coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्ववियु चुनावमा राष्ट्रिय झन्डा

काठमाडौं- एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव प्रचारमा राष्ट्रिय झन्डा प्रयोग गरेको छ। अनेरास्ववियुका विद्यार्थीले ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस प्रांगणमा राष्ट्रिय झन्डा गाडेर चुनाव प्रचार सुरु गरेका हुन्। एमाले पार्टी केन्द्रीय सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख सुदर्शन शिवाकोटी नेतृत्वमा विद्यार्थीले सरस्वती पूजा गरी राष्ट्रिय झन्डा गाडेर चुनाव प्रचार थालेका थिए।

'सरस्वती पूजा गरी माताको आशीर्वाद लिएर हामी चुनावी तयारीमा जुट्यौं,' राष्ट्रिय झन्डा गाड्दै अनेरास्ववियु क्याम्पस कमिटी सदस्य निरज रोकायाले भने, 'कलेजमा राष्ट्रिय झन्डा फहराएर सकारात्मक वातावरणमा चुनावको तयारी गर्दा सद्भाव कायम रहने विश्वास छ।'                    

विभिन्न दल निकट विद्यार्थी संगठन बुधबारदेखि चुनाव प्रचारमा जुटेका हुन् । त्रिभुवन विश्वविद्यालयका आंगिक एवम् सम्बन्धन प्राप्त कलेजमा आगामी फागुन १४ गते स्ववियु चुनाव हुनेछ।

त्रिवि कार्यकारी परिषद्ले स्ववियु चुनाव धाँधलीरहित बनाउन माघ १३ गते  आचारसंहिता जारी गरेको थियो।  आचारसंहिताअनुसार चुनाव प्रचार गर्दा भित्तेलेखन, ब्यानर, पर्चा, नारा, माइक, संगठन वा पार्टी झन्डा प्रयोग गर्न पाइँदैन।

प्रत्येक क्याम्पस निर्वाचन समितिले सबै उम्मेदवारको परिचयात्मक कार्यक्रम गर्नुपर्ने अचारसंहितामा उल्लेख छ।

सोही कलेजका अनेरास्ववियुका नेता कपिल सोडारीले आचारसंहिताभित्रै रहेर चुनाव जित्ने रणनीतितर्फ संगठन केन्द्रित भएको बताए। 

अनेरास्ववियु प्रचार विभाग प्रमुख सुदीप शर्माले चुनाव आचारसंहिताले पर्चा, ब्यानर, झन्डालगायतका प्रचार सामग्रीमा रोक लगाएकाले देशभरिका कलेजमा राष्ट्रिय झन्डा फहराएर चुनाव प्रचार गर्ने निर्णय भएको जानकारी दिए।

उनले बुधबार देशका ८० क्याम्पसमा झन्डा फहराएको र माघ २१ गतेभित्र चुनाव हुने सबै कलेजमा संगठनले राष्ट्रिय झन्डा फहराइसक्ने दाबी गरे। 'हामी जसरी पनि स्ववियु चुनाव गराउने पक्षमा छौं,' शर्माले भने, 'संगठनभन्दा ठूल्ाो राष्ट्र भएकाले हामीले राष्ट्रिय झन्डालाई प्रचारमा प्रयोग गरेका हौं।' सबै विद्यार्थी संगठनलाई राष्ट्रिय झन्डामुनि ऐक्यबद्ध हुन उनले अनुरोध गरे।

कांग्रेस निकट नेविसंघका सहमहामन्त्री राजेश रौनियारले संगठनभित्रका केही नेताले उमेर हदबन्दीमा विरोध जनाए पनि सबैलाई मिलाएर चुनावमा उत्रने तयारी भइरहेको जानकारी दिए। उनले चुनाव आचारसंहिताभित्र रहेर तयारीमा जुट्न कलेजका प्रतिनिधिलाई निर्देशन दिइसकिएको बताए। रौनियारका अनुसार नेविसंघले चुनाव प्रचारमा सामाजिक सञ्जाल फेसबुक र ट्विटरलाई प्रयोग गर्ने भएको छ। यस्तै  फोन, एसएमएस, कार्ड वितरण तथा घरदैलो कार्यक्रमसमेत गरिनेछ।

रौनियारले नागरिकसँग भने, 'विद्यार्थीमाझ संगठनको नेतृत्व नै पुगेर चुनावी रणनीति बनाउने गृहकार्य सुरु भइसकेको छ।'

नेविसंघका सभापति नैनसिंह महरले विगत ८ वर्षदेखि स्ववियु चुनाव हुन नसकेका कारण विद्यार्थी राजनीति ओझेलमा परेको बताए। उनले संघ चुनाव गराउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए। कांग्रेसले स्ववियु चुनावका लागि पार्टी केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन गरेको छ। 'चुनावमा सहयोग र समन्वय गर्न पार्टीले केन्द्रीय स्तरमै निर्देशक समिति गठन गरी नेविसंघलाई जिताउने रणनीतिमा जुटिसकेको छ,' सभापति महरले भने।

यसैगरी माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न अपिल र घोषणापत्रलाई माध्यम बनाएको छ। संगठनका अध्यक्ष नरेन्द्र न्यौपानेले संगठन प्रचारको तामझाम नअपनाई विद्यार्थीमाझमै पुग्नेे बताए।

'हामी कलेजको कक्षाकोठादेखि विद्यार्थीको दैलोसम्म पुगेर अपिल र घोषणापत्र उपलब्ध गराउँछौं,' न्यौपानेले भने, 'फागुन १ गते हामी उम्मेदवार घोषणा गर्नेछौं।' उनले पनि संगठन अचारसंहिताभित्रै रहेर चुनावमा जुटको बताए।

त्रिविले माघ १५ गतेदेखि सबै कलेजमा विद्यार्थी भर्ना रोकेको छ। चुनाव कार्यतालिकाअनुसार फागुन १ गतेभित्र संगठनको नाम दर्ता गराइसक्नुपर्नेछ।  फागुन १ मै मतदाता सूची प्रकाशित गर्नुपर्ने, २ गते मनोनयनमाथि दाबीविरोध गर्नुपर्ने र ४ गते आआफ्नो क्याम्पसबाट मनोनयनपत्र वितरण गर्नुपर्ने कार्यतालिका छ। यसैगरी  ५ गते उम्मेदवारको मनोनयन गर्नुपर्नेछ। क्याम्पस निर्वाचन समितिले फागुन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नुपर्नेछ।

स्ववियु निर्वाचनमा अध्यक्ष, कोषाध्यक्ष र सचिव प्रत्यक्ष प्रणालीबाट चयन हुनेछन् भने ५० प्रतिशत सदस्य समानुपातिक चयन गरिनेछ। समानुपातिक निर्वाचित सदस्यबाटै कार्य समितिले उपाध्यक्ष र सहसचिव चयन गर्ने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापामगरले बताए।

दुई सय विद्यार्थी भएको क्याम्पसमा ११ सदस्य, दुई सय एकदेखि एक हजार विद्यार्थी भएको क्याम्पसमा १५ सदस्यीय, एक हजार एकदेखि तीन हजार विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र तीन हजार एकभन्दा बढी विद्यार्थी भएको क्याम्पसमा २१ सदस्यीय कार्य समिति चयन हुने व्यवस्था छ।

प्रकाशित: २१ माघ २०७३ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App