८ वैशाख २०८१ शनिबार
समाज

भोटेकोसी अचानक उर्लँदा

जम्बु (सिन्धुपाल्चोक)- नेपाल–चीन सीमा तिब्बती क्षेत्रमा भीषण वर्षासँगै भोटेकोसीमा '३५ वर्षयताकै ठूलो बाढी आउँदा' सिन्धुपाल्चोक नदीको तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुगेको छ। सम्भावित क्षतिको समयमै आँकलन, सूचना र सचेतताले मानवीय क्षति हुन नपाए पनि सीमा क्षेत्रका बस्ती र सडक क्षतविक्षत छन्।

सीमा नाका तातोपानीका २१ घर नदीले बगाएको छ। भूकम्पले थिल्थिलो जमिन र अरनिको राजमार्ग भोटेकोसीले काटेर क्षतविक्षत बनाएपछि परम्परागत नाकाको अस्तित्व नै हराउने खतरा देखिएको छ।

तातोपानीमा बर्खा नभए पनि मंगलबार राति अकस्मात आएको बाढीले तल्लो तटीय झन्डै ३० किलोमिटर क्षेत्रमा व्यापक क्षति भएको हो। जलविद्युत आयोजना, झोलुंगे पुल, स्कुल, तातोपानी धारा संरचना, चार उद्योग कारखाना र सवारीसाधन बगाएको छ। तातोपानीदेखि बाह्रबिसेसम्मको २६ किमी क्षेत्रका पक्की पुल, स्थानीय बजार र राजमार्ग उच्च जोखिममा छन्।

भोटेकोसी कटानले पुरानो व्यापारिक केन्द्र बाह्रबिसे नै खतरामा छ। भूकम्पपछि तग्रिँदै गएको तातोपानी पुनः मानवविहीन भएको छ।

प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले तिब्बतबाट आएको बाढीपहिरोले ठूलो भौतिक क्षति पुर्‍याएको छ। 'तातोपानीमा सडक र सञ्चार सम्पर्कविच्छेद छ,' उनले नागरिकसँग भने, 'क्षति अझै बढ्न सक्छ।'

उनका अनुसार भोटेकोसीले लिपिङको बसपार्क नै बगाउँदा १५ वटा घर नदीमा विलय भए। लिपिङ, कोदारी, तातोपानी र १० किलोका अन्य घर पनि बगेका छन्। '१० किलोदेखि लिपिङसम्म भोटेकोसी किनारका घर तीव्र कटानमा परिरहेका छन्,' उनले भने, 'लिपिङ बजार त झन्डै–झन्डै उखेलिएको छ।'

सीमा प्रहरी कार्यालय, तातापानीका इन्स्पेक्टर खुमलाल भुसालले नदी राति नौ बजे अकस्मात उर्लिएको बताए। 'ठूलो आवाजसहित भोटेकोसी उर्लेर सडकसम्मै आउन खोज्यो,' उनले भने। उनका अनुसार ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजनाको बाँध पुरिएको छ। अहिले त्यहाँबाट कोसी बहिरहेको छ।

आयोजनाको झिर्पुस्थित उत्पादनगृह पनि पुरिएर क्षतविक्षत छ। निर्माणाधीन १ सय २ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनाको क्याम्पलगायत संरचना क्षतिग्रस्त छ। चर्चित तातोपानी धाराको भोटेकोसीछेउका संरचना पनि बगाएको छ। 'बास्ट टप' लगायत संरचना बगाएर नदीले धारा कटान गरिरहेको छ।

प्रहरीका अनुसार तातोपानीस्थित भोटेकोसीमाथिको झोलुंगे पुल पनि बगेको छ। त्यहाँकै मानसरोवर बोर्डिङ स्कुल भवन जगैसहित उखेलिएको छ। १० किलोस्थित छेउतिरका घर संरचनाबाट भोटेकोसी बहिरहेको छ।

'त्यहाँ सीमा प्रहरी कार्यालय डुबानमा छ,' इन्स्पेक्टर भुसालले भने। अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्ड ठाउँ–ठाउँमा हराएको (टुटेको) छ। जम्बु र बोडरल्यान्डमा सडक कटान गर्दै भोटेकोसीले भिरकटान गरिरहेको छ। यो खण्डको दायाँ–ठाउँमा साना–ठूला धेरै पहिरो निम्तिएका छन्।

