coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बिलिङ मिटर राख्न ट्याक्सीचालकको अटेरी

काठमाडौं- राजधानीका ट्याक्सी चालकले प्रिन्टरसहितको बिलिङ मिटर जडान गर्न ढिलासुस्ती गरेका छन्। नेपाल गुणस्तर तथा नापतौल विभागले पुस १७ गतेदेखि राजधानीमा गुड्ने ट्याक्सीलाई लटअनुसार मिटर जडान गर्न निर्देशन दिएको थियो।

विभागले प्रत्येक साता पाँच सय ट्याक्सीमा मिटर जडान गर्ने लक्ष्य राखेको थियो। अहिले दैनिक २० देखि २५ ट्याक्सीले मात्रै मिटर जडान गरेका छन्।

विभागका ट्याक्सी तथा टेप्पो एकाई प्रमुख विकास ध्वजु भन्छन्, 'प्रिन्टरसहितको बिलिङ मिटर जडान गरेपछि ट्याक्सी चालकले यात्रुबाट बढी भाडा असुल्न पाउँदैनन्। त्यसैले आनाकानी गरेका हुन्। मिटर जडान ट्याक्सीमा चढेपछि यात्रुले  बिल पाउने भएकाले ठगी गर्न मिल्दैन।'

बिलिङमा ट्याक्सीको नम्बर, ट्याक्सीचालकको फोन नम्बर र भाडा समेत प्रस्ट उल्लेख गरिने हुँदा यात्रु ठगी हुनबाट जोगिने विभागले जनाएको छ।

विभागले साउन ७ भित्रै उपत्यकाका झन्डै आठ हजार पाँच सय ट्याक्सीमा मिटर जडान गर्ने समयसीमा तोकेको छ। एक महिनामा तीन हजार ट्याक्सीमा प्रिन्टरसहितको मिटर जडान गर्नुपर्नेमा अहिलेसम्म ६ सय ३९ ट्याक्सीमा मात्रै जडान गरिएको विभागले जनाएको छ। ट्याक्सीले बारम्बार यात्रुबाट बढी भाडा असुलेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले ६ महिनाभित्रै देशभर बिलिङसहितको मिटर जडान गर्न भदौ २३ गते निर्देशन दिएका थिए।

ट्याक्सी चालकले तीन सय रुपैयाँको नवीकरण शुल्क तिरेर मिटर जडान गर्न सक्नेछन्। बजारमा सात हजार पाँँच सयदेखि १० हजार रुपैयाँ मूल्यका मिटर उपलब्ध छन्।

'मिटर जडान महँगो भयो'

नेपाल लोकतान्त्रिक यातायात मजदुर संगठन केन्द्रीय कार्यसमिति अध्यक्ष भरत गुरुङले पैसाको अभावमा ट्याक्सीचालकले नयाँ मिटर जडान गर्न नसकेको बताए। 'केही समयअघि महँगो मूल्य तिरेर मिटर जडान गर्‍यौँ। अहिले फेरि सरकारले नयाँ प्रिन्टरसहितको बिलिङ मिटर जडान गर्न निर्देशन आएको छ। पटक–पटक नयाँ मिटर फेर्दा व्यवसायीलाई ठूलो नोक्सान भइरहेको छ,' उनले भने। उनले  नयाँ मिटर जडानमा सहुलियत दिनुपर्ने माग समेत गरे।

'हामी बिलिङ मिटर जडानको बाधक होइनौँ। तर, सरकारले जडानमा सहुलियत तथा राहत दिनुपर्छ,' उनले भने। संगठनले वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागमा आफ्नो माग पूरा गर्न ज्ञापनपत्र बुझाएको छ।

यता, एकाई प्रमुख ध्वजु ट्याक्सीचालकले बिलिङ मिटर नजोड्न बहाना गरेको बताउँछन्। 'महँगा मूल्यका क्यासेट प्लेयर जोड्न सक्ने तर आवश्यक मिटर जडान नसक्ने?' उनले भने, 'ट्याक्सीचालकले बहानाबाजी गरेर जोड्न नखोजेका हुन्।'

नेपाल गुणस्तर तथा नापतौल विभाग महानिर्देशक विश्वबाबु पुडासैनी बिलिङ मिटर कार्यान्वयन गरेरै छाड्ने बताउँछन्।

'सुरुमा हामीले ट्याक्सीचालकलाई मिटर जडानमा प्रोत्साहन गरिरहेका छौँ। जडान नै नगरी अनुगमन गर्न नमिल्ने रैछ,' उनले भने, 'दुई हजार ट्याक्सीमा मिटर जडान गरेपछि अनुगमन थाल्छौँ।'

प्रकाशित: १८ माघ २०७३ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App