coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सम्पदा पुनर्निर्माणमा सामग्री प्रयोग अलमल

ललितपुर- भूकम्पपछि सम्पदा पुनर्निर्माण गर्दा भूकम्पप्रतिरोधी वा पुरानै शैली अपनाउने भन्ने विषयमा अलमल देखिएको छ। पुरातत्व विभागले भूकम्पप्रतिरोधी ढंगबाट सम्पदा पुनर्निर्माण गर्ने या पुरानै शैलीमा गर्ने भन्ने विषयको टंुगो लगाउन नसक्दा अलमल देखिएको हो।

स्थानीय र केही व्यक्तिले सम्पदा पुनर्निर्माण गर्दा पुरानै शैली र मौलिकता अपनाउन आग्रह गरेका छन् भने इन्जिनियरले पुरानै शैलीमा पुनर्निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक नहुने भन्दै मौलिकता र नयाँ शैली दुवै अपनाउनुपर्ने धारणा राखेका छन्।

'बाहिरबाट नदेखिने गरी भित्रपट्टि भूकम्प प्रतिरोधी सामानको प्रयोग गर्न सकिन्छ,' काठमाडौं उपत्यका संरुक्षण कोष (केभिपिटी) अध्यक्ष रोहित रञ्जितकारले भने, 'नयाँ प्रविधि अपनाउने हो भने सम्पदा बलिया हुन्छन्।'

उनले कुन ढंगबाट सम्पदा पुनर्निर्माण गर्ने भन्ने विषयमा स्थानीयसँग वादविवाद  भइरहेको पनि जनाए।  पहिला माटो, इँटा, काठ, ढंुगाले बनेका सम्पदामा सिमेन्ट, स्टिलपाता रड लगायत सामग्री पनि प्रयोग गर्न सकिने उनी बताउँछन्। 'पुनर्निर्माण गर्दा स्टिलका पाता, लाइन सेफ्टी, चुकुल, सिमेन्ट र कतिपय ठाउँका रड पनि प्रयोग गर्न आवश्यक देखिन्छ,' उनले भने।

उपत्यकाभित्र मल्लकालीन समयमा निर्माण भएका सम्पदा यसअघि धेरैपटक जीर्णोद्धार तथा पुनर्निर्माण गरिए पनि त्यतिबेला भूकम्प प्रतिरोधात्मक तबरले नबनाइएको पुरातŒवविद् कोषप्रसाद आचार्य बताउँछन्।

त्यस्तै, संस्कृतविद् हरिराम जोशी नयाँ प्रविधिको प्रयोग गरे पनि मौलिकता मेटिनु नहुने बताउँछन्। 'आज सम्पदा पुनर्निर्माणमा हेलचेक्र्याइँ गरेर भोलि पछुताउन नपरोस्, पहिलापहिला बनेका सम्पदा कमजोर छन् भन्न मिल्दैन,' उनले भने, 'मर्मतसम्भार गर्दा कमसल सामग्रीको प्रयोग गरेका कारण भूकम्पले उपत्यकाका धेरै सम्पदामा क्षति पुर्‍याएको हो, त्यसैले मौलिकतालाई केन्द्रमा राखौँ।' उनले नयाँ प्रविधि अपनाए पनि मौलिकता गुम्न नदिन इन्जिनियरलाई आग्रह गरे।

यता, पुरातŒव विभाग महानिर्देशक भेषनारायण दाहाल विभागले सम्पदा निर्माण गर्दा पुरानै शैलीलाई नै प्राथमिकतामा राख्नुपर्ने बताउँछन्। 'भ्याएसम्म मौलिकतालाई नै प्राथमिकतामा राख्ने प्रयास गरेका छौँ,' उनले भने, 'तर पहिला प्रयोग भएका काठ अहिले पाउन कठिन छ।'

विभाग प्रवक्ता रामबहादुर कुवँर प्राचीन स्मारक संरक्षण ऐन– २०१३ अनुसार सम्पदा पुनर्निर्माण गर्नुपर्ने बताउँछन्। 'ऐन र मापदण्डलाई केन्द्रमा राखेर काम गर्नुपर्छ। पुरानै शैलीलाई अपनाउँदा कसरी भूकम्प प्रतिरोधी हुन सक्छ भन्ने विषयमा विभागले विज्ञसँग छलफल गर्दै आएको छ,' उनले भने, 'हामीले परम्परागत शैलीलाई नै प्राथमिकता दिएर पुनर्निर्माण गछौँ।'

उनका अनुसार काठमाडौं उपत्यकामा पुनर्निर्माण कार्य भइरहेका सम्पदामा सकेसम्म पुरानै शैली अपनाउन विभागले जोड दिएको छ।

'ज्वाइन्ट, कनेक्सन, भित्री भागमा प्रयोग गरिने सामग्री भरपर्दा छन् भने पुरानै ढंगबाट पनि पुनर्निर्माण गर्दा खासै बेफाइदा हुँदैन,' उनले भने, 'हामीले ऐतिहासिक सम्पदाको संवेदनशीलतालाई पनि आत्मसात गर्नुपर्छ।'

विभागले अहिले सम्पदामा प्रयोग गर्ने सामग्रीबारे प्राविधिक अध्ययन गरिरहेको छ।

स्मारक ऐनमा सम्पदा पुनर्निर्माण गर्दा परम्परालाई नै प्राथमिकता दिनुुपर्ने उल्लेख गरिएको छ।

प्रकाशित: १८ माघ २०७३ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App