१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोर्चाको अडान कायमै, चुनावको मिति घोषणा गर्ने सहमति भएन

बैठकमा सहभागी नेताहरु। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- प्रधानमन्त्री र मधेसी मोर्चाबीचको बैठक बिना कुनै सहमति सकिएको छ। संविधान संशोधन,  स्थानीय तहको निर्वाचन मिति घोषणा र पुनःसंरचना आयोगको प्रतिवेदनबारे छलफल गर्न बोलाइएको बैठक बिना निष्कर्ष सकिएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेर अगाडि बढ्न मोर्चा नेताहरुसँग प्रस्ताव गरेका थिए। 'तपाइँहरु निर्वाचन मिति घोषणा गर्न सघाउनुहोस्। संविधान संशोधन प्रस्तावको प्रक्रिया सुरु भइसकेको छ। यसलाई कसरी पारित गर्न सकिन्छ त्यसतर्फ सशक्तरुपमा मोर्चा बनाउँ,' दाहालको भनाई उद्धृत गर्दै उनका राजनीतिक सल्लाहकार चक्रवाणी खनालले नागरिकन्युजसँग भने।

प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग संविधान संशोधन र पुनःसंरचना आयोगको प्रतिवेदनमा मिलेर गहन छलफल चलाउन आग्रह गरेका थिए। जवाफमा सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बिना संविधान संशोधन आफूहरु चुनावमा जान नसक्ने दोहोर्‍याएका थिए। 'अहिलेको मुख्य एजेन्डा संविधान संशोधन गर्नु हो। संविधान संशोधन बिना हामी निर्वाचनमा जान सक्दैनौं,' महतोले भने।

मोर्चाका नेताहरुले संविधान संशोधन बिना जबरजस्ती चुनावको मिति घोषणा गरे आन्दोलन गर्नेतर्फ प्रधानमन्त्रीलाई सचेत गराएका थिए। 'हामी बरु फेरि छलफल गर्न तयार छौं। तर संविधान संशोधन बिना चुनावमा जान सक्दैनौं,' लक्ष्मणलाल कर्णले नागरिकन्युजलाई बताए।

मोर्चाले यसअघि नै माघ २३ गते तराई मधेसमा जनप्रदर्शन गर्ने निर्णय गरिसकेको छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु उपस्थित थिए।

प्रकाशित: १७ माघ २०७३ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App