८ वैशाख २०८१ शनिबार
राजनीति

उमेरहदले नेवि संघमा किचलो

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा २८ वर्षे उमेरहद तोकिएको विषयमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघभित्र विवाद चर्केको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले स्ववियु निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार जुट्न संघका नेता तथा कार्यकर्तालाई निर्देशन दिए पनि असन्तुष्ट विद्यार्थी नेताहरूले २८ वर्षे उमेरहद स्वीकारेर निर्वाचनमा जान नसकिने अडान दोहोर्‍याएका छन्।

विवाद चर्केपछि कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार बिहान पार्टी पदाधिकारीले संघका केन्द्रीय पदाधिकारी, उपत्यका जिल्ला र क्याम्पस इकाइ सभापतिासँग छलफल गरे। छलफलमा पार्टी सभापति देउवाले स्ववियु निर्वाचन कुनै पनि हालतमा गर्नुपर्ने भन्दै तयारीमा जुट्न विद्यार्थी नेताहरूलाई निर्देशन दिएका थिए। २८ वर्षे उमेरहदका कारण स्ववियु निर्वाचनमा उम्मेदवार बन्न वञ्चित हुने विद्यार्थी नेतालाई पार्टीका भ्रातृ संगठन र विभागमा उचित स्थान दिइने आश्वासन देउवाले दिएका छन्।

'पार्टी सभापतिले निर्वाचनमा जानुको विकल्प छैन भन्दै वर्तमान कानुनअनुसार अघि बढ्न निर्देशन दिनुभएको छ,' संघका अध्यक्ष नैनसिंह महरले भने, '२८ वर्षे उमेरहदका कारण स्ववियु निर्वाचनमा उम्मेदवार बन्नबाट वञ्चित हुनेलाई पार्टीमा उचित अवसर दिने आवश्वासन उहाँले दिनुभएको छ।'

पार्टी निर्देशन अनुसार संघ निर्वाचन तयारीमा जुटेको बताउँदै महरले केन्द्रीय कार्यालयमा असन्तुष्ट विद्यार्थीले लगाएको ताला खुलिसकेको जानकारी दिँदै क्याम्पसहरूमा लागेका ताला पनि विस्तारै खुल्दै जाने दाबी गरे। 'स्ववियु निर्वाचनमा संघलाई पहिलो संगठन बनाउने गरी आजैबाट निर्वाचन तयारीमा जुटेका छौं,' उनले भने, 'हामी संगठन बढाउन निर्वाचनमा एकजुट भएर लाग्नेछौं।'

तर, असन्तुष्ट विद्यार्थी नेताले लोकतान्त्रिक पार्टीभित्र निरंकुशता लाद्ने काम भएको आरोप लगाउँदै २८ वर्षे उमेरहद स्वीकार गर्न नसक्ने अडान दोहोर्‍याएका छन्। असन्तुष्ट पक्षले पार्टी भ्रातृ संगठनमा पनि उम्मेदवार हुन वञ्चित गराइएको र स्ववियु निर्वाचनमा पनि रोक्ने काम भएको गुनासो गरेका छन्। पार्टी र संघले आफ्नो एजेन्डालाई साथ नदिए संगठनको जिम्मेवारी छाड्ने तर मुद्दाबाट पछि नहट्ने अडान उनीहरूले दोहोर्‍याए।

'हामी आफूले सम्हाल्दै आएको जिम्मेवारी बरु छाड्न तयार छौं तर उमेरहद खारेज गर्नुपर्छ भन्ने मुद्दाबाट पछि हट्दैनौं,' संघका काठमाडौं जिल्ला अध्यक्ष सुरज वैद्यले भने, '१० वर्षसम्म निर्वाचन नगराउने, अहिले हुने भनिएको निर्वाचनमा पनि लामो समय संगठनमा सक्रिय साथीहरूलाई त्यसै जिम्मेवारीमुक्त गराउने कुरा मान्य छैन।'

अहिलेको व्यवस्था अनुसार निर्वाचनमा जाने कुनै सहमति नभएको जनाउँदै उनले भने, 'पार्टी सभापतिले चुनावमा जान भन्नुभयो, हामीले आफ्नो कुरा राखेर बाहिरिएका हौं, कुनै सहमति भएको छैन।' नेवि संघको असन्तुष्ट पक्षले अर्को पटकदेखि मात्र उमेरहद लगाउनुपर्ने माग गर्दै आएको छ।

प्रकाशित: २१ माघ २०७३ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App