coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टेकोले थामिएको ऐतिहासिक दरबार

रामहरि गजुरेल

नुवाकोट-मुलुकका ऐतिहासिक सम्पदामध्ये  नुवाकोटको साततले दरबार संग्रहालय टेकोको भरमा अडेको छ। नेपाल एकीकरण समयमा पृथ्वीनारायण शाहले निर्माण गरेको उक्त दरबार डेढ वर्षअघिको विनासकारी भूकम्पले क्षतिग्रस्त भएपछि  पुनर्निर्माण हुननसक्दा सामान्य टेको लगाएर थामिएको छ। यो दरबार अहिले पुनर्निर्माण पर्खाइमा छ।  

नेपाल एकीकरणको मुहान मानिने नुवाकोट आफैंमा पनि थुप्रै ऐतिहासिक धरोहर र सम्पदाको थलो हो । नेपालको जीवित इतिहासको रुपमा  साततले दरबारलाई पनि लिइन्छ । तर, भूकम्पले क्षतविक्षत भएको २० महिना बितिसक्दा पनि दरबार पुनर्निर्माणको काम अघि बढेको छैन । पुनर्निर्माणमा चिनियाँ सरकारले १५ महिनाअघि नै आफ्नो इच्छा देखाइसकेको भए पनि काम अघि बढ्न सकेको छैन । ‘चीनले बनाइदिने घोषणा त ग¥यो तर यतिका समय बितिसक्यो कुनै सुरसार छैन,’ नुवाकोट दरबार क्षेत्र संरक्षण समितिका संयोजक पुष्कर शर्मा रिमालले भने, ‘पुरातत्व विभागले समेत कुनै ताकेता नगर्दा दरबारको पुनर्निर्माण अनिश्चित बनेको छ ।’ 

दरबार धराप अवस्थामा छ । कुनबेला गल्र्यामगुर्लुम ढल्ने हो भन्ने त्रासले पर्यटक नजिक जान डराउँछन्। भूकम्पअघि यो दरबार हेर्न दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकोमा अहिले त्यो संख्यमा निकै कमी आएको छ । दरबार परिसर नै सुनसानप्रायः छ । बाहिर हेर्दा ठाडो देखिए पनि चारैतिर धराप र जीर्ण बनेको संयोजक रिमाल बताउँछन् । ‘हेर्दा सिंगो देखिन्छ तर, दरबार संग्रहालयको चारैतर्फ भूकम्पले चिराचिरा पारेको छ, एकापट्टिको गारोेको इटा धेरै खसेको छ, भित्र पस्न जोखिम छ, उनले भने।

यो दरबार दुई सय ५३ वर्ष पुरानो हो । १८१९ सालमा पृथ्वीनारायण शाहले ललितपुरबाट वास्तुकलाका नामी कालिगढ झिकाएर यो दरबार निर्माण गरेका थिए । सुरुमा यो दरबार नौतले थियो । १९९० सालको भुइँचालाले दुई तला भत्किएर साततले हुन पुगेको थियो । जिल्लाको मात्र नभएर नेपाल एकीकरण र इतिहासको परिचय बनेर उभिएको यो दरबार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र पनि हो । राष्ट्रिय संग्रहालय बनेपछि यो सर्वसाधारणका लागि खुला गरिएको थियो । मन्दिर शैलीको यस दरबारभित्र पृथ्वीनारायण शाहको शयनकक्ष, रानीको खोपी, भारदारकक्ष, कैदी थुन्ने कालकोठरी, पृथ्वीनारायण शाह र उनकी रानीले प्रयोग गरेका सामग्री तथा उनीहरूका जीवित छँदै बनेका मूर्ति छन् । यस्ता सामग्री अवलोकन गर्न थुप्रै बाह्य र आन्तरिक पर्यटक आउँछन् ।

यसबाहेक दरबार वरिपरिका थुप्रै संरचना पनि ध्वस्त भएका छन् । दरबारका इटा खस्ने क्रम अहिले पनि जारी छ । संग्रहालयका सम्पूर्ण सामान अहिले पनि दरबारभित्रै राखिएका छन् । समयमै पुनर्निर्माणका लागि आवश्यक बजेट पास नभएर निर्माणकार्यमा ढिलाइ भएको पुरातत्व विभागको भनाइ छ ।

साहित्यकार एवं नुवाकोटका संस्कृतविद् श्रीराम श्रेष्ठ भन्छन्, ‘नेपालको इतिहास बुझ्ने, पढ्ने र अनुसन्धान गर्नेका लागि खुला पुस्तकझैं बनेको नुवाकोट दरबार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण केन्द्र पनि हो । तर,  भूकम्पले ध्वस्त यो धरोहर देख्दा हरेकको मन विरक्तिन्छ ।’ यो दरबारमा प्रयोग गरिएको काष्ठकला पनि उत्कृष्ट मानिन्छ ।

सदरमुकाम विदुरदेखि ४ किलोमिटर दुरीको उचाइमा पर्ने यो दरबार एकीकरणताका सामरिक दृष्टिले पनि महŒवपूर्ण थियो । पृथ्वीनारायण शाहले उपत्यकाका राजाहरूको सूचना संकलन, शत्रु पक्षको आगमन निरीक्षण तथा आफू र सेना बस्न यो दरबार बनाएका थिए । पृथ्वीनारायण शाहले नेपाल एकीकरण क्रममा १८०१ मा नुवाकोट वियज गरेपछि काठमाडौं हान्न सहज होस् भनेर यो दरबार निर्माण गरेका थिए। उनले यही बसेर उपत्यका आक्रमण गरेका थिए ।  इतिहासमा उल्लेख भएअनुसार पृथ्वीनारायण शाहले यही दरबारमा बसेर उपत्यका एकीकरण अभियान सञ्चालन गरेका थिए ।

 

प्रकाशित: १९ माघ २०७३ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App