coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

हिमालयन शेर्पाको नाटकीय पुनरागमन

झापा- खेलको अन्त्यतिर नाटकिय ढंगले पुनरागमन गर्दै हिमालयन शेर्पा रमपम झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार हिमालयन शेर्पाले विभागीय टोलीलाई एपिएफलाई टाइब्रेकरमा ३–२ ले हरायो। शेर्पालाई खेलमा फर्काउन सुनिल बल र निशान लिम्बुले महत्वपुर्ण योगदान गरे। ८७औं मिनेटसम्म एपिएफ २–० ले अगाडी थियो। एपिएफ जित नजिक पुगेका बेला सुनिल र निशानले गोल गरेपछि विर्तामोडको डोमालाल रंगशालाको माहोलमा रोमाञ्चकता थपिएको थियो। सुनिलले ८७औं मिनेटमा गोल गरे। लगत्तै निशानले ८८औं मिनेटमा गोल गरेपछि खेल २–२ को बराबरी भएको थियो। अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा भने शेर्पाले बाजी मार्‍यो।

जारी झापा गोल्ड कपमा सोमबारको नतिजा भने नौलो होइन। आइतबार पुलिसविरुद्ध पनि एनआरटीले इन्जुरी समयमा पुनरागमन गर्दै सफलता हासिल गरेको थियो। हारपछि सिजनमा झापा सुरुङ्गा गोल्डकप उपाधि र सातौं राष्ट्रिय खेलकुदमा फुटबलको स्वर्ण पदक जितेको एपिएफ भने प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएको छ।

दर्शकले भरिएको रंगशालामा एपिएफ जितको खुसी मनाउने तयारी अवस्थामा थियो। तर एपिएफले ३ मिनेटसम्म अग्रतालाई जोगाउन नसक्दा निराश बनेर फर्कनु पर्‍यो।

९० मिनेटभित्र जे पनि हुन सक्ने मान्यता हिमालयन शेर्पाले झापामा फेरि प्रमाणित गर्‍यो। 

टाइब्रेकरमा हिमालयनका गोलरक्षक किशोर गिरीले एपिएफको दुइ खेलाडीको प्रहार रोक्न सफल भए। एपिएफको एउटा प्रहार बारमा लागेर फर्किएको थियो। एपिएफका नविन लामा र राजेन्द्र रावलले भने गोल गरेका थिए।

कप्तान मिलन राईको प्रहार पोष्टमा लागेर फर्किएको थियो भने सुदिप शिल्पकार र सन्तोष कटवालको प्रहार शेर्पाका गोलकिपर गिरीले रोकेका थिए।

शेर्पाका हेमन गुरुङ, निराजन खड्का र निशान लिम्बुले गोल गरे। भूपाल गुरुङको प्रहार एपिएफका गोलरक्षक अमृत चौधरीले रोके। सुनिल बलको प्रहार बाहिरिएको थियो।

एपीएफले ५८औं मिनेटमा युवराज खड्काको गोलमार्फत अग्रता लिएको थियो। श्याम नेपालीको पास सदुपयोग गर्दै हेडमार्फत खड्काले गोल गरेका थिए। ७५ औं  मिनेटमा खड्काकै गोलमा एपीएफले अग्रता दोब्बर बनाएको थियो। नविन लामाले डि बक्स नजिकैबाट प्रहार गरेको बललाई खड्काले पोष्टको दिशा दिएका थिए।

जित करिब सुनिश्चित भइसकेको अवस्थामा  अन्त्यतिर एपीएफले गोलरक्षक राजु योगीलाई परिवर्तन गर्‍यो। घाइते भएका कारण राजुको स्थानमा अृमतलाई एपिएफले मैदानमा पठाएको थियो। तर, त्यसलगत्तै एकाएक खेलको माहोल पनि परिवर्तन भयो। एपीएफको पोस्टमा लगातार दुई गोल भए। एपिएफका प्रशिक्षक कुमार थापाले पहिलो रोजाईको गोलकिपर घाइते हुँदा समस्या थपिएको बताए। उनले भने, 'नयाँ गोलकिपर मैदानमा पठाउँदा टोलीको समन्वय बिग्रियो। गोलकिपर राम्ररी सेट नहुदैं हिमालयन शेर्पाले गोल गर्‍यो। जुन खेलको टर्निङ प्वाइन्ट बन्यो।'

८७ औं मिनेटमा सुनिल बलले  हेमन गुरुङको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरेका थिए। त्यसको एक मिनेट बित्न नपाउँदै निशानले गोल गर्दै शेर्पालाई खेलमा फर्काउन योगदान गरे।

खेल अवधिभर एपीएफले बल नियन्त्रणमा राखे पनि गोल गर्ने अवसर गुमाएको थियो।  फिफा रेफ्री लव खत्रीले शेर्पाका त्रिदेब गुरुङ र मानबहादुर तामाङ, एपीएफका राजेन्द्र रावललाई पहेलो कार्ड देखाएका थिए। शेर्पाको जितमा महत्वपुर्ण योगदान गरेका गोलकिपर किशोर गिरी खेलको म्यान अफ द म्याचबाट पुरस्कृत भए। उनलाई म्याक्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार प्रदान गरिएको थियो। प्रतियोगिता अन्तर्गत मंगलबार साविक विजेता त्रिभुवन आर्मी र रुपन्देही– ११ ले प्रतिस्पर्धा गर्नेछन्। 

 

प्रकाशित: १८ माघ २०७३ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App