coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोकिनको 'ट्रान्जिट' बन्दै नेपाल

काठमाडौं- गत मंसिर १४ नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले एक किलो पाँच सय ग्राम लागूऔषध कोकिनसहित मलेसियाका एलिस जोसेफ र मेगेनथिरन रझालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो। ब्राजिलबाट दुबई हुँदै काठमाडौं आएकी एलिक र कोकिन 'रिसिभ' गर्न आएका रझालाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको थियो।

त्यस्तै ब्युरोले भदौ १० गते तीन किलो एक सय २५ ग्राम कोकिनसहित बोलेभियन महिला त्योदोभिच गोन्जालिज पाओलालाई ठमेलबाट पक्राउ गर्‍यो। उनी बोलेभियाबाट ब्राजिल, इथोपिया र भारतको नयाँदिल्ली हुँदै काठमाडौं आएकी थिइन्। त्यसको तीन दिनअघि नेपाल–भारत सीमा क्षेत्र बेलहियाबाट नेपाल आइरहेका भारतीय राहदानीबाहक रोज कासुङलाई भारतीय सीमा सुरक्षा बलले तीन किलो एक सय २५ ग्राम कोकिनसहित पक्राउ गरेको थियो।

गत साउन २६ गते तीन किलो ५५ ग्राम कोकिनसहित दुई विदेशी महिला पक्राउ परे। ब्राजिलबाट नयाँदिल्ली हुँदै साउन