coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संकट टार्न चुनाव अनिवार्य : ओली

काठमाडौं- प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले १० महिनाभित्र संघीय संसद्सहित तीनै तहको निर्वाचन नभए मुलुक राजनीतिक संकटमा फस्ने चेतावनी दिएका छन्। एमाले निकट अखिल नेपाल किसान संघद्वारा बिहीबार काठमाडौंमा आयोजित दक्षिण एसियाली किसान सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई संकटमा फस्न नदिन तीन तह (स्थानीय, प्रदेश सभा र संघीय संसद्) को निर्वाचन अनिवार्य भएको बताए। उनले भने, 'अहिले हामी राजनीतिक, सामाजिक र आर्थिकरुपमा संक्रमणकालीन अवस्थामा छौं। आगामी ९/१० महिनाभित्र तीन तहको निर्वाचन सम्पन्न गरेर संक्रमणकालीन अवस्था अन्त्य गर्नुपर्छ।' संक्रमणकाल अन्त्य गर्न आफूहरू सकारात्मक बाटोमा अगाडि बढिरहेको पनि उनले स्पष्ट पारे।

नेपालका ६७ प्रतिशत जनता कृषिमा आधारित रहेको उल्लेख गर्दै ओलीले यसलाई आधुनिकीकरण र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए। 'दुनियाँ आधुनिकतातर्फ अगाडि बढ्दैछ, यसलाई कसैले रोक्न सक्दैन। हामी पनि त्यसतर्फ अगाडि बढ्दैछौं,' उनले भने, 'तर, कस्तो आधुनिकता? गरिब र धनीबीचको खाडल बढाउँदै जाने हो? सामजिक न्याय र समानता हुने कि नहुने? विकासका प्रतिफल समान तरिकाले वितरण हुने कि नहुने?'

ओलीले आधुनिकीकरण र व्यावसायिकताको नाममा जनतालाई भूमिहीन बनाउन नहुने बताए। हाउजिङ र प्लानिङले उर्वराभूमि नष्ट पार्ने काम भइरहेका प्रति उनले चिन्ता व्यक्त गरे। किसानलाई व्यवासायिक र दक्ष बनाउँदै आत्मनिर्भर बनाउनुपर्नेमा पनि उनले जोड दिए।

परम्परागत भूमिसुधार नीतिले किसान समस्या समाधान नहुने उनको भनाइ थियो। 'कृषि आधुनिकीकरणले उत्पादकत्व बढाउँछ र किसानको अधिकार सुनिश्चित गराउँछ,' उनले भने। आफू प्रधानमन्त्री हुँदा किसानको पक्षमा राम्रा काम गर्न खोजे पनि नाकाबन्दी र मधेस आन्दोलन बाधक बनेको उनले बताए।

दक्षिण एसियाली राष्ट्रहरूमा कृषि समस्या लगभग एउटै भएकाले आपसी सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा पनि ओलीले जोड दिए।

सम्मेलनमा डा. कैलाशनाथ प्याकुरेलले दक्षिण एसियाली राष्ट्रहरूका किसानका समस्याबारे कार्यपत्र प्रस्तुत गर्दै मौसम परिवर्तन, राजनीतिक अस्थिरता, कृषिप्रति सरकारको अस्पष्ट नीति, भौगोलिक जटिलतालगायत समस्या रहेको बताए। दक्षिण एसियाली राष्ट्रहरूले खाद्य सुरक्षा मुद्दालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्नेमा उनले जोड दिए।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका किसानसम्बद्ध संस्थाका प्रतिनिधि सहभागी छन्।

प्रकाशित: २१ माघ २०७३ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App