८ वैशाख २०८१ शनिबार
समाज

३० वर्षपछि घर फर्कन चाहेका बैतडीका नरेन्द्रको अवस्था फेरि अज्ञात

बैतडी– घरबाट बेपत्ता भएर ३० वर्षपछि परिवारको सम्पर्कमा आएका बैतडी, हटैराज–२ का नरेन्द्रबहादुर चन्दको अवस्था अज्ञात रहेको छ। फोनमार्फत परिवारको सम्पर्कमा रहेका उनी गत पुस ११ गतेदेखि सम्पर्कमा छैनन्। पाकिस्तानी सुरक्षा निकायले बसोबास गर्दै आएको पाकिस्तानको बलुचिस्तानबाटै पक्राउ गरेको भन्ने जानकारी पाएपछि सम्पर्क हुन नसकेको उनका आफन्तले बताए।

पाकिस्तान–अफगानिस्तानको युद्धरत क्षेत्र बलुचिस्तानको चमनमा आफू रहेको र जेजसरी भए पनि घर फर्कन चाहेको भन्दै चन्दले तीन महिनाअघि फेसबुक आइडी खोलेर जानकारी गराएपछि उनीबारे सोधीखोजी सुरु भएको थियो।

चन्दले घर फर्कने इच्छा जनाएपछि उनका दाई रणबहादुर चन्दले परराष्ट्र मन्त्रालयमार्फत नाता प्रमाणितलगायत कागजात पठाए पनि उनको उद्धार हुन सकेको छैन। पछिल्लो समय उनको मोबाइलमा सम्पर्क पनि हुन नसकेको उनका भतिजा ललित चन्दले बताए।

‘के कस्तो अवस्थामा छन् केही जानकारी पाउन सकेका छैनौं,’ उनले भने। लामो समय बेपत्ता बनेका चन्द घर फर्कन खोजी रहेको अवस्थामा सम्पर्कमा नआउँदा उनका आफन्त चिन्तामा छन्।

घरबाट भागेर भारतको पिथौरागढ, झुलाघाटमा होटलमा भाँडा माझ्ने काम गरिरहेका बेला एक पाकिस्तानी मुलका व्यापारीले आफूलाई फकाएर लगेको र बागा बोर्डर हुँदै ३० वर्षअघि लाहोर कराँची पुगेको नरेन्द्रले बताएका थिए।

पाकिस्तानको क्वेटामा छँदा अफगानी मूलकी एक शरणार्थी युवतीसँग बिवाह गरेर हाल दुई छोराछोरीका बाबु बनिसकेका नरेन्द्रले पाकिस्तानी मालिककै दवावमा आफूले नाम र धर्म फेरेर ‘महमद अयुब खान’ बनेको बयान सुनाएका थिए।

घरबाट भागेर गएका चन्द पछिल्लो समय सम्पर्कविहीन भएपछि बैतडीस्थित परिवारका सदस्य चिन्तामा छन्। सबै कागजात पठाएर राजदूताबासमार्फत पहल भइरहेको बताए पनि कुनै जानकारी नआउँदा चिन्तित बनेको उनका दाई रणबहादुरले बताए। मन्त्रालयमा फोन गर्दा पहल भइरहेको छ भन्ने खबर आए पनि खासै पहल हुन नसकेको उनको दुखेसो छ।

परिवारको सम्पर्कमा आउँदा नरेन्द्रले घर परिवारले खोजतलास गर्ने आशा गरेको बताएका थिए। आफ्नो परिवारका दुई दाजु गजबहादुर र रणबहादुर त्यसबेलै नेपाली सेनाका जागिरे रहेकाले पनि आफ्नो खोजवीन हुन सक्ने आश नरेन्द्रले गरेका रहेछन्। तर, वर्षौं बितिसक्दा पनि आफन्तको कुनै अत्तोपत्तो लाग्न नसक्दा र त्यत्तिका वर्ष कोही नेपालीसँग भेट हुन नसक्दा जीवन यत्तिकै बित्ने उनले ठानेका थिए। कुनै एक दिन घर फर्कने सोचाइ बनाएर बसिरहे पनि सबैतिरबाट हार खाएपछि नरेन्द्रले इस्लाम धर्म कबुल गर्दै चमन क्षेत्रमै बस्ने अफगानी शरणार्थी परिवारकी छोरी बिहा गरेका थिए।

उनकी श्रीमती मरियामसहित छोरो इरफान १२ वर्ष र छोरी सवानिसा १० वर्षका चमनस्थित ससुराको भाडा घरमा बसिरहेको बताएका थिए।

गाँउघरको माया र सामान्य मजदूरी गरेर रोजीरोटी गुजारा गरिरहेका नरेन्द्रले युद्धरत भूमिमा आइपुगेको र आफू शरणार्थी सरह भएकै कारण कुनै पनि बेला कडा कानुनी कारवाहीमा पर्न सक्ने जानकारी पाएपछि घर फर्कन चाहेको बताउँदै आएको उनका आफन्तले बताए।
 

 

 

प्रकाशित: १९ माघ २०७३ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App