coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रुपन्देहीसँग बदला लिँदै आर्मी सेमिफाइनलमा

झापा-साबिक विजेता त्रिभुवन आर्मी क्लब रमपम झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार रुपन्देही ११ को चुनौती २–० को अन्तरमा समाप्त पार्दै विभागीय टोलीले अन्तिम चारमा आफूलाई उभ्याएको हो।

गएको मंसिरमा झापाकै सुरुङ्गा गोल्डकपमा आर्मीलाई रुपन्देहीले हराएको थियो । विर्तामोडको डोमालाल रंगशालामा त्यो हारको बदला लिने क्रममा यसपटक आर्मीका दुई स्टार खेलाडीको योगदान रह्यो । राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासले आर्मीको टोलीमा कप्तानी प्रदर्शन गर्ने क्रममा एक गोल गरे भने राष्ट्रिय टोलीका सहयात्री नवयुग श्रेष्ठले अर्को गोल ठोकेपछि  आर्मीले रुपन्देहीसँग हारको बदला लिएको हो । गत वर्ष झापा गोल्डकपको पहिलो संस्करण जित्दा आर्मी भरतकै कप्तानीमा मैदानमा थियो भने फाइनलमा झापाविरुद्ध नवयुगले नै निर्णायक गोल गरेका थिए ।

उपाधि रक्षाको लक्ष्यसहित झापा आएको आर्मीले खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । पहिलो हाफ गोलरहित बराबरी भएको थियो । आर्मीले खेलको ६० औं मिनेटमा गोलको खाता खोल्यो । विमल पाण्डेको पासमा नवयुग श्रेष्ठले शानदार गोल गरे । दोस्रो गोल कप्तान भरत खवासले गरे । खेलको ७३ औं मिनेटमा टेकबहादुर बुढाथोकीको पासलाई भरतले जाली चुमाएर आर्मीको जित पक्का गरेका थिए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आक्रामक रणनीति लिएका कारण जीत सम्भव भएको प्रतिक्रिया दिए ।

राष्ट्रिय टीमबाट खेल्ने अनुभवी खेलाडी सहभागी आर्मीको टोली सुरुदेखि आक्रामक रुपमा पेश भएको थियो । तर, टोलीले गोलका धेरै अवसर पनि गुमाएको थियो । खेल अवधिभर रुपन्देहीका गोलरक्षक दीलिप क्षेत्री निकै व्यस्त रहे । ११औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले हेडमार्फत गोल गर्ने अवसर गुमाएका थिए भने त्यसको तीन मिनेटपछि टेकबहादुरकै अर्को प्रहार रुपन्देहीका कप्तान गोलकिपर दीलिपले बचाए। २३ औं मिनेटमा आर्मीका कप्तान भरतको हेड बारमा लागेर फर्कियो । उनले अरु तीन राम्रा अवसर गुमाए । २६औं मिनेटमा आर्मीका टंक बस्नेतले एक्लै बल अगाडि बढाए पनि गोल गर्नबाट चुके । रुपन्देहीका गोलकिपर दीलिप उनको प्रयासमा वाधक बने ।

रक्षात्मक खेलेको रुपन्देहीले भने विपक्षी पोष्टमा बढि चुनौती पेश गर्नै सकेन । ३५ औं मिनेटमा शिव सुवेदीले हेडमार्फत गोल गर्ने सुनौलो मौका पाए पनि सफल भएनन् । रुपन्देहीका लागि यो नै सबैभन्दा सुन्दर आक्रमण थियो । विपक्षी टोलीको आक्रमण रोक्नैमा रुपन्देही व्यस्त रह्यो ।

खेलको म्यान अफ द म्याच आर्मीका नवयुग भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार रुपैयाँ प्रदान गरियो ।

रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले खेलाडीबीच तालमेल नमिल्दा हार बेहोर्नुपरेको बताए । आशा गरेका खेलाडी दिपक राईबाट स्वभाविक प्रदर्शन हुन नसक्दा हार भएको उनको भनाई थियो । प्रतियोगिता अन्तर्गत बुधबार आयोजक रमपम झापा–११ र सुदूर पश्चिम फुटबल क्लबबीच खेल हुनेछ। 

प्रकाशित: १९ माघ २०७३ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App