coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मसाल महामन्त्री सिंह पाँच दिनदेखि ग्रान्डीमा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलनका नेता मोहनविक्रम सिंह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। नेकपा मसालका महामन्त्री सिंहको पाँच दिनदेखि राजधानीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। ८२ वर्षीय सिंहलाई १२ दिनदेखि ज्वरो आएको छ। उनलाई सामान्य औषधि चलाइएको पत्नी दुर्गा पौडेलले जानकारी दिइन्। उनले भनिन्, 'केही दिनदेखि ज्वरो देखिएको थियो। सुधार नभएपछि जाँच गर्दा फोक्सोमा पानी जमेको देखियो। त्यसपछि गंगालाल राष्ट्रिय हृदय केन्द्र पुर्‍यायौं। त्यहाँबाट डाक्टरको सल्लाहमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोलोजी लग्यौं। त्यहाँबाट पनि डाक्टरको सुझाव अनुसार ग्रान्डी अस्पतालमा ल्याएर उपचार भइरहेको छ।'

२० वर्षदेखि मधुमेहका बिरामी सिंह मुटु, फोक्सो र किड्नीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन्। डा. विवेक शर्माको नेतृत्वमा पाँचजना उनको उपचारमा खटिएको जानकारी पौडेलले दिइन्। सिंहको स्वास्थ्यमा सुधार भइरहेको पनि उनले बताइन्।

सिंहलाई भेटन प्रधानमन्त्री पुष्पकमल दाहाल, मोहन वैद्य, नारायणकाजी श्रेष्ठ, दिनानाथ शर्मा, जनार्दन शर्मा, रेखा शर्मा, अग्नि सापकोटा, कृष्णबहादुर महरा, लिलामणि पोखरेल, माधव नेपाल, वामदेव गौतम, चित्रबहादुर केसी, ईश्वर पोखरेल, केशव बडाल, बाबुराम भट्टाराई, नेत्रविक्रम चन्द, रामचन्द्र पौडेल, राधा ज्ञवालीलगायत नेता अस्पताल पुगिसकेका छन्।

प्रधानमन्त्री दाहालले सिंहलाई भेटी उपचार खर्च सरकारले बेहोर्ने बताएका थिए। तर, सिंहले खर्च पार्टीबाटै व्यवस्थापन भएकाले सरकारबाट सहयोग नलिने बताएका थिए।

२००७ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका सिंह अर्धभूमिगत छन्। अहिलेसम्म राज्यको कुनै पदमा नपुगेका सिंह निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय छन्। उनले २०१० सालमा प्युठानमा जनता शिविर सञ्चालन गरी किसान आन्दोलनमार्फत 'भकारी फोर' अभियान चलाएका थिए। उनले त्यसबेला 'सामन्त' को भकारी फोरेर गरिबलाई अन्न बाँडेका थिए। सिंहले कम्युनिष्ट आन्दोलनका विषयमा विभिन्न पुस्तक प्रकाशन गरेका छन्।

प्रकाशित: २० माघ २०७३ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App