coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पटासीभरि भगवानै भगवान्

काठमाडौं- विवाह साइत धेरै पर्ने महिनाको रुपमा लिइन्छ, माघलाई। अझ श्रीपञ्चमीका दिन साइत नै हेर्नुपर्दैन। यसपालि श्रीपञ्चमीका दिन पनि धेरैले लगनगाँठो कसे। नेवारी संस्कृतिअनुसार कन्याको बेलविवाहपनि श्रीपञ्चमीको दिन उत्तम मानिन्छ।

नेवारी परम्परामा कन्याको महिनावारी हुनुअघि बेलविवाह हुन्छ। बेलको रुखलाई भगवान नारायणको रुप मानी कन्यादान गरिदिने परम्परालाई नेवारी भाषामा इहीभनिने संस्कृतिविद् ओम धौभडेल बताउँछन्।

बेलविवाह अर्थात् इहीमा कन्यालाई विभिन्न विशेषता भएका पहिरन लगाइदिने चलन छ। त्यसमध्ये पतासी (फरिया) विशेष प्रकारको हुन्छ,जसलाई इहीपतासी भनिन्छ। स्वरुप र रङमा मात्र नभईसांस्कृतिक दृष्टिकोणले समेतइहीपतासीको छुट्टै परम्परा रहेको भक्तपुर च्यामासिंहका स्थानीय बुद्धिसागर प्रजापति बताउँछन्। 'रातो धागोको तानमा पहेँलो, रातो, कालो, सेता रङको लहर मिलाएर बुन्नुपर्छ,' उनले भने, 'शरीरको विभिन्न भागमा पर्ने गरी अष्टमात्रिकाका चित्र अंकित गरी इहीपतासी बनाइन्छ।'

इहीपतासी बुन्ने नियम

कपडा बुन्ने परम्परागत तानमा नेवारी महिलाले इहीपतासी बुन्छन्। धागाका रङको लहरमा गल्ती हुन गएमा अशुभ हुने विश्वास गरिन्छ। इहीपतासी बुन्दै आएकी भक्तपुरकी च्यामासिहंकी महालक्ष्मी प्रजापति भन्छिन्, 'एउटा धागो पनि तल–माथि हुनु हुँदैन। पतासीभरि भगवान् नै भगवान् हुन्छन्। गल्ती भए अशुभ हुन्छ।'

यो बुन्दा खाना समेत खान नहुने प्रचलन रहेको महालक्ष्मीले बताइन्। 'इहीपतासी बुन्ने बेला फलफूल र दूधबाहेक केही खान हुँदैन,' उनले भनिन्, 'त्यसैले यो बिहान खाना खानुअघि मात्र बुनिन्छ।'

इहीपतासी बुन्ने महिलाले चोखो रहनुपर्ने धार्मिक मान्यता रहेको संस्कृतिविद् धौभडेल बताउँछन्। 'देवतालाई चढाउने लुगाफाटा केही नखाई बनाउनुपर्ने धार्मिक मान्यता छ,' उनी भन्छन्, 'पूजाआजाका बेला खाएदेखि जुठो हुने नेपाली परम्परा छ। तलेजु भवानीलाई पनि पतासी लगायत लत्ताकपडा चढाउनुपर्छ, त्यो पनि नखाईकन बनाउनुपर्ने परम्परा छ।' 

दुई घुँडा र गोडाको दायाँबायाँ पर्ने गरी अष्टमात्रिकामध्येको तीन चिह्न बनाइने उनले बताए। 'पतासीको दुईछेउ पाँच लहर धागोलाई पनि अष्टमात्रिकाको रुपमा बुनिन्छ,' उनले भने।

ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरीका प्रतीक पतासीको विभिन्न भागमा बनाइने प्रचलन छ।

संस्कृतिविद् धौभडेल नेवारी कन्याले जीवनमा एकचोटि मात्र लगाउने भएकाले विभिन्न मांगलिक चिह्न बनाइएको बताउँछन्। 'नेपाली हिन्दू परम्पराअनुसार एक सधुवा नारीसित हुनुपर्ने सबै रङका धागा प्रयोग गरिन्छ,' उनले भने।इही पतासीमा प्रयोग हुने पञ्चरङी र नौरङी धागाले कन्याको सौभाग्य दर्शाउने उनले बताए।

इहीमा कन्याले लगाउने पतासीको सात या नौ हात लम्बाइर डेढ हात जति चौडाइहुन्छ। बुद्धिसागरका अनुसार जोर अंकको लम्बाइ बनाउन नहुने धार्मिक विश्वास रहेको छ।

पतासीको महत्व

पतासीदिने चलनलाईपरम्परागत रुपमा दिइने यौन शिक्षाको रुपमा समेत लिन सकिने जानकार बताउँछन्। 'इहीपछि गुफा राखिन्छ। त्यतिबेला कन्यालाई तिमी ठूली/तरुनी भयौ भन्ने बताइन्छ,' स्थानीय बुद्धिसागर भन्छन्, 'यसले कन्यालाई शारीरिक रुपमा बालिका नरहेको भान गराउँदो रहेछ।'

नेवारी महिलाले लगाउने हाकु पतासीमा कालोसहित धेरै हुन्छ भने कन्याले लगाउने इहीपतासीमा रातो लगायत विभिन्न रङ प्रयोग हुन्छ। यसलाई कन्यालेबेलविवाहको अवधिभरि मात्र लगाउँछन्।

इहीका बेलाकन्यालाई 'कुमाका' पनि अनिवार्य रुपमा लगाउनुपर्ने बुद्धिसागर बताउँछन्। कन्याको उचाइ बराबर ३२ फन्को बेरेर बनाइने पहेंलो धागोको मालालाई कुमाका भनिन्छ। चाकु, सुपारी, माछा, सूर्यमूखी फल, मिकुसी नामक काठको टुक्रा, धान माडेर निकालिएका चामल, पैसालगायत सामग्री जेला लाप्ते (एक प्रकारको पात) मा पोको पारेर पहेंलो धागामा गाँठो पारी बनाइएको माला कन्यालाई लगाइदिने चलन रहेको महालक्ष्मीले बताइन्।

इहीमा चित्रकारले कागजमा चित्र लेखेको सापाख्वकन्याको निधारमा लगाइन्छ। त्यस्तै,चोलो, चाँदीको चुल्ठो, शिरबन्दी, पाँच सिक्री, विभिन्न माला लगाइन्छ। इहीको दिन विवाहको प्रक्रिया नसकेसम्म कन्याले व्रत बस्ने चलन  छ। 'कन्याको बुवाका हातमा सुनको टुक्रा राखी त्यसमाथि कन्याको हात राखिन्छ,' बुद्धिसागर भन्छन्, 'अनि, कन्याको हातमा बेलबेल राखी जल चढाएर इहीसम्पन्न गरिन्छ।'

प्रकाशित: २० माघ २०७३ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App