coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मिलेमतोमा चुरे लुटः माफियासँग बिक्यो सरकार

जमदह ६ चोरपानेस्थित चुरेवनबाट ढुँगा उत्खन्न गरी गोलबजारतर्फ जाँदै ट्रयाक्टर। तस्विरः मिथिलेश यादव

दमदह(सिरहा)– सिरहाको उत्तरवर्ती दमदह–६ चोरपानेस्थित चुरेको भँगालोबाट एस्काभेटर प्रयोग गरी एक सातादेखि वन तथा खोलाजन्य पैदावार(ढुङ्गा, गिट्टी, बालुवा) उत्खन्न र ओसारपसार जारी छ। राष्ट्रिय गौरवको रुपमा रहेको चुरे वनभित्रबाट एस्काभेटर प्रयोग गरेर ढुङ्गा उत्खन्न गरी ट्रयाक्टरबाट निकासी तीव्र भए पनि नियन्त्रणकारी निकाय चुपचाप छ।

साताअघिदेखि यहाँ बिहानैबाट अबेर रातिसम्म ढुङ्गा उत्खनन र ओसार पसार भइरहेको भैरहेको स्थानीय बताएका छन्।

‘चुरेबाट ढुङ्गा निकासी गर्ने आँट त्यतिकै आउँदैन,’ चुरे फेदीको गाउँ चोरपानेका भोले लामाले नागरिकसँग भने, ‘कानुन कार्यानवय गर्ने अङ्गसँगकै मिलेमतोमा माफियाहरु बलिया भएका हुन्। हामीले सरकार भएको अनुभुती नै गर्न पाएका छैनौं। कानुनको अनुभुती तब हुन्छ, जब गैरकानुनी गर्नेमाथि अंकुश लगाइन्छ। कनुन निर्बलहरुका लागि मात्रै रहेछ। बलियाहरु कानुन कार्यानवय गर्ने अधिकारीको हात बाँधिदिँदो रहेछ।’

नागरिककर्मीलाई सचेत गराउँदै उनले भने, ‘दिनदहाडै चुरे खोस्रेर ढुङ्गा ओसार्ने मानिस मामुली होइनन्, सबै मिलेका छन् बाबु, तपाई टाउँको नदुखाउनुस्। प्रहरी–प्रसाशनलाई यसबारेमा थाहा छैन भन्ठान्नु हुन्छ भने भ्रममा हुनुहुन्छ । उनीहरुकै आँखा अगाडिबाट ढुङ्गा बोकेर ट्रयाक्टर ओहोरदोहार गर्दा पनि चुप बस्नुको अर्थ बुझ्नुस् न । जब सरकारकै अँग राष्ट्रिय सम्पदा जोगाउन चाहेको छैन भने हामी निर्बल जती कराए पनि के फरक पर्छ र !’

उनले माफियाका अगाडि राज्यसंयन्त्रको निरिहता दार्सउँदै भने, ‘सानाका लागि ऐन, ठूलाका लागि चैन भनेको यही हो।’

चुरेबाट ढुंगा बोकेर गोलबजारतर्फ आइरहेका स १ त ३५०७ नम्बर ट्रयाक्टरको चलकले आफू पाँच सय रुपैयाँ दैनिक ज्यालादारीमा खटिरहेको बताए।

‘यहाँबाट दैनिक दर्जनौं ट्रयाक्टरले चुरेको ढुंगा तथा गिट्टीबालुवा बेरोकटोक दक्षिणतर्फ निकासी गरिरहेका छन्,’ उनले भने, ‘यहाँबाट निकालिने ढुँगा गोलबजारमा स्टक(भण्डारण) भैहरको ती चालकले बताए। करिब १० किलोमिटरको यो दूरी आफूहरुलाई कसैले नरोको पनि उनले बताए।