'कोदारीमा ५० मिटर सडक हराएको छ,' लिपिङ पुगेर फर्केका इलाका प्रहरी कार्यालय, बाह्रबिसेका इन्स्पेक्टर राजु पाण्डेले भने, 'क्षतविक्षत बनाउँदा सडकमा ठूलो क्षति छ।' जुरे पहिरो क्षेत्र हुँदै सुनकोसी जलविद्युत केन्द्रको बाँधसम्म भोटेकोसी बाढीले क्षति गरेको छ। बाह्रबिसेमा नदी नियन्त्रण गर्न भोटेकोसी किनारको दायाँ–बायाँ लगाइएको तारजाली गाह्रो बगेको छ।

इन्स्पेक्टर पाण्डेले नदी बजार कटान गरिरहेकाले बाह्रबिसे नै जोखिममा परेको बताए। 'बाह्रबिसे पुलको एउटा पिलर (स्पाम) खोतलिँदै छ,' उनले भने।

बाह्रबिसे प्रहरीका अनुसार भोटेकोसी बारबार भएर बग्दा बाह्रबिसेमुनि रहेका कागज, प्लाइउड, तार कारखाना र सिमेन्टको ब्लग बनाउने उद्योग बगेका छन्। जुरे पहिरोपछि बनाइएको झन्डै ५० मिटर ट्र्याक कटान गर्दै राजमार्गतिर सोझिएको छ।

मर्मत थालिएको सुनकोसी जलविद्युत केन्द्रको बाँधमा ढुंगा थुप्रिएका छन्। जुरे पहिरोले थुपारेका ढुंगा पन्छाउने काम भइरहेका बेला फेरि उस्तै भरिएको हो।

नदी सतह बढेपछि रातभर स्थानीयको भागदौड मच्चिएको थियो। तातोपानी र बाह्रबिसेमा प्रहरीले माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको थियो। तातोपानीमा इन्स्पेक्टर भुसाल र बाह्रबिसेमा इन्स्पेक्टर पाण्डे नेतृत्वको टोली उनीहरुलाई सुरक्षित स्थानमा ओसार्न खटिएको थियो। बुधबार बिहानसम्म भागदौड रोकिएको थिएन। बाह्रबिसे बजारमा दिउँसो केही चहलपहल देखिन्थ्यो। इन्स्पेक्टर भुसालका अनुसार तातोपानीका स्थानीय चौकीडाँडामा आश्रय लिएर बसेका छन्। नाकामा तैनाथ सुरक्षाकर्मी (नेपाल प्रहरी र सशस्त्र प्रहरी) पनि त्यही सेल्टर लिई बसेका छन्।

प्रजिअ दुवाडीले नदी सतह घटे पनि त्रास कम नभएको बताए। 'नदी सामान्य अवस्थामा आइसकेको छैन। बाढी स्थिर रहँदा कटान जारी छ,' उनले भने। दुवाडीका अनुसार बाढीका बेला नदी सतह झन्डै चार मिटर बढेको थियो। सामान्य अवस्थामा भन्दा नदी अझै एक मिटर अग्लो छ। खासास्थित चिनियाँ अधिकारीलाई उद्धृत गर्दै प्रजिअ दुवाडीले दिएको जानकारीअनुसार मितेरीपुलबाट झन्डै ५ सय मिटरमाथि तिब्बती क्षेत्रमा दायाँ–बायाँ पहिरो गएपछि भोटकोसीमा बाढी आएको हो।

'केही बेर भोटेकोसी थुनिएको हुनुपर्छ। यसबारे चिनियाँ अधिकारीले केही बताउन सकेका छैनन्,' उनले भने। नदीमा बाक्लो लेदो माटो बहेकाले नदी थुनिएको अनुमान लगाउन सकिने उनी बताउँछन्। निकै तलसम्म भोटेकोसीमा काँचो लेदो माटो गनाइरहेको छ। 'खाना खाने तयारी गर्दै थियौं। भुइँचालो गएकै आवाजमा कोसी उर्लिएर आयो। रातभर जंगलमा बितायौं,' सुरक्षित बासका लागि काठमाडौं जाँदै गर्दा जम्बुमा भेटिएकी तातोपानीकी मीनु थापाले भनिन्। उनले धेरै स्थानीय तातोपानी छाडेर राजधानी जान चाहेको बताइन्।

भूकम्पपछि तातोपानी लामो समय मानवविहीन थियो। स्थानीय भर्खर फर्कंदै थिए। स्थानीयको बसोबासै कम भएको र प्रहरीले समयमै सूचना दिएकाले मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले बताए।

