो।’

                बजार टोल छप्कैया –१ वीरगन्जका वीरगन्जका मुकेश पासवान की श्रीमति आशा देवीले बिहान ११ बजेर ४० मिनेटमा छोरा जन्माइन्। आमा र शिशु दुबैको स्वस्थ्यमा केही गडबडी देखिएपछि प्रसुति वार्डले सैयातिर सार्ने तयारी गरिहेको थियो। ‘पहिलेदेखी रातो धर्को भएको साल ओढेको गहुँगोरो रंगकी एक जना आइमाई त्यहाँ देखिएकि थिइन्, बच्चा जन्माउँदा पुछिएको कपडाका टुक्राटाक्री हटाउन मलाई नर्सहरुले भने, म त्यसमा ब्यस्त भए, संगै रहेकी कान्छी बुहारी मलाई सघाउन आइन्, तबसम्म बच्चा रोयो, तिनै महिला बच्चा भएतिर पुगेको देखिइन्’ रमावतिले भनिन्, ‘दुई मिनेट मैं बच्चा र आइमाई दुबै गायब थिए, बाहिर निस्केर हेर्दा पनि भेंटिएनन्।’

पासवानका अनुसार उक्त घटना बच्चा जन्मेको केही समयमै अस्पतालबाटै गायब भएको थियो। ४ छोराका बाबु पासवान भने आफ्ना अरु बच्चाहरुलाई पाउरोटी किन्न निस्केको बेला उनको जवजात सन्तान गायव भएको थियो। नारायणी उपक्षेत्रीय अस्पताल नजिकै रहेको छप्कैयाबाट घट्नापछि ओइरिएका पासवानको आफन्तले प्रसुति वार्ड र अस्पताल परिसरमा होहल्ला गरेका थिए। ‘डिलेभरी गराईसकेपछि बच्चा उसको परिवारलाई जिम्मा दिसकिएको थियो, त्यसपछि बच्चा हराएको हो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्तरञ्जन साहले भने, ‘यस्तो कहिले पनि भएको थिएन। हामी आश्यर्चमा छौं, तुरुन्तै प्रहरीले यसमा अनुसन्धान थालिसकेको छ।’

घट्नापछि पर्सा जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक यज्ञ भट्टराई र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिष कर्णले मेडिकल सुपरिटेन्डेन्ट साहको अगाडी राखेर घट्नाको बेला मौजुद सबै कर्मचारी, स्वास्थ्यकर्मी, गार्ड र स्विपरहरुसंग सोधपुछ गरेका थिए। बिरामीका कुरुवाहरुका अनुसार घट्नामा संलग्न भनिएकी शंकास्पद महिला करिब ५ दिनदेखी अस्पतालमा आउजाउ गरिरहेकी थिइन् । अस्पतालमा ठाउँ कम र बिरामी अधिक हुँदा लाग्ने भिड नियन्त्रण मै गार्डहरु  ब्यस्त रहने भएकोले पस्नेलाई रोक्ने चलन भए पनि निस्किनेलाई सोधीखोजी गर्ने गरिएको छैन् । अस्पतालमा गत आर्थिक बर्षमा जडान भएको ७ वटा सिसि क्यामरा एक दिन पनि नचलेर बिग्रेको अवस्थामा छ।

प्रहरी नायब उपरीक्षक भट्टराईले सिसि टिभी फुटेज भएको भए सजिलो हुने थियो बताउँदै आफुहरुले अनुसन्धान गरिरहेको बताए। सहरको बिभिन्न ५० भन्दा बढी ठाउँमा जनसहयोगमा प्रहरीले लगाएको सिसि क्यामरा पनि बिग्रेका छन् । प्रहरीले शंकास्पद महिलाको हुलियाको आधारमा खोजबिन सुरु गरको छ।

 

 

 

प्रकाशित: २१ माघ २०७३ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App