चुरेबाट ढुङ्गा निकाल्न चुरेफेदीका चोरपानेबासीलाई राम्रो बाटो बनाइदिने प्रलोभन माफियाले बाँडेका छन्। दमदहको गाविस भवनदेखि चोरपानेसम्मको करिब १० किलोमिटर बाटो बिच बिचमा भत्केको छ । उक्त ग्राभेल सडक ढुङ्गा बोकेको ट्रयाक्टरको ओहोरदोहर बढेपछि झन भत्कँदै गएको स्थानीयहरु बताउँछन्। स्थानीय एक अगुवाले नाम नछाप्न आग्रह गर्दै भने, ‘चुरेको ढुङ्गा बेचेर हामी गाउँको बाटो बनाउन खोजेका हौं, मिडियामा नल्याई दिनुस्।’

राष्ट्रिय सम्पदा बेचेर बाटो बनाउने काम कानुनी नभएको स्वीकार्दै उनले भने,‘कानुनी नभएपनि हामीले यो काम गरिहाल्यौं ।’

चुरेभित्र प्रवेश गर्ने आँट त्यतीकै पलाएको भने होइन । प्रहरी र प्रसाशनको मौन समर्थनले माफियालाई चुरेभित्र छिर्न हौस्याएको बताउनेहरु प्रसस्त छन्।

निषधेधित क्षेत्र तोड्दै उत्खन्न

सरकारले निषेधित गरेको क्षेत्रमा खोलानदीबाट ठेकेदारले ढुङ्गा उत्खन्न र निकासीलाई तीव्र बनाएको छ। चन्द्रोदयपुर वडा नम्बर ६ र ७ लाई सरकारले चुरे संरक्षित क्षेत्र घोषणा गरी यस क्षेत्रबाट ढुङ्गालगायत नदीजन्य पदार्थको उत्खन्न र निकासीलाई प्रतिबन्ध गरेको छ। तर, सरकारी घोषणा कार्यानवय गर्ने निकास स्थानीय प्रसाशनको निस्क्रियताले संरक्षित क्षेत्रमा दोहनले व्यपकता पाइरहेको वन उपभोक्ता महासंघ सिरहाका अध्यक्ष दिलिप कुमार लामा बताउँछन्।

जिल्ला विकासले खोलानदी ठेक्का लगायो तर ठेकेदार खोलाभन्दा चुरे संरक्षित क्षेत्र ताकेर ढुङ्गा खोस्रने काम जारी राखेको लामाको भनाइ छ। ठेक्का लगाउनेले अनुगमन पनि गर्नुपर्दो रहेछ भने जिल्ला विकासले बिर्सेजस्तो छ लामा भन्छन्, ‘ठेक्केदार खोला छोडेर संरक्षित चुरेक्षेत्र पस्यो भन्दा पनि नियमनकारी निकाय कानमा तेल हालेर बसेका छन्।’

घुर्मीखोलामाथिको चुरे संरक्षित क्षेत्र, बिष्णपुरकट्टी अम्बासमाथिको खुट्टीमड्यान क्षेत्र, मक्सार गोला, बडहरामाल माथिको कमलालगायत संरक्षित चुरे क्षेत्रबाट व्यापक ढुङ्गा उत्खन्न र निकास भैरहेको जिल्ला वन कार्यालय लहानको तथ्याङ्क छ । जिल्ला वन अधिकृत शीलानाथ झा भन्छन्, ‘वन क्षेत्रबाट उत्खन्न गरिएको ढुङ्गालाई सडकमा बसेका ठेकेदारले कर रसिद काटिरहेको छ।’ हामीसँग भएको जनशक्ति प्रयोग गरेर नियन्त्रणको प्रयास गरेरहेका छौं,’ उनी भन्छन्, ‘जोगाउने भन्दा मास्नेको जमात बलियो छ ।’

‘ढुङ्गा बोकेको ट्रयाक्टर ओहोरदोहोर गरेको त देखिन्छ तर यो कानुनी हो कि गैरकानुनी थाहा भएन,’ सिरहा प्रहरी प्रमुख (एसपी) शेखर कोइराला भन्छन्, ‘हामीलाई सम्बन्धित निकायबाट रोक्न भनिएको छैन्।’
सिरहाका कायममुकाय प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ भन्छन्, ‘नदीजन्य पदार्थ कानून र सर्तविपरीत उत्खन्न तथा निकास भएको थाहा भएन।’ अहिलेसम्म अनुगमन गरेको छैन जिल्लास्थित ढुङ्गा, गिट्टीवालुवा व्यवस्थापन तथा अनुगमन समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘अनुगमन नै नभएपछि वास्तविक अवस्थाबारे कसरी थाहा पाउने?’    

