coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सम्पदा क्षेत्र प्रवेश सडक अस्तव्यस्त

ललितपुर- पाटन दरबार क्षेत्र प्रवेश गर्ने लगनखेल–मंगलबजार सडकका खाल्डाखुल्डीले सवारी र बटुवालाई अवरोध पुगेको छ। खाल्डाखुल्डीकै कारण सडकमा धुलो उड्न थालेको छ। 'चार वर्षअघि यो सडक व्यवस्थित थियो, तर हिजोआज खाल्डाखुल्डी र धुलोले हिँडिसक्नु छैन,' पाटन मंगलबजारका स्थानीय व्यापारी शम्भुगोविन्द ताम्राकारले नागरिकसँग भने, 'पर्यटक ओहोरदोहोर गर्ने मुख्य सडक यसरी अस्तव्यवस्त हुनु सरोकारवाला निकायको उदासीनता हो।'

स्थानीयले सडक मर्मतका लागि पहल गर्दा ललितपुर उपमहानगरपालिकाले चासो नदिएको उनको गुनासो छ। चार वर्षअघि ललितपुर उपमहानगरपालिकाले उक्त सडक कालोपत्रे गरेको थियो। अहिले सडक पुरानो भई खाल्डैखाल्डा परेका छन् तर मर्मतमा उपमहानगरपालिकाले कुनै चासो दिएको छैन।

ललितपुर उपमहानगरपालिका प्रवक्ता रुद्र गौतमले उपमहानगरपालिकाले यो वर्ष उक्त सडकमा ढुंगा छाप्ने योजनाअघि सारेको जानकारी दिए। 'सम्पदा क्षेत्रका कालोपत्र गर्नु उपयुक्त नभएकाले ढुंगा छाप्ने निर्णय गरेका छौँ,' उनले भने, 'यो वर्ष पाटन दरबार प्रवेश गर्ने पाटनढोका–मंगलबजार सडक र लगनखेल–मंगलबजार सडकमा ढुंगा छाप्ने स्टिमेट तयार भएको छ।'

ढुंगा छाप्नका लागि बजेट भने छुट्याइएको छैन। उनले उक्त सडक बनाउन केही दिनमै रकम विनियोजन गरिने जनाए। 

साँघुरो सडक, त्यसमाथि फुटपाथ व्यापारीले आधा सडक छेकेर पसल थापेपछि अस्तव्यस्त बन्दै गएको छ।

नगरप्रहरीले पनि सडकपेटीमा राखिएको फुटपाथ हटाउन चासो नदिएका कारण त्यसको प्रत्यक्ष असर पर्यटक र स्थानीयमा देखिएको हो। उपमहानरपालिकाका नगरप्रहरी प्रमुख डिएसपी कदमलाल महर्जनले नगरप्रहरीको संख्या कमी भएकाले सबैतिर परिचालन गर्न नसकिएको बताए। सडक अव्यवस्थित र खाल्डैखाल्डामा परिणत हुँदा दरबार क्षेत्र अवलोकनका लागि आउने पर्यटक यसरी नै सडकको धुलो खाँदै दिनहुँ दरबार क्षेत्रमा ओहोरदोहोर गर्न बाध्य छन्। पर्यटकका लागि सडक र पैदलमार्ग व्यस्थित नहुँदा यसको असर पर्यटकमा पनि परेको छ। पैदलमार्ग र व्यवस्थित सडक नहुँदा पाटन दरबार आउने पर्यटक पनि आजित भइसकेका छन्। उनीहरु दिनँहु सवारीको चेपुवा र सडकको धुलो खाँदै दरबार क्षेत्र प्रवेश गर्न बाध्य छन्।

त्यसो त पुल्चोकबाट मंगलबजार प्रवेश गर्ने सडकको हालत पनि उस्तै छ। सडक साँघुरो भएकै कारण पैदलयात्रु ढुक्कले ओहोरदोहोर गर्न पाउँदैनन्।

प्रकाशित: १८ माघ २०७३ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App