काठमाडौं-गम्भीर खालको निमोनियाका कारण अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाको उपचारमा उल्लेखनीय सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको छ। उनकाे स्वास्थ्यमा क्रमिक सुधार हुँदैगएपछि भेन्टिलेटरबाट निकालिएकाे हाे। उपचारमा संलग्न एक डाक्टरका अनुसार बुधबार बेलुकादेखि मेनटेन रहेको प्रेसर मेनटेन नै छ। ' उहाँकाे स्वास्थ्यमा क्रमिक सुधार अाएपछि भेन्टिलेटरबाट निकालेर अाइसियुमा राखिएकाे छ', ' अाेम अस्पतालका निर्देशक डा. हरिकिशाेर श्रेष्ठले भने।
'स्वास्व्यमा उल्लेखनीय सुधारभएपछि उहाँलाइ भेन्टिलेटरबाट निकालेर उपचार भइरहेकाे छ, काेइरालाका सहयाेग भरत तिवारीले नागरिकन्युजसँग भने, ' अहिले उहाँकाे अवस्था स्थिर रहेका डाक्टरहरूले जानकारी दिनु भएकाे छ।'
शंशाकको स्वास्थ्यमा सुधार आउन थालेपछि अक्सिजन र औषधिको मात्रा घटाउँदै लगिएको चिकित्सकले बताए। उनको होसमा पनि राम्रो सुधार आएको उनले बताए।
यसअघि शंशाकको अवस्था 'गम्भीर र स्थीर' रहेको चिकित्सकहरुले बताएका थिए। गम्भीर खालको निमोनिया पीडित कोइरालाको बुधबार साँझसम्म रक्तचाप र अक्सिजनको मात्रा केही सन्तुलिन देखिएको थियो। त्यसैगरी ब्रेनको रेस्पोन्स (बोलाउँदा आँखा खोल्ने, हात चलाउँने प्रयास) मा पनि केही सुधार छ।
पछिल्लोपटक कृतिम श्वासप्रश्वास उपकरण (भेन्टिलेटर)मा राखिएका कोइरालाको रक्तचाप सन्तुलित राख्नमात्रै चार प्रकारका औषधि चलाइएको छ। फोक्सोमा भएिको हावा, पिप र पानीबाहिर निकालेर थप संक्रमणबाट जोगाउँन 'चेष्टट्युब' राखिएको छ।
उपचारमा संलग्न चिकित्सक डा. लव जोशीले बुधबार राति आठ बजे नागरिकसँग कुरा गर्दै भनेका थिए, 'दिनभर ९० हाराहारीमा रहेको माथिल्लो रक्तचाप अहिले सुधार भएर ११० को हाराहारीमा आएको छ।' राति उनी सिकस्त हुँदा रक्तचाप माथिल्लो ६० र तल्लो ४० सम्म झरेको थियो। उनले भेन्टिलेटरको सहायतमा अक्सिजनको स्याचुरेसन पनि ९० कै हाराहारीमा कायम रहेको बताए जुन विहानको समयमा ५९ सम्म झरेको थियो। कम रक्तचाप र अक्सिजन मात्राले गम्भीर अवस्थाको संकेत गर्छ।
मंगलबार राति बान्तासहित श्वासप्रश्वासमा केही अप्ठेरो भएपछि ओम अस्पताल पुर्याइएका महामन्त्री कोइरालाको अवस्था बिहान ४ बजेतिर गम्भिर भएको थियो। चिकित्सकहरुका अनुसार बिहान एक्कासी बान्तासँगै होस कम हुने र छटपटिसमेत बढेपछि केहीबेरमै उनको मुटुसमेत बन्द भएको थियो।
प्रकाशित: २३ असार २०७३ ०२:२७ बिहीबार