स्थानीय विकास अधिकारी सुरेशकुमार राउतका अनुसार ठेकेदारले नियम मिच्यो भनेर गुनसो आए पनि अनुगमन तथा कारबाही नगरिएको बताए।

जिल्ला विकास राजस्व शाखाका प्रमुख महेन्द्र यादवका अनुसार जिल्लास्थिते नदीजन्य पदार्थ बिक्रीका लागि सिरहा चोहर्वास्थित ममता सःमिलले २ करोड ४० लाखमा ठेक्का सम्झौता गरेको बताए। ठेक्का सम्झौतामा उल्लेखित सर्तबमोजिम कार्य नगरेको भन्दै उजुरी परेको तर कारबाही नभएको उनले बताए।

‘जिल्ला विकास मात्र नभई जिल्ला प्रसाशनमा समेत उजुरी परेको हो,’ उनले भने। अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति छ उनले भने, ‘अहिलेसम्म अनुगमन भएको छैन।’

माफियासँग तैं चुप मै चुप

ठेकेदारले पाँच महिना (असोज) देखि गैरकानुनी रुपमा चुरे संरक्षितमा उत्खन्न गरिरहे पनि अनुगमन र कारबाही नहुनुुले मिलोमतो भएको प्रष्ट हुन्छ– वन उपभोतmा महासङ्घका अध्यक्ष लामाले भने, ‘चुरे संरक्षित क्षेत्रमा दोहन गर्दा नियमनकारी निकाय चुपचाप बसेपछि प्वाँख फैलाउँदै अहिले चुरेभित्रै दोहन सुरु गरिएको छ।’

चुरे जलाधार संरक्षण समितिका महासचिव देवकुमार मोक्तान भन्छन्, ‘सम्मनित अदालतको आदेशसमेत कार्यानवयन गराउन नसक्नु प्रसाशनको कस्तो निरिहता!’

प्रसाशन, प्रहरी, जिल्ला विकासले सरकारको निर्णय लत्याउँदै चुरे संरक्षित क्षेत्रको दोहन नियन्त्रण नगरेपछि उच्च अदालत, राजविराज इजलासमा चन्द्रोदयपुरका स्थानीयले रिट निवेदन गर्दा गराए।

रिट निवेदन उपर सुनवाई गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलासले असोज १३ गत्ते निषेधित क्षेत्रबाट ढुङ्गा, गिट्टी, वालुवा उत्खन्न र निकासी नगर्नु नराउनु भनी अन्तरिम आदेश गर्यो ।

न्यायाधीश हरिप्रसाद वाग्ले र माधवप्रसाद पोखरेलेको संयुक्त इजलासको आदेशपछि पनि निषेधित क्षेत्रबाट ढुङ्गा उत्खन्न र निकासी नरोकिएको स्थानीयहरु बताउँछन्। यसको प्रमाण जिल्ला वन कार्यालय लहानबाट खटिएको टोलीले यसबीचमा निषेधित क्षेत्रबाट ढुङ्गासहित पक्राउ गरी कारबाही चलाएको ट्रयाक्टर हो।

सहायक वन अधिकृत अमरेन्द्र यादवका अनुसार तीन दिनअघि मात्र खुट्टीमड्यानको निषेधित क्षेत्रबाट ढुङ्गा उत्खन्न गरेको स १ त ४९४१ नम्बरको ट्रयाक्टर पक्राउ गरी कारबाही चलाइएको छ।

 

प्रकाशित: १९ माघ २०७३ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App