८ वैशाख २०८१ शनिबार
समाज

सरकारी जग्गा कब्जा गरेर कांग्रेस नेताले गरे प्लटिङ

धरान- विगतमा रेशम खेतीको लागि छुट्याइएको साविक पाँचकन्या ५, आँपटार चौरी(हाल धरान २२) को सरकारी जग्गा भुमाफिया र स्थानीय नेताको मिलेमतोमा प्लटिङ र किनबेच भइरहेको छ।  

स्थानीय निकाय लामो समयसम्म जनप्रनिधि विहिन भएपछि संरक्षणमा सरोकारवाला निकायको ध्यान नपुग्दा सरकारी ऐलनी, पर्ती जग्गा अतिक्रमणको चपेटामा परेको हो। विगतमा गाविसले रेशम खेतीसमेत लगाएको उक्त जग्गामा हाल नेपाली कांग्रेसका धरान उपमहानगर समिति सदस्य सन्तोष लिम्बुको नेतृत्वमा डोजर लगाएर प्लटिङ भइरहेको छ। सरकारी जग्गा अतिक्रमण गरी धमाधम प्लटिङ भइरहेको देखेपनि स्थानीयहरु त्रासका कारण बोल्न सकिरहेका छैनन्। झैझगडा र गुण्डागर्दीको पृष्ठभुमि भएका कांग्रेस नगर सदस्य लिम्बुको कारण स्थानीयहरु विरोधमा उत्रन सकेका छैनन्। रेशम खेतीको जग्गा संरक्षण गर्न भन्दै धरान उपमहानगरपालिकाले यो बर्ष योजनामा समेटेर बजेटसमेत विनियोजन भएको छ। तर, भुमाफिया र स्थानीय नेताहरुको मिलेमतोमा प्लटिङ गरी बेचबिखन हुन थालेपछि स्थानीय स्तरममा संरक्षण समितिसमेत गठन हुन सकेको छैन।

विगतमा गाविसले रेशम खेतीसमेत लगाएको उक्त जग्गामा हाल नेपाली कांग्रेसका धरान उपमहानगर समिति सदस्य सन्तोष लिम्बुको नेतृत्वमा डोजर लगाएर प्लटिङ भइरहेको छ।

स्थानीयका अनुसार एक पटक बिक्री वितरण भइसकेको सरकारी जग्गामा पुनः कब्जामा लिएर लिम्बुले प्लटिङ थालेका हुन् । स्थानीयका अनुसार यसअघि सन्तोषको भाइले ती जग्गा बिक्री गरिसकेका थिए। तर, कतिपय खरीदकर्ताहरुले घर बनाएर हकभोग गर्न नपाएको खाली जग्गा पुनः सन्तोषले कब्जामा लिएर प्लटिङ गरेको स्थानीयको दाबी छ। केही बर्षअघि एउटा घर बनाएर उनी एक महिना बसेका पनि थिए। अहिले उक्त घरको अवशेष बाँकी छ । ‘यहाँ पहिला गाविसले रेशम खेती गरेको थियो, अहिले त धमाधम प्लटिङ भइरहेको छ । केही बोल्यो भने ज्यानै खतरामा पर्छ’–एक जना स्थानीयले भने। लामो समय बाँझो रहेको उक्त जग्गामा स्थानीयहरुले आफ्ना मृतक नातेदारहरुको लाश गाडेर चिहानसमेत बनाएका थिए। प्लटिङ गर्न डोजर लगाउँदा ती चिहानहरु भत्किएको भन्दै सम्बन्धित परिवारजन रुष्ट छन्।

डोजर लगाएर प्लटिङ गर्दा आफ्नी आमाको चिहान(कपुरथान) भत्किएको भन्दै टेकबहादुर राईले प्लटिङ रोक लगाई आवश्यक कारबाह गर्न र शान्ति सुरक्षाको माग गर्दै धरान उपमहानगरपालिकामा शुक्रबार(माघ १४) गते निवेदन दिएका थिए। उनका अनुसार माघ ९ गतेदेखि कांग्रेस नेता लिम्बुले डोजर लगाएर प्लटिङ थालेका हुन्। छरछिमेक भेला भई कपुरथान नभत्काउन आग्रह गरेपनि उल्टै धाकधम्की दिएको उनले निवेदनमा खुलाएका छन् । ‘आमाको कपुरथान जोगाई दिनु भनेको थिएँ, तर डोजर लगाएर चिल्लै बनाएछ । यो त सरकारी जग्गा थियो, सबै बेचबिखन भइरहेको छ’–उनले भने।

