coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भिआइपी सवारीले सास्ती

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी बुुधबार बिहान ११ः३० मा वसन्तश्रवणका लागि हनुमानढोका दरबार परिसरमा पुगिन्। शीतलनिवासदेखि न्युरोडसम्म सडक ११ बजेबाटै खाली गरियो। योबीचमा शीतलनिवास, पानीपोखरी, लाम्जिपाट, लैनचौर, जमल, न्युरोड, हनुमानढोका क्षेत्रमा निजी तथा सार्वजनिक सवारीसाधन चल्न पाएनन्। यसको प्रभाव भने उपत्यकाभरि पर्‍यो। ११ देखि १ बजेसम्मै सर्वसाधारणले जामको सास्ती सहनुपर्‍यो।

'रत्नपार्कदेखि बूढानीलकण्ठ आउनै साढे दुई घन्टा लाग्यो,' माइक्रोबस चालक वासु सापकोटाले भने, 'भिआइपी सवारीसाधनको जामले बेलाबेला हैरान पार्छ।'

रत्नपार्क–बुढानिलकण्ठ रुटमा माइक्रोबस चलाउने उनले थपे, 'दैनिक आठ टिप गर्न सकिन्थ्यो, आजको जामले ६ मात्रै भयो।'

बुधबारको भिआइपी सवारीमा राष्ट्रपति भण्डारी मात्रै थिइनन्। उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिलगायत उच्चपदस्थ वसन्तश्रवणका लागि हनुमानढोका परिसर पुगे र फर्के। यसले उपत्यकामा झन्डै दुई घन्टा ट्राफिक जाम भयो।

लाम्जिपाटका स्थानीय रितेश शाक्य भन्छन्, 'पहिले राजाको सवारी हुँदा सडक ठप्प पार्थे। अहिले जनताका छोराछोरी राष्ट्रप्रमुख बन्दा पनि उस्तै पारा छ। आज म विशेष कामले जानुपर्ने थियो, जामले कामै बनेन।'

पछिल्लो समय भिआइपी सवारीका नाममा दिइने सास्तीविरुद्ध सर्वसाधारणले सामाजिक सञ्जालमा आवाज उठाउन थालेका छन्।

गत असोज ३ गते उपराष्ट्रपति नन्दबहादुर पुन दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा सम्पन्न असंलग्न राष्ट्रको १७औं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केका बेला पनि राजधानीमा जाम भयो। पुनका छोरा दीपेशले यसको विरोध गरे। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, 'उपराष्ट्रपतिको छोरो आफूलाई त जामले यति धेरै रिस उठ्यो भने सर्वसाधारणलाई कति रिस उठ्यो होला।' दीपेशले सुरक्षा वा अरु जुनसुकै कारण सडक खाली गराएर सर्वसाधारणलाई हैरानी दिन नहुने तर्क गरेका थिए।

ट्राफिक प्रहरी भने विशिष्ट व्यक्तिको राजकीय तथा औपचारिक सवारीका बेला सडक खाली गर्नुपर्ने नियम रहेको बताउँछन्। महानगरीय ट्राफिक प्रहरी प्रभाग कमलपोखरीका  प्रहरी निरीक्षक दुर्गाबहादुर मेघासीले भन्छन्, 'सुरक्षा समितिको निर्णयअनुसार नै सडक खाली गरिन्छ। भिआइपीको सवारी हुँदा सुरक्षा संवेदनशीलता अपनाउनुपर्ने भएकाले बाटो खाली गर्नुपर्ने हुन्छ।'

उनले भिआइपी सवारीका बेला सकेसम्म जाम कम गर्नेमा ध्यान दिएको पनि बताए।

प्रकाशित: २० माघ २०७३ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App