१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल टेन्डर महिना दिन धकेलियो

काठमाडौं- स्पेनको ठेकेदार कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका निर्माण सामग्री र उपकरणबारे आधिकारिक जवाफ नदिँदा नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थल सुधारसम्बन्धी 'ग्लोबल टेन्डर' एक महिना पर धकेलिएको छ। 

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय तथा त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक निकाय प्राधिकरणले यसअघि माघ दोस्रो साताभित्रै टेन्डर आह्वान गर्ने घोषणा गरेको थियो। तर, स्पेनी ठेकेदार कम्पनी 'कन्स्ट्रक्टोरा सान्जोसे एसए' को  त्रिभुवन विमानस्थलमा रहेका एस्काभेटरलगायत निर्माण सामग्री र उपकरणबारे उसले कुनै जवाफ नदिँदा टेन्डर आह्वान मिति थप एक महिना पछाडि धकेलिएको हो। 

'हामीले जुन दिन सान्जोसेसँग ठेक्का सम्झौता रद्द गरेको थियौ, त्यही दिन उसलाई विमानस्थलमा रहेका आफ्ना सरसामानबारे विस्तृत विवरण मागेका थियौं,' प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले सोमबार नागरिकसँग भने, 'तर, अहिलेसम्म सान्जोसेबाट कुनै जवाफ आएको छैन। त्यही भएर विमानस्थल सुधार परियोजनासम्बन्धी टेन्डर आह्वानको मिति एक महिना पछाडि धकेलिएको छ।'

प्राधिकरणले विमानस्थलमा रहेका उसका निर्माण सामग्री र उपकरण संख्या तथा  मूल्यांकनबारे सोधेको प्रश्नमा हालसम्म कुनै जवाफ दिएको छैन। यही कारण नयाँ टेन्डर आह्वान प्रक्रिया लम्बिएको हो।

तीन वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाको ग्लोबल टेन्डर जितेर ठेक्का हात पारेको सान्जोसेले तोकिएको समयमा काम पूरा नगरेपछि प्राधिकरणले गत मंसिर २४ मा ठेक्का सम्झौता रद्द गरेको थियो।

प्राधिकरणले १४ दिनको म्याद दिँदै मनासिब कारणसहित उपस्थित हुन त्यही दिन ठेकेदार कम्पनीको काठमाडौं, भारतको नयाँदिल्ली र स्पेनस्थित कार्यालयमा पत्राचार गरेको थियो। तर, पुस ७ भित्र कतैबाट पनि जवाफ नआएपछि प्राधिकरण आफैंले बाँकी काम गर्ने घोषणा गरेको थियो।

प्राधिकरणले पुस १२ गते ठेक्का सम्झौता पूर्णरूपमा खारेज भएको भन्दै सान्जोसेलाई पत्राचार गरेको थियो। सान्जोसेले ठेक्का सम्झौताअनुसार 'पर्फर्मेन्स बन्ड' र 'एडभान्स पेमेन्ट ग्यारेन्टी' वापत नेपाल इन्भेस्टमेन्ट बैंक र लक्ष्मी बैंकमा राखेको करिब १ अर्ब ६५ करोड रुपैयाँ सोमबार प्राधिकरणको बैंक खातामा आइसकेको छ।

अहिले प्राधिकरणले विमानस्थल सुधारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुई किसिमका टेन्डर आह्वान गर्ने गरी काम अगाडि बढाएको छ। दुवैथरी टेन्डरको मस्यौदा निर्माण भइरहेको प्राधिकरणले जनाएको छ।

'अहिले हामी द्रुत गतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेन्डरका लागि आवश्यक मस्यौदा निर्माणमा जुटेका छौं,' प्राधिकरणका उपमहानिर्देशक श्रेष्ठले भने, 'आगामी फागुन १७ गतेभित्र दुवै किसिमका टेन्डर सार्वजनिक गर्ने लक्ष्य छ। त्यसपछि एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुधारको बाँकी कामले गति लिने छ।'

उनका अनुसार पूरा भएका काम र गर्न बाँकी कामको विस्तृतमा मूल्यांकन र अध्ययन गरेपछि 'नेसनल कम्पिटिटिभ बिडिङ' (एनसिबी) र 'इन्टरनेसनल कम्पिटिटिभ बिडिङ' (आइसिबी) टेन्डर आह्वान गरिनेछन्।

