coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जन्मदिनमा पहाड उपहार

जन्मदिनको अवसरमा सानातिनादेखि घर–गाडीसम्मका उपहार दिइएको नसुनिएको होइन तर एउटा मुलुकले अर्को मुलुकको जन्मदिनको अवसरमा पहाडै उपहार दिन चाहेको चाहिँ तपाईं–हामीले अवश्य नसुनेका हुन सक्छौँ।

मुलुक निर्माण भएको सय वर्ष पुगेको अवसरमा नर्वेले फिनल्यान्डलाई सीमा क्षेत्रको एउटा पहाड उपहारमा दिने घोषणा गरेको हो। त्यसो त अर्काको सीमा क्षेत्रलाई आँखा लगाउने, जग्गा मिच्ने, सीमा मिचिएको भन्दै आक्रमण गर्नेसम्मका क्रियाकलाप भइरहेको वा सुनिरहेका बेला नर्वेले भने आफ्नो सीमामा रहेको पहाड उपहारस्वरुप दिने घोषणा गरेको हो।

यही बुधबार जनवरी २५ मा फिनल्यान्ड १०० वर्ष पुगेको अवसरमा नर्वेका तर्फबाट यस्तो घोषणा आएको हो। फिनल्यान्डको सय वर्षे स्वतन्त्रताको उपलक्ष्यमा सो पहाडमा एउटा गज्जबको स्मारक निर्माण गर्ने बताइएको छ।

त्यसो त नर्वेले उपहार दिनका लागि एउटा गज्जबको शैलीसमेत अपनाएको छ। उसले सो क्षेत्रको फिल्म बनाई फिनल्यान्डलाई फिल्ममार्फत् सो उपहारको घोषणा गरेको हो। फिल्मको नाउँ थियो, ब्याटल फर बर्थडे माउन्टेन।

‘सन् १९७२ ताका मैले यहाँ गुरुत्व सर्भे गरेको थिएँ,’ उपहारको सोच कसरी उप्जियो भन्नेबारे खुलासा गर्दै जोर गेर्न हार्सनले भने, ‘यो ठाउँ फिनल्यान्डतर्फको सबैभन्दा अग्लो पहाड थियो। सीमा क्षेत्रको यो पहाडमा दुवैको हक लाग्ने भए पनि पूर्ण पहाड उनीहरूको भागमा परेको थिएन। मैले परराष्ट्र मन्त्रालयलाई पत्र लेखी उनीहरूलाई उपहार दिन आग्रह गरेको थिएँ।’

त्यसो त उपहारै दिनुपर्ने खासै त्यस्तो आवश्यकता न त नर्वेलाई थियो न त फिनल्यान्डले नै महसुस गरेको थियो।

‘संसारभरिकै मुलुकले आफ्नो सीमा विस्तारका लागि झगडा मात्र गरेका छन् तर नर्वेले चाहिँ यसको बदलामा केही अपेक्षा नगरी उपहार दिन चाहेको छ, त्यो पनि आफ्नो भूभागको एउटा फ्याक नै दिनेगरी,’ हार्सनले भने, ‘यो उपहार नर्वेलीहरूको हृदयबाटै उपहार हो। हामीलाई फिनल्यान्डबासीबाट केही चाहिँदैन। हामी अपेक्षा गर्दैनौँ। मुलुक स्वतन्त्र भएको सय वर्ष पुगेको उनीहरूको उल्लासमा आफू पनि सहभागी होऊँ भनी दिइएको उपहार हो।’

उपहार दिन तयार पहाड नजिकैको सहर काफजोर्डका प्रमुख स्भेइन अडभार लेइरस भन्छन्, ‘अहिलेको समयमा यो उपहार सीमाका लागि मरिहत्ते गर्ने मुलुकहरूलाई पाठ होस् भन्ने हाम्रो चाहना हो।’

यो उपहार फिनल्यान्डले स्वीकारेपछि नर्वेतर्फको सीमा ३१ मिटरले मात्र खुम्चने छ। नर्वेलीहरूलाई यो उपहारको सोच निकै मन परेकाले यसलाई गति दिन चाहिरहेका छन्। तर जहाँ पनि खोचे थाप्ने त भइहाल्छन्! त्यहाँको स्थानीय नेताहरूमध्ये केहीले आफ्नो देशको भाग अरुलाई उपहार दिन संवैधानिक रुपमा नमिल्ने बताइरहेकाले प्रक्रिया लम्बिने आशङ्का नर्वेलीहरूलाई छ।

द लोकल नामक पत्रिकामा पहिलो पटक उपहारका बारेमा खुलासा भएको थियो। ‘ब्याटल फर बर्थडे माउन्टेन’ फिल्मका निर्देशक डेभिड फ्राइड भन्छन्, ‘हामीले फिल्ममार्फत् यो प्रस्ताव राखेका हौँ। सतहमा हेर्दा यो एउटा सुन्दर किसिमको प्रस्ताव देखिन्छ। वास्तवमा यसलाई मनन् गर्ने हो भने निकै गहिरो सन्देश छ।’

‘मुलुकको सीमा संसारभरि नै संक्रमणमा छन्,’ फिल्म निर्देशक फ्राइड थप्छन्, ‘युक्रेन र रुसदेखि साउथ चाइना सीसम्म हेर्नुस्, त्यस्तै डोनाल्ड ट्रम्पले मेक्सिकोमा सीमा पर्खाल बनाउनेसम्मका गतिविधि नियाल्नुस्। तर मुलुकको जन्मदिनमा बिना कुनै स्वार्थ कसैले उपहारका लागि सीमाकै महŒवपूर्ण पहाड दिने प्रस्ताव साँच्चिकै राम्रो हो।’

नर्वेली जनताको मनको कुरा बुझेर नै होला नर्वेली प्रधानमन्त्री स्वयंले यस कदमलाई स्वागतयोग्य मानेका छन्। यस प्रस्तावप्रति इङि्गत गर्दै प्रधानमन्त्री एल्ना सोल्बर्गले भनेकी छन्, ‘यस किसिमको प्रस्तावले नर्वे र फिनल्यान्डका जनताबीच कति गहिरो सम्बन्ध छ भन्ने देखाउँछ।’ तर उनले सँगैमा नर्वेको एक इन्च भूमि पनि तलमाथि गर्न नहुने संवैधानिक अप्ठेरो तगाराका रुपमा रहेको औँल्याएकी छन्।

फिल्म निर्देशक फ्राइडले अक्टोबर २०१६ देखि नै यस अभियानलाई गति दिइरहेका छन्। संवैधानिक अप्ठेराका बीचमा पनि कसरी उपहार दिन सकिन्छ भन्नेमा उनको ध्याउन्न छ। बरु यसका लागि अभियान नै चलाउन सकिने उनले मनशाय बनाएका छन्।

प्रकाशित: १७ माघ २०७३ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App