coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अटेर गर्ने गैससलाई प्रहरीले ठेगान लगाउने

जुम्ला- स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जिल्ला विकास समिति जुम्लासँगको समन्वयमा अटेर गर्ने गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाउने चेतावनी दिएका छन्। सामुदायिक विकास कार्यक्रम (सिडिपी)को सहयोगमा जिविसद्वारा बिहीबार आयोजित सहभागितामूलक समावेशी योजना तर्जुमा सम्बन्धी अभिमुखीकरणमा उनले यो चेतावनी दिए।

जिल्लामा कार्यरत धेरै गैरसरकारी संस्थाले मनोमानी ढङ्गबाट कार्यक्रम सञ्चालन गरिरहेको र जिविससँग आवश्यक समन्वय नगर्दा विकासे गतिविधिमा समस्या आएको स्थानीय विकास अधिकारी बेल्बासेले बताए। 'जिल्ला विकासका लागि सरकारी तथा गैरसरकारी कार्यालय एकद्वार प्रणालीबाट जानुपर्छ, तर यो अवस्था यहाँ देखिँदैन.' उनले भने।  

उनले थपे, 'यो वर्षदेखि जिविसमा एनजिओ डेस्क स्थापना गरिएको छ, जिल्लामा कार्यरत सबै गैससले आफ्नो बजेट तथा कार्यक्रम पेस गर्नुपर्छ।' यसबारे अभिमुखीकरण गरिँदा पनि विधि, पद्धति र प्रक्रियामा रहेर काम गर्न अटेर गर्ने गैससलाई ठेगान लगाउन प्रहरीको सहयोग लिन बाध्य हुने उनको भनाइ थियो। 

जिविसका वरिष्ठ कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढाथापाले जिल्ला विकासको साझेदारका नाममा भित्रिएका गैरसरकारी संस्थाको बजेट र कार्यक्रम जिविसको किताबमा उल्लेख हुनैपर्नेमा जोड दिए। 

किताबमा उल्लेख नभएका गैससलाई काम गर्न नपाउने नीति निर्माण गरी आगामी फागुनमा हुने २४औं जिल्ला परिषद्बाट पास गरिने उनको भनाइ थियो। साथै, जुम्लामा कार्यरत गैससहरुलाई आफ्नो प्रगति प्रतिवेदन जिविसलाई बुझाउन बरिष्ठ कार्यक्रम अधिकृत बुढाथापाले अनुरोध गरे।  

कार्यक्रमका अधिकांश सहभागीले गैससले मनोमानी तरिकाले कार्यक्रम सञ्चालन गर्ने र सरकारी कार्यालयका प्रमुख आफ्नै तरिकाले जिल्ला बाहिरिनुले विकासमा बाधा पुगेको बताएका थिए। यहाँका नागरिकलाई दोष लगाएर आफू शुद्ध हुने दुष्प्रयास नगर्न पार्टी प्रतिनिधिले विकास साझेदार तथा कार्यालयका प्रमुखलाई चुनौती दिएका थिए। रासस

प्रकाशित: २१ माघ २०७३ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App