सडक क्षतिग्रस्त भएकाले बाह्रबिसे मास्तिर यातायात साधन ठप्प छ। जुरेमा नयाँ ट्र्याक खोलेर बाह्रबिसेसम्म साँझबाट यातायात सञ्चालनमा ल्याइएको छ।

बाढीले तातोपानी भन्सार यार्डमा रहेका दुई कन्टेनर र बाह्रबिसेबाट अरू दुई सवारीसधान बगाएको छ। खासाको तिब्बत क्षेत्र पनि कटानले जोखिममा छ। मितेरी पुलवारि चिनियाँका अध्यागमन, भन्सार र सुरक्षाकर्मीको एकीकृत कार्यालय जग भोटेकोसीले उतारेको छ। त्यस क्षेत्रतर्फ पनि कटान निरन्तर छ।

स्थानीयका अनुसार ३५ वर्षपछि भोटेकोसीमा ठूलो बाढी आएको हो। यसअघि, २०३८ सालमा योभन्दा ठूलो बाढी आएको थियो। 'त्यतिबेला पुरानो बाह्रबिसेका ४० घर बगेका थिए। पुलपुलेसा बगाउँदा ठूलो क्षति पुगेको थियो,' त्यति बेलाको बाढी सम्झँदै राम्चे बाह्रविसेका ६० वर्षीय अर्जुन राउतले भने।

हिम नदी भोटेकोसीलाई तिब्बतको दुःखको रुपमा लिइँदै आएको छ। बेला–बेला बर्खायाममा भोटेकोसी बहुलाउँदा त्यसले तातोपानी तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याउँदै आएको छ। ५० को दशकमा पनि भोटेकोसी बाढीले ठूलो क्षति पुर्‍याएको थियो। त्यतिबेला लार्चा, जम्बु बजार र पुलपुलेसा बगाएको थियो।

जल तथा मौसम विज्ञान विज्ञान विभाग बाढी पूर्वानुमान शाखाका अनुसार मंगलबारको भोटेकोसी बाढी बिरलै हुने घटना हो। बाढीको समयमा भोटेकोसी सतह चार मिटर रहेको शाखाप्रमुख राजेन्द्र शर्माले बताए।

उनका अनुसार बुधबार भोटेकोसी सतह उचाइ २.६५ मिटर छ। बर्खामा ससामान्यतया भोटेकोसी सतह साढे एक मिटर हुन्थ्यो। शाखाले बाढीका बेला भेटेकोसीमा प्रतिसेकेन्ड ६ सय ३३ क्यूमेक पानी बहेको रेकर्ड गरेको छ। बुधबार साँझ पानी बहाव प्रतिसेकेन्ड २ सय ३० क्यूमेक छ।

'बर्खामा भोटेकोसी बहाब प्रतिसेकेन्ड १ सय ५० क्युमेक हो,' शर्मा भन्छन्, 'भोटेकोसी पानी सतह कहिलेकाहीँ मात्र ४ मिटर पुग्छ।'

गृहमन्त्रीद्वारा अवलोकन

गृहमन्त्री शक्ति बस्नेत, वनमन्त्री अग्नि सापकोटालगायत जिल्लाको सांसद टोलीले साँझ प्रभावित क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेका छन्। खराब मौसमका कारण तातोपानीमा ल्यान्ड हुन नसकेपछि उनीहरुले हेलिकप्टरबाट तातोपानी क्षेत्र नियालेका थिए।

बाह्रबिसेस्थित सैनिक ब्यारेकमा गृहमन्त्री बस्नेतले जिल्लाका अधिकारीसँग क्षतिको जानकारी लिए।

उनले प्रभावितलाई तत्काल सुरक्षित स्थानमा उद्दार गर्न र खानेबस्ने बन्दोबस्ती मिलाउन निर्देशन दिए। 'क्षतिग्रस्त सडक तत्काल मर्मत गरी राजमार्ग सञ्चालनमा ल्याउँछौं। बजेट परिचालनमा कन्जुस्याइँ गर्दैनौं,' उनले भने। यस क्षेत्रका सांसद मोहनबहादुर बस्नेत, अमृत बोहरा, रमेश लामालगायत नेता पनि अवलोकनमा मन्त्रीसँगै आएका थिए।

प्रकाशित: २३ असार २०७३ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App