काठमाडौं- आम्दानीको तुलनामा अधिकांश उपभोग्य वस्तुको भाउ बढेर सर्वसाधारण आजित भइरहेको बेला दैनिक जीवनमा नभई नहुने नुनको मूल्य वृद्धि गर्ने प्रस्ताव गरिएको छ।
विदेशबाट खरिद गरेर ल्याई साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बिक्री वितरण हुँदै आएको नुनको मूल्य वृद्धि प्रस्तावमा सरकार सहमत भए अब उपभोक्ताले प्रतिप्याकेट नुनमा ५–७ रुपैयाँ थप खर्चनु पर्नेछ। साल्ट ट्रेडिङले तीन वर्षदेखि मूल्य वृद्धि नहुँदा वार्षिक ३५ करोड रुपैयाँ घाटा बेहोर्नु परेको भन्दै नुनको मूल्य निर्धारण उच्चस्तरीय समितिसमक्ष मूल्य वृद्धिको निर्णय गराउन प्रस्ताव गरेको हो।
'हालको मूल्यमा बिक्री गर्दा प्रतिप्याकेट ३–७ रुपैयाँसम्म घाटा भइरहेको छ,' साल्ट टे्रडिङका प्रवक्ता कुमार राजभण्डारीले भने, 'सरकारले राम्रो काम गरिरहेको संस्था बचाउने हो भने या मूल्य समायोजनको प्रस्ताव स्वीकार गर्नुपर्छ नभए घाटामा गइरहेको रकम अनुदान दिनुपर्छ।' मूल्य समायोजनको प्रस्तावमा निर्णय नगरिए साल्ट ट्रेडिङ बन्द गर्नुपर्ने उनले बताए।
हाल साल्ट ट्रेडिङले प्रतिप्याकेट नुनलाई साढे १६ रुपैयाँ थोकमा बिक्री गर्ने गरेको छ। उपभोक्ताले भने १८ रुपैयाँ वा सोभन्दा बढीमा खरिद गर्ने गरेका छन्। साल्ट ट्रेडिङको उक्त प्रस्तावप्रति अहिलेसम्म नुनको अनुगमन तथा मूल्य निर्धारण उच्च समितिले कुनै निर्णय गरेको छैन। समितिका एक सदस्यले मूल्य वृद्धि गर्ने या नगर्ने भन्नेबारे निर्णय गर्न अझै गाह्रो परिरहेको बताए। 'मूल्यवृद्धि नभए संस्थालाई समस्या पर्ने भनिँदैछ। मूल्यवृद्धि गर्दा उपभोक्तालाई भार पर्ने देखिन्छ,' उनले भने, 'त्यसैले अझै अलमल भइरहेको हो।' नेपालमा वर्षमा करिब एक लाख ६० हजार मेटि्रक टन नुन खपत हुने गर्छ।
प्रकाशित: १७ माघ २०७३ ०४:४५ सोमबार