तत्कालिन पाँचकन्या गाविसका पूर्व अध्यक्ष रमेश बस्नेतका अनुसार बाँझो जमिनको संरक्षण गर्न २०५६ सालमा करिब अढाई बिघा जमिनमा किम्बु खेती लगाएर रेशम उत्पादन गरिएको थियो। तीन बर्षसम्म खेती हुँदा तीन दर्जन जति स्थानीयले रोजगारी पाएका थिए भने यहाँको उत्पादित रेशम इटहरीमा बिक्री हुन्थ्यो । त्यसबेला यहाँको रेशम उत्कृष्ट मानिएको थियो । रेशम खेतीमा लगानी गर्ने मध्ये पूर्व जिविस उपसभापति वंशी मोक्तान पनि थिए। ‘रेशम उत्पादन गर्न भनेर किम्बु लगायौं, स्थानीय धेरैलाई तालिम दियौं । मेशिन पनि ल्यायौं तर विविध कारणले असफल भयो’–उनले भने । स्थानीय निकाय जनप्रतिनिधि विहिन भएपछि र माओवादी द्धन्दको कारण कर्मचारीहरु गाविसमा बस्न नसकेपछि बाली मासियो भने जग्गासमेत अतिक्रमण हुन थालेको थियो । पछिल्लो समय खाली जग्गामा स्थानीय युवाहरु फुटबल खेल्थे । केही समयअघि त्यहाँ सशस्त्र प्रहरीको बेसक्याम्प राख्न प्रयास गरिए पनि विवादको कारण बस्न सकेको थिएन।

डोजर लगाएर प्लटिङ गर्दा आफ्नी आमाको चिहान(कपुरथान) भत्किएको भन्दै टेकबहादुर राईले प्लटिङ रोक लगाई आवश्यक कारबाह गर्न र शान्ति सुरक्षाको माग गर्दै धरान उपमहानगरपालिकामा शुक्रबार(माघ १४) गते निवेदन दिएका थिए।

 रेशम खेतीकै जग्गा खरीद गरेर घर बनाएका कमल चोङवाङ आफुलाई ऐलनी जग्गा हो भन्नेसम्म मात्र थाह भएको बताउँछन्। उनले २०७० सालमा खरीद गरेका थिए। ‘ऐलनी भन्नेसम्म थाह थियो, तर रेशम खेती थियो र चिहानघारी हो भनेर खरीद भएपछि मात्र थाह भयो’–उनले भने–‘यहाँको जग्गामा धेरै फसेका छन्, किनबेच भइरहदा कोही पनि बोल्दैनन् ।’ उनका अनुसार घरायसी कागज गरेर लेनदेन हुने गरेको छ । प्लटिङ गरेको रेशम खेतीको जग्गा निसानदेवी सामुदायिक वन क्षेत्र रहेको डाँडाको फेदमा पर्छ। उक्त वन समूहका पूर्व अध्यक्ष श्यामकृष्ण पहाडीका अनुसार वन क्षेत्र छुट्टाएर बाँझो खाली जमिन रेशम खेती गर्न गाविसलाई दिइएको थियो । खेती मासिए पछि गौचरणमा परिणत भएको र फुटबल मैदान बनाउने योजना अघि बढाउदा हस्तक्षेपको कारण तुहिएको उनले बताए। ‘यो जग्गा एक चरण धेरैलाई बिक्री भइसकेको छ, अहिले फेरी प्लटिङ हुदैछ । पीडितहरु धेरै छन्’–उनी भन्छन्।

 धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले सरकारी जग्गा प्लटिङ गरेको र चिहान भत्काएको निवेदन परेपछि नगर प्रहरीलाई शुक्रबारै यथार्थ बुझ्न स्थलगतरुपमा पठाएको बताए। साथै, विपक्षी सन्तोष लिम्बुलाई मौखिकरुपमा प्लटिङको काम रोक्न निर्देशन दिएको पनि उनले खुलाए । ‘हामीले यो बर्ष रेशम खेतीको जग्गा संरक्षण गर्न भनेर बजेट पनि छुट्याएका छौं, अहिले त्यही जग्गा प्लटिङ भइरहेको भन्ने सुन्यौं’–उनले भने–‘जसको विरुद्ध निवेदन परेको थियो, उसलाई तत्काल काम नगर्न र सरकारी जग्गा तलमाथि भए कारबाही हुन्छ भनेर भनिसकेको छु।’ कांग्रेस नगर सदस्य लिम्बु भने उक्त जग्गा डेढ दशकदेखि नै आफुले हकभोग गरिरहेको दाबी गर्दै माटो चाहिएकोले डोजर लगाएर झिकेको बताउँछन्। ‘यहाँ कहिले रेशम खेती भयो मलाई थाह पनि छैन। यो मेरो जग्गा हो, मैले बेचेको पनि छैन’–उनले भने–‘अरु थुप्रै ऐलनी जग्गामा नै बसेका छन्, सबैले छोड्छन भने म पनि छोडिदिन्छु।’

प्रकाशित: १७ माघ २०७३ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App