coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

असावधानीले एक अर्ब खरानी

काठमाडौं-मानवीय लापरबाही र असावधानीका कारण हुने आगलागीबाट काठमाडौं उपत्यकामा डेढ वर्षमा एक अर्ब रुपैयाँभन्दा बढीको धनमाल खरानी भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा डेढ वर्षको अवधिमा भएका आगलागीका घटनामा आठजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

महानगरीय प्रहरी कार्यालयको तथ्यांकले उपत्यकाका तीन जिल्लामा अघिल्लो आर्थिक वर्षयता (माघ १६ सम्म) दुई सय १२ आगलागीका घटना भएका देखाउँछ ।

काठमाडौंमा अघिल्लो आर्थिक वर्ष ८३ स्थानमा आगलागी भएकोमा चालू आवको हालसम्म ५२ घटना भइसकेका छन् । काठमाडौंमै १० महिनाको अवधिमा जलेर १९ करोड रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ । अघिल्लो आर्थिक वर्ष १७ करोड रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको थियो । अघिल्लो वर्षमा एकजनाको जलेर ज्यान गएको थियो ।

महानगरीय प्रहरी कार्यालयका अनुसार ललितपुरमा अघिल्लो आर्थिक वर्षमा पाँचवटा मात्र आगलागीका घटना हुँदा करिब १० लाख रुपैयाँबराबर धनमाल जलेको थियो । आगो निभाउनेक्रममा घाइते भएका चारजनाको उपचारक्रममा मृत्यु भएको थियो ।  दुईजना गम्भीर घाइते भएका थिए । त्यस्तै यो वर्षको माघ १६ सम्म १४ वटा आगलागीका घटना भएका छन । ती घटनामा करिब २५ लाख रुपैयाँबराबरको धनमाल क्षति भएको छ ।

त्यस्तै भक्तपुरमा चालू वर्षमा भएका १६ वटा आगलागीका घटनामा ३० लाख रुपैयाँबराबरको धनमाल जलेको छ भने जलेर ६ जना घाइते भएका छन् । अघिल्लो आथिएक वर्ष भक्तपुरमा ४२ वटा आगलागीका घटना भएका थिए । ती घटनामा एक करोड ३५ लाख रुपैयाँबराबर धनमाल जलेर नोक्सान भएको थियो। जलेर तीनको मृत्यु र तीन घाइते भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

प्रमुख कारक विद्युत् सर्ट र ग्यास लिक

प्रहरी वृत्त कालिमाटीलाई आइतबार राति करिब आठबजे सूचना आयो । कुलेश्वर चोकको एउटा कस्मेटिक पसलबाट धुवाँ आइरहेको छ । वृत्तका डिएसपी नवराज अधिकारीसहितको टोली तत्काल घटनास्थल पुग्यो । हिरामाया मगरको कस्मेटिक पसलबाट धुवाँको मुस्लो निस्कँदै थियो । डिएसपी अधिकारीले तत्काल माथिल्लो इकाइलाई जानकारी गराएर सटर फोडे । भित्रबाट गुम्सिएर रहेको आगोको मुस्लो बाहिर निस्कियो ।

‘केही सोच्नुअगावै आगोले जोडिएका अन्य सटरमा आक्रमण गरिसकेको थियो, विद्युत् सर्ट वा धूपबत्तीबाट आगो सल्किएको अनुमान गरेका छौं,’ अधिकारीले नागरिकसँग मंगलबार भने ।

कुलेश्वरका ब्रम्ह महर्जनसहित करिब दर्जन व्यवसायीका सटर  केही घण्टामा जलेर खरानी भए । महर्जनले निर्माण गरेको घर टहरामा आगो लागेको थियो ।  आगलागीबाट तीन करोड २२ लाख रुपैयाँबराबरको सम्पत्ति क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ । अधिकारीका अनुसार क्षति विवरण संकलन गर्ने काम भइरहेको छ । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षसहित अहिलेसम्म भएका  दुई सय १२ आगलागीका घटनामध्ये अधिकांश विद्युत् सर्ट वा ग्याँस सिलिण्डर लिकका कारण भएका हुन् । यसमा पनि बढी विद्युतीय उपकरण सर्ट भएर आगलागी भएको छ । बालेको धूप तथा मैनबत्तीबाट पनि आगलागी भएको छ । कतैकतै व्यक्तिगत रिसिइबीका कारण पनि आगो लगाउने काम भएको अनुसन्धानमा देखिएको छ ।

आगो निभाउन खटिने अधिकारी अधिकांश घटनामा मानवीय लापरबाहीका कारण भएको बताउँछन् । जुद्ध बारुण यन्त्रालयका प्रमुख किशोर भट्टराईले सहरमा हुने अधिकांश आगलागीका घटना मानवीय त्रुटिका कारणले भएको पाइएको बताए । उनका अनुसार घर, पसल, उद्योग तथा कलकारखानामा विद्युतीय उपकरण प्रयोगमा सावधानी नअपनाउँदा यस्ता घटना भएका हुन् ।

‘बजारमा थरीथरीका विद्युतीय उपकरण आएका छन, प्रयोगमा हुने लापरबाही र असावधानी आगलागीको कारण हो, ग्याँस लिक भएर पनि आगलागी भएको पाएका छौं,’ भट्टराईले भने । उनका अनुसार सहरमा हुने आगलागीबाट बच्ने उपाय – सावधानी र सचेतना हो । उनले आगलागीबाट जोगिन सावधानी अपनाएजस्तै आगलागी भइहाले नियन्त्रणका लागि सोही अनुसारका उपकरण र पानीको व्यवस्था गर्न आवश्यक रहेको सुझाए । ‘साघुँरा गल्लीमा आगलागी हुँदा दमकल नजानेर  पानीको पनि समस्याले समयमै निभाउन कठिन हुन्छ, यसले क्षति बढी हुने गरेको छ,’ उनले भने ।

४० लाखलाई आठ दमकल

काठमाडौं उपत्यकाको अनुमानित जनसख्या ४० लाखभन्दा बढी छ । तर काठमाडौं, ललितपुर र भक्तपुरमा जम्मा आठपटा दमकल प्रयोगमा छन् । आगो नियन्त्रणमा खटिने करिब ५० जना दक्ष जनशक्ति छ।

यन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका साँघुरा गल्लीमा पुग्न सक्ने दमकल भए पनि पानी बोक्ने क्षमता कम छ । साना दमकलले एकपटका  १५ सय लिटर मात्र पानि बोकेर हिँड्न सक्छन् जुन आगलागी नियन्त्रणमा अपुग हुन्छ । ‘काठमाडौं उपत्यकामा भौतिक संरचना र जनसख्या बढ्दो छ तर आगलागी नियन्त्रणमा खटिने दमकल र जनशक्तिको अवस्था जुद्धशम्शेरकै जमानामा भन्दा फरक हुनसकेको छैन,’ भट्टराईले भने ।

हाल काठमाडौंमा ६, ललितपुर र भक्तपुरमा एकएक गरी आठवटा दमकल प्रयोगमा छन् । बारुण यन्त्रले आगलागी नियन्त्रणका लागि प्रहरी, सशस्त्र र सेनाको सहयोगमा काम गर्दै आएको छ।

प्रकाशित: १९ माघ २०७३ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App