coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

झापाको जितमा मार्टिन नायक

झापा- पाहुना टोली सुदूर पश्चिमलाई ४–० को फराकिलो गोल अन्तरले स्तव्ध पार्दै आयोजक झापा ११ रमपम झापा गोल्डकपको सेमिफाइनलान प्रवेश गरेको छ। बुधबार डोमालाल रंगशालामा खचाखच घरेलु दर्शकको साथ पाएको झापाले विपक्षीलाई कुनै पनि बेला खेलमा हावी हुन नदिई सहज जीत हात पार्‍यो।

लामो समयसम्म लय गुमाएपछि काँकडभिट्टा गोल्डकपको उपाधि जित्दै  आत्मविश्वास बटुलेको झापाले प्रतियोगिताको दुवै खेलमा विपक्षीविरुद्ध गोलको वर्षा गरेको थियो। अन्तिम चारको यात्रा पक्का गर्न सुदूर पश्चिमको चुनौती पनि टोलीले ठूलै अन्तरमा पार लगायो। यसका लागि टोलीका नयाँ विदेशी खेलाडी मार्टिन नायक सावित भए। आफैले दुई गोल गर्नुका साथै मार्टिनले अर्को गोलको लागि पनि अवसर सिर्जना गरेका थिए।

सुरुमा दुवै टोली आक्रमणको प्रयासमा लाग्दा खेल प्रतिस्पर्धात्मक देखिएको थियो। तर ३० औं मिनेटमा सुदूर पश्चिमका खेलाडीले आत्मघाती गोलको उपहार दिएपछि भने आयोजक खेलमा पूर्णतः हावी रह्यो। झापा ११ का मार्टिनको प्रहार सुदूर पश्चिमका राकेश हमालले गोललाइनबाट बचाउ गर्ने क्रममा आत्मघाती गोलमा परिणत भयो। 'आत्मघाती गोलले हाम्रो पूरै लय विगार्‍यो,' सुदूर पश्चिमका प्रशिक्षक ललित चन्दले भने, ' त्यो गोल नभएसम्म खेल बराबरीको अवस्थामा थियो। दुवै टोलीको सम्भावना पनि बराबर नै थियो। तर त्यो गोलले हामीलाई पूरै निराश बनायो र पुनरागमन जनाउन पनि सकेनौं।'

मध्यान्तरसम्म त्यही एक गोलको अग्रतामा चित्त बुझाएको झापाले दोस्रो हाफमा थप ३ गोल गर्‍यो। दोस्रो हाफको शुरुमै बुद्ध चेम्जोङको गोलमा झापाले अग्रता दोब्बर बनायो। ४६ औँ मिनेटमा बुद्धको कडा प्रहार विपक्षी गोलकिपर टेकेन्द्र थापालाई कुनै मौका नदिई गोलमा परिणत भएको थियो।

टोलीका लागि बाँकी दुई गोल मार्टिनले गरे। विपक्षी गोलकिपर टेकेन्द्रलाई छलाउँदै ४८ औं मिनेटमा पहिलो व्यक्तिगत गोल गरेका मार्टिनले समय सकिन दुर्य मिनेट बाँकी रहँदा अर्को गोल ठोकेका थिए। दिलेन लोक्तामको पासमा पेनाल्टी बक्सभित्र कसैको निगरानीमा नरहेका मार्टिनले गोल गर्दै विजयअन्तर थप फराकिलो पारे।

खेलको शुरुमै सुदूर पश्चिमले गोलको राम्रो मौका चुकायो।  चौथो मिनेटमा सुदूर पश्चिमका विक्रम सिंहको प्रहार पोस्ट नजिकबाट बाहिरियो। नवौं मिनेटमा झापाका पिटरको पासमा बुद्धको प्रहार पोस्टमा ठोक्किएर फर्कियो। दोस्रो हाफको ६५ औं मिनेटमा झापाका बुद्धको कडा प्रहारले पनि पोस्टको दिशा लिन सकेन। त्यस्तै सुदूर पश्चिमका धनु थापाले ६७ औं मिनेटमा प्रहार गरेको फ्रि–किक पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो। खेलको अन्त्यतिर सुदूर पश्चिमले गोल गर्ने थप केही अवसर खेर फालेको थियो।

यसअघि झापा–११ र सुदूर पश्चिमको पछिल्लो भेट राष्ट्रिय लिग फुटबल प्रतियोगितामा भएको थियो। डोमालाल राजवंशी रंशालामा भएको खेलमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए। त्यसअघि सुदूर पश्चिमकै मैदानमा भएको खेलमा झापाले सुदूर पश्चिमलाई ३–१ ले पराजित गरेको थियो।

झापा–११ का लागि दुई गोल गरेका मार्टिन बुधबार म्यान अफ दी म्याच घोषित भए। उनलाई नगद ७ हजार रुपैयाँ प्रदान गरिएको थियो।

झापाका प्रशिक्षक सञ्जय राईले विपक्षी टिमको मिडफिल्ड कमजोर भएकाले सहज जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए। उनले सेमिफाइनलमा फरक रणनीति अख्तियार गरेर भए पनि जीत हासिल गर्न आफ्नो क्लब सफल हुने बताए।

प्रतियोगितामा बिहीबार लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र न्यूरोड टिम (एनआरटी) बीच खेल हुनेछ।

अभियान शुरु

झापा गोल्डकप आयोजक समितिले गोल्डकपको दीगो विकासका लागि अभियान सुरु गरेको छ। समितिले गोल्डकपको संस्थापक सदस्यता प्रदान गर्न सुरु गरेको हो। अहिलेसम्म सय भन्दा बढि संस्थापक सदस्य बनिसकेको गोल्डकप मूल आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए।

गोल्डकपको संस्थापक सदस्य संख्या दुई सयभन्दा माथि पुग्ने गिरीले बताए। संस्थापक सदस्यता शुल्क न्यूनतम् २१ हजार रुपैयाँ तोकिएको छ। वर्षेनि चन्दा मागेर गोल्डकप गर्दा प्रतियोगिताको विकास दीगो रुपमा हुन नसक्ने निष्कर्षसहित समितिले अवको वर्षबाट गोल्डकप गर्न चन्दा उठाउनु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्य लिएको छ।   

प्रकाशित: २० माघ २०७३ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App