एनसिबीअन्तर्गत अन्तर्राष्ट्रिय टर्मिनलतर्फ यात्रु आगमन र प्रस्थानका लागि थप भवन विस्तार, धावनमार्ग विस्तार र फोहोर जलाउने मेसिन जडानका काम हुनेछन् भने आइसिबीतर्फ धावनमार्गको उत्तर गुहेश्वरीपट्टिको खाल्डोमा माटो भर्ने र अन्तर्राष्ट्रिय जहाज पार्किङ बे निर्माणका काम हुनेछन्।

प्राधिकरणका अनुसार सान्जोसेले अन्तर्राष्ट्रिय एप्रोन, पार्किङ बे, ट्याक्सी वे विस्तार, धावनमार्गको उत्तरतर्फ गुहेश्वरीपट्टिको खाल्डोमा माटो भर्ने, अन्तर्राष्ट्रिय पार्किङ बे निर्माण गर्ने, दक्षिणतर्फ कोटेश्वरपट्टि ३ सय मिटर धावनमार्ग विस्तार गर्नेलगायत काम गर्ने ठेक्का पाएको थियो।

सान्जोसेले सम्झौताको दुई वर्षभित्र सबै काम सक्ने गरी ठेक्का पाए पनि उक्त अवधिमा जम्मा १६ दशमलव ५ प्रतिशतमा काम पूरा गरेको थियो। तालिकाअनुसार काम गर्न तीन पटक पत्राचार गरे पनि उसले वास्ता गरेको थिएन। त्यसपछि सान्जोसेले भूकम्प र नाकाबन्दीका कारण काम गर्न असहज भएको भन्दै समयसिमा थप्न आग्रह गरेपछि २०७२ चैत तेस्रो सातासम्म म्याद थपिएको थियो। 

प्राधिकरणका अनुसार एसियाली विकास बैंक (एडिबी) को ८ करोड अमेरिकी डलर (८ अर्ब रुपैयाँ) बराबरको ऋण तथा अनुदान सहयोग एवं सरकारको १ करोड २० लाख डलर (१ अर्ब २० करोड रुपैयाँ) गरी ९ अर्ब २० करोड रुपैयाँ लगानीमा त्रिभुवन विमानस्थल सुधार परियोजना सञ्चालन भएको थियो।

परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलले ठूला आकार (वाइड बडी) जहाजदेखि वार्षिक करिब ६० लाख हवाई यात्रु व्यवस्थापन गर्नसक्ने क्षमता राख्ने छ। सवा ९ अर्ब रुपैयाँबराबरको यो परियोजनाको बाँकी काम दुई वर्षभित्र पूरा गर्ने प्राधिकरणको भनाइ छ।

प्राधिकरणले सन् २०१३ मार्चमा सान्जोसेसँग उक्त परियोजनाको ठेक्का सम्झौता गरेको थियो। जसअनुसार २०१५ मार्चभित्र सबै काम पूरा गरिसक्नुपर्थ्यो। बीचमा गत वर्षको भूकम्प र लगत्तैको नाकाबन्दीका कारण काम गर्न असहज अवस्था सिर्जना भएको भन्दै सान्जोसेले समयसीमा थप्न आग्रह गरेको थियो। त्ययसपछि प्राधिकरणले २०१६ मार्चसम्म म्याद थपिदिएको थियो। 

नेपाल इन्भेस्टमेन्ट बैंक र लक्ष्मी बैंकमा रहेको सान्जोसेको एडभान्स पेमेन्ट ग्यारेन्टीवापतको १ अर्ब ५ करोड रुपैयाँ तथा पर्फर्मेन्स बन्डवापतको ६० करोड रुपैयाँ जफत गर्न प्रक्रिया प्राधिकरणले अगाडि बढाएपछि उसले आफ्नो रकम सुरक्षित गरी पाउँ भन्दै काठमाडौं जिल्ला अदालतमा क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेको थियो। त्यसमा प्राधिकरणका पक्षमा फैसला भएपछि सान्जोसे पाटन उच्च अदालत गएको थियो, तर त्यहाँ पनि प्राधिकरणकै जित भएको थियो। 

त्रिभुवन विमानस्थलमा हाल १४ देशबाट २९ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन्। तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन्। आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन्। विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ।

प्रकाशित: १८ माघ २०७३ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App