coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फेडेररको कीर्तिमानी पुनरागमन

मेलबर्न- धेरैले सोचेका थिए की रोजर फेडेररले अब ग्रान्डस्लामको उपाधि जित्न सक्दैनन्। तर, आफ्नो ढल्किदो उमेरका बाबजुद फेडेररले आइतबार अस्ट्रेलियन ओपन फाइनलमा राफेल नाडाललाई हराउँदै कीर्तिमानी १८ औं ग्रान्डस्लामको उपाधि उचालेका हुन्।

चोटका कारण करियरकै लामो सयम मैदान बाहिर बसेर फर्किएका फेडेररले लामो समयको प्रतिद्वन्द्वी नाडाललाई हारउँन पाँचौं सेटसम्म संघर्ष गर्नु परेको थियो। अन्तत फेडेररले मुख्य प्रतियोगताको एकल विधामा सबैभन्दा धेरै उपाधि जित्ने कीर्तिमान बनाए। उनले नाडाल र पिट सामप्रास भन्दा ४ र नोभाक जोकोभिच भन्दा ६ वटा बढी उपाधि जितेका छन्।

‘मेरो जिवनमा यो कोसेढुंगा हो। नाडालविरुद्ध सधै प्रतिस्पर्धात्क खेल हुन्छ। उनी मेरो करियरकै सबैभन्दा कठिन प्रतिद्वन्द्वी हुन्,’ फेडेररले भने, ‘टेनिस कठिन खेल हो। यहाँ बराबरी भन्ने हुदैन। यदी त्यो हुन्थ्यो भने आज बराबरीमा पनि म निकै खुशी हुने थिए। नाडालले टेनिस खेलिरहनु पर्छ। टेनिसमा उनको खाँचो छ।’

प्रतियोगिता शुरू हुदाँ कसैले पनि नाडाल र फेडेररले फाइनल खेल्छन् भनेर सोचेका थिएनन्। तर, शीर्ष वरियताका एन्डी मरे र नोभाक जोकोभिक शुरूमै बाहिरिएपछि सबैलाई चकित बनाउँदै नाडाल र फेडेररले फाइनल खेलेका थिए।

नाडाल र फेडेरर आमने सामने भएको यो ३५ औं पटक हो। यससँगै नाडालविरुद्ध फेडेररको विजयी नतिजा २३–१२ भएको छ। मुख्य प्रतियोगिता फाइनलको स्थिती भने ६–३ भएको छ।

पछिल्लो पटक २०१२ मा विम्बल्डन टेनिसको उपाधि जितेका फेडेररलाई ३५ बर्षको उमेरमा जितेको योे ग्रान्डस्लाम उपाधि सम्भवत सबैभन्दा खुशीको क्षण रह्यो। पाँच बर्षको उपाधि खडेरी तोड्दै उपाधि जितेपछि भेट्रान फेडेररले आशु थाम्न सकेनन्। फेडेररले नाडाललाई ६–४,३–६, ६–१, ३–६, ६–३ को सेटमा हराए। यससँगै अस्ट्रेलियन ओपनको उपाधि जित्ने उनी दोस्रा पाका खेलाडी बनेका छन्। यसअघि १९७२ मा केन रोजवालले ३७ वर्षको उमेरमा उपाधि जितेका थिए।

आइतबारको जितसँगै फेडेरर सबै तीन भिन्न ग्रान्डस्लामको पाँच वा पाँचभन्दा धेरै उपाधि जित्ने पहिलो खेलाडी बने। उनले अस्ट्रेलियन र यूएस ओपनमा ५/५ उपाधि जितेका छन् भने विम्बल्डनमा ७ उपाधि उचालेका छन्।

स्विजरल्यान्डका स्टार फेडेरर कीर्तिमानी ३ सय २ हप्ता विश्व वरियताको शीर्ष स्थानमा रहे। उनी २००२ देखी २०१५ सम्म शीर्ष १० भित्र कायम रहे। घुँडाको चोटका कारण ६ महिना कोर्ट बाहिर रहेपछि फेडेरर १७ औं वरियतामा मेलबर्न आएका थिए। जुन २००१ पछिकै सबैभन्दा तल्लो वरियता हो। विम्बल्डन टेनिसको सेमिफाइनलमा मिलोस रोनिकविरुद्ध खेलेपछि फेडेरर कोर्टमा उत्रिएका थिएनन्। फेब्रुअरीमा उनले करियरमै पहिलो पटक घुँडाको शल्यक्रिया गराएका थिए। विम्बल्डनबाट बाहिरिए पछि उनले यूएस ओपन र रियो ओलम्पिक गुमाए।

तर फेडेररले लामो आरमबाट अस्ट्रेलियन ओपनमा उर्जा मिलेको बताए। उपाधि उचाल्नेक्रममा उनले शीर्ष १० भित्रका ३ खेलाडीलाई पाखा लगाएका थिए। उनले टोमास बार्डेच, केइ निशिकोरी र स्टेन वावरिन्कालाई हराउँदै कीर्तिमानी २८ औं ग्रान्डस्लाम उपाधि जितेका हुन्।

यससँगै उनले ग्रान्डस्लाममा सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान पनि आफ्नो नाममा  लेखाएका छन्। उनले ३ सय १४ खेल जितेका छन् भने करियरमा १० करोड अमेरिकी डलर भन्दा धेरै कमाएका छन्।

नाडाल पनि लामो समय पछि चोटमुक्त भएर फर्किएका हुन्। फेडेररको जितमा आफु खुशी रहको प्रतिकृया दिए।

‘लामो समय कोर्ट बाहिर रहेर पनि उनले जुन प्रदर्शन गरे, त्यो अविश्वस्नीय छ। पक्कै पनि यसका लागि उनले कडा मिहिनेत गरेको हुनुपर्छ। उनको जितमा म खुशी छु,’ नाडालले भने, ‘यो महिना मेरा लागि अद्भुत रह्यो। खेलमा म साच्चिकै रमाएको छु। मैले पनि निकै मिहिनेत गरेको थिए। तर आज फडेरर जितका हकदार थिए। यससँगै मैले पुनरागमन गर्न सक्छु भन्ने लागेको छ।’

प्रकाशित: १७ माघ २०७३ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App