coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

साहित्य महोत्सवको सार्थकता

आवश्यक गति पक्रन सकस परेको देखिए पनि मुलुक संघीय ढाँचामा चल्ने प्रयत्न गरिरहेको छ। सीमांकन–नामांकनजस्ता नितान्त प्राविधिक विषयमा राजनीति सहमति जुट्न नसके पनि आमजनता आआफ्ना तर्फबाट संघीयताको अभ्यास गर्न थालिसकेका छन्। साहित्य, संस्कृति, भाषा तथा कलाजस्ता वाङ्मयका विषयमा जनस्तरबाटै केन्द्र भञ्जन हुँदै मोफसलमा यी सन्दर्भमा ठूल्ठूला उत्सव आयोजना हुन थालेका छन्। त्यसैको एउटा कडीका रुपमा 'नेपाल साहित्य महोत्सव' विगत ६ वर्षदेखि आयोजना हुँदै आएको छ। र, यो महोत्सवले गत वर्षदेखि राजधानीबाट बाहिरिएर पोखरालाई केन्द्र बनाउन थालेको छ। माघ १४ गते शुक्रबारदेखि चलेको महोत्सवको छैठौँ शृंखलामा मुलुकको साहित्य, संस्कृति र कलामात्र होइन राजनीति, अर्थतन्त्र र समाजबारे गम्भीर छलफल गरिएको छ। हाम्रो राजनीति विगतमा गर्व अलि बढी नै गर्छ र भविष्यबारे कम सोच्छ, यही कारण मुलुकले अग्रगमनको बाटो पक्रन कठिनाइ परिरहेको छ। विगतमा कसले के गरे? यो राज्यको सत्ता र शक्तिमाथि ककसले हालिमुहाली जमाए? कसका कारण यो मुलुक गरिबतम राष्ट्रको सूचीमा अंग्रपंक्तिमा पर्न गयो? वा किन समाजका केही वर्ग किनारीकृत हुन पुगे? यी प्रश्नहरुको उत्तर खोज्ने काममा हाम्रो राजनीति बढी केन्द्रित रह्यो। यो समय यी प्रश्नहरुको उत्तर खोज्दै, दोषीलाई कारबाही गर्ने समय होइन। त्यसमा वर्षौं खर्च गर्दा मुलुकको भविष्यमाथि काम गर्न समय पुग्दैन। यसकारण पनि त्यो तीतो विगतबाट पाठ सिक्दै अगाडिको बाटो तय गर्नु बुद्धिमानी ठहर्छ। परिवर्तनका निम्ति बलिदानीपूर्ण संघर्ष गर्नेको उचित कदर भने गरिनुपर्छ।

महोत्सवमा सहभागी विभिन्न क्षेत्रका लेखक, साहित्यकार, अर्थविद्, राजनीतिशास्त्रीलगायतबाट अभिव्यक्त विचारले मुलुकको नीति निर्माणमा मद्दत पुग्छ। यस्ता कार्यक्रममा हुने छलफलले हामीलाई विश्व रंगमञ्चमा आफ्नाबारेमा प्रष्ट विचार राख्न पनि सहयोग पुग्छ। यस पटक छिमेकी भारतबाट आएका लेखक, इतिहासविद्सामु नेपालबारे धेरै कुरा स्पष्ट पार्न सकिएको महसुस गरिएको छ। यसले दुई देशबीचको सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गर्न सकिन्छ। यस्ता कार्यक्रममा भारतमात्र होइन अन्य मुलुकबाट पनि सहभागी गराउन सक्दा नेपाली साहित्य, भाषा, संस्कृति, कलाले फैलने मौका पाउँछ। पछिल्लो समय नेपाल लिटरेचर फेस्टिभलमात्र होइन अन्य यस्तैखाले कार्यक्रम पनि नियमित हुन थालेका छन्। झापा, विराटनगर, धरान, चितवनलगायतका क्षेत्रमा हालै साहित्य, सिनेमा, स्वास्थ्य महोत्सव भएका छन्। यस्ता कार्यक्रमको नियमित आयोजनाले नै हामीलाई एकआपसमा जोड्ने काम गर्छन्। यस्ता कार्यक्रम गर्ने जिम्मा राज्यकोषबाट सञ्चालित नेपाल प्रज्ञा–प्रतिष्ठान तथा लेखक, साहित्यकार, प्राध्यापकको सेयर लगानीमा स्थापित साझा प्रकाशनले गर्नुपर्ने हो। तर, साझा यतिखेर मृतप्रायः अवस्थामा छ भने प्रज्ञा–प्रतिष्ठान राजनीतिक दलहरुको भजनमण्डलीमा सीमित हुन पुगेको छ। यो यथार्थ बुझेर नै निजी क्षेत्रबाट सञ्चालित विभिन्न संस्थरुले कार्यक्रम गर्ने अग्रसरता लिएका छन्, जुन अत्यन्तै स्वागतयोग्य काम हो।

विगतको राज्यव्यवस्था केन्द्रमुखी सोचबाट ग्रस्त भएकाले नै समावेशी विकास हुन नसकेको हो। केन्द्रिकृत विकास अवधारणले प्रतिशोध बढाउनुका साथै द्वन्द्व सृजनामा मलजल गर्छ। दोस्रो जनआन्दोलनको सफलतापश्चात् राज्य क्रमशः विकेन्द्रित हुन थालेको महसुस सबैले गरेका छन्। यही कारण पनि हालै गरिएको एक अध्ययनले नेपालको समावेशी विकासमा तीव्र सुधार आएको देखाएको छ। यस्तो विकासमा नेपाल छिमेकी भारतभन्दा निकै अगाछि रहेको अध्ययनले प्रमाणित गरेको छ। समावेशी विकासमा भारतको स्थान ६० मा छ भने नेपाल २६आँै राष्ट्र बन्न सफल भएको छ। समावेशी विकासको मूल्यांकनको आधार भौतिक सुधारमात्र होइन। साहित्य, कला, संस्कृति, अर्थतन्त्र, राजनीति, सामाजिक जागरणजस्ता विषयमा चेतनावृद्धि पनि हो। यो संघीयतालाई बलियो पार्ने आधार पनि हो। यो आधार तय गर्न नेपाल लिटरेचर फेस्टिभलजस्ता कार्यक्रमको महत्वपूर्ण योगदान रहेको छ। यस्ता महोत्सव अब पोखराजस्ता सुगम क्षेत्रमा मात्र होइन, अलि दुर्गम तथा सुदूर भेगमा पनि हुन सक्दा समावेशी विकास र संघीयतामा समेत योगदान हुन पुग्छ।    

प्रकाशित: १७ माघ २०७३ ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App