५ वैशाख २०८१ बुधबार
विचार

असावधानीले आगलागी

आगो प्रयोगकर्ताको सामान्य असावधानीका कारण पनि असामान्य तथा अकल्पनीय दुर्घटना हुन पुग्छ भन्ने तथ्य राजधानीमा विगत डेढ वर्षका घटनालाई हेर्दा प्रष्ट हुन्छ। यो अवधिमा राजधानीका काठमाडौँ, भक्तपुर र ललितपुरमा भएका आगलागीका ठूला–साना घटनाबाट करिब एक अर्ब रुपैयाँबराबरको धनमाल खरानी हुन पुगेको छ। यही माघ १६ गतेसम्म डेढ वर्षको समयमा राजधानीमा २ सय १२ वटा आगलागीका घटना भएका छन् भने आठ जनाको ज्यान गएको छ। नेपाल प्रहरीको यो आँकडामा कतिपय साना घटना उल्लेख गरिएका छैनन्। सानातिना आगलागीका घटनामा भएका भौतिक नोक्सानीसमेत जोड्ने हो भने त्यो अझ बढी हुन सक्ने अनुमान छ। गत आइतबारमात्रै राजधानीको कुलेश्वरस्थित एक शृंगार सामग्री पसलबाट सुरु भएको आगलागी फैलिएर जोडिएका अन्य पसलमा समेत पुग्नाले करिब सवा ३ करोड रुपैयाँबराबरका धनमाल जलेको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रायः यस्ता घटना विद्युतीय सामग्रीको लापरबाहपूर्ण प्रयोगका कारण हुन पुगेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। बजारमा यतिखेर हजारौँ प्रकारका विद्युतीय उपकरण उपलब्ध छन्। तिनका कमजोर गुणस्तरका कारण प्रयोगमा सामान्य असावधानी हुन पुग्दा पनि आगलागी हुन सक्छ।

आगलागीलाई एक प्रकारको 'भवितव्य' मानिए पनि विद्युतीय सामग्री तथा ग्यास र अन्य आगोजन्य वस्तुको प्रयोगकर्ता सावधान हुन नसक्दा प्रायः घटना हुने गरेको देखिन्छ। त्यसमाथि विद्युतीय उपकरण तथा कमसल सिलिन्डर र प्रयोगकर्ताको चेतना अभावले आगलागीका घटना वृद्धि भएका छन्। मोबाइलका ब्याट्री चार्ज गर्दासमेत आगलागी भएको समाचार आउने गरेका छन्। बढी मात्रामा जाडो याममा आगलागी हुनुका पछिल्तिर कोठा न्यानो पार्नका लागि प्रयोग गरिने विभिन्नखाले हिटर पनि कारक रहेका पाइन्छन्। हिटर खुला राखेर लामो समय छाड्नु, खानेकुरा पकाउने, पानी तताउने ग्यास तथा विद्युतीय उपकरणको गलत प्रयोगका कारण पनि आगलागी हुने गरेको देखिन्छ। त्यतिमात्र होइन इन्भर्टर, चार्जर पड्केर तथा मैनवत्ती, अगरवत्ती(धूप)बाट समेत आगलागी भएको प्रहरीको भनाइ छ। यसले आगलागी हुनुमा सबैभन्दा बढी दोष प्रयोगकर्ताको असावधानी रहेको प्रष्ट हुन्छ। कसैले पनि जानाजान आगलागी गराउँदैन, असावधानी वा चेतना अभावका कारण यो घटना हुन्छ। तर, घटना भइसकेको अवस्थामा कसरी कमभन्दा कम क्षति हुने अवस्था बनाउने वा मानवीय क्षति हुन नदिने भन्ने सवालमा सरकारको तयारी झनै कमजोर रहेको देखिन्छ।

सरकारी आँकडाले उपत्यकाको जनसंख्या ४० लाख देखाए पनि ५० लाख जनता काठमाडौँ, भक्तपुर र ललितपुरमा बसोबास गर्छन्। यति जनसंख्याका लागि यी तीनै जिल्ला गरेर केवल आठ वटा दमकल उपलब्ध छन्। ती दमकल पनि कम क्षमताका र अधिकांश थोत्रा भइसकेका छन्। आगो नियन्त्रणमा खटिने दक्ष जनशक्तिको संख्या हेर्दा त झनै विडम्बनापूर्ण अवस्था छ। उपत्यकाका आठ दमकलका निम्ति ५० जनामात्रै दक्ष आगो नियन्त्रक छन्। राजधानीका यी तीनै जिल्लामा व्यवस्थित बसोबास छैन। कतिपय पुराना वस्तीमा साँघुरा गल्ली हुनाले आगलागीका समयमा चाहेरै पनि दमकल घटनास्थलसम्म पुग्न सक्दैन। अव्यवस्थित ढंगमा जोडिएर घर बनेकाले एक ठाउँमा लागेको आगो तत्कालै अन्यत्र फैलने गरेको छ। कैयौँ वस्तीमा आगलागीका समयमा छरछिमेकले पानी छ्यापेर निभाउनुपर्ने बाध्यता छ। जुद्धशमशेर राणाले स्थापना गरेको नेपालको दमकल सेवा अहिले पनि राणकालीन समयको भन्दा खासै आधुनिक हुन नसकेको गुनासो निकै अघिदेखि हुँदै आएको छ। यो तथ्यलाई सुन्ने काम सरकारले गर्न सकेको छैन। आगलागी हुन नदिन जसरी जनतामा चेतना अभिवृद्धि गर्नु जरुरी छ उसैगरी यसबाट कम क्षतिका पुगोस् भनेर सरकारी अग्रसरता र व्यवस्था पनि उत्तिकै आवश्यक छ। आगो नियन्त्रणका निम्ति आधुनिक तथा बढी क्षमताका दमकल, दक्ष जनशक्तिको व्यवस्थापन गरिनुपर्छ। त्यसैगरी व्यवस्थित वस्ती विकासले पनि आगो फैलन नदिई कम क्षति गराउन मद्दत पुर्‍याउँछ। अहिलेकै अवस्थामा सरकारले आगो नियन्त्रणका लागि दुवै प्रहरी(सशस्त्र तथा जनपद)का साथै नेपाली सेनालाई पनि प्रयोग गर्न सक्छ।

प्रकाशित: २० माघ २०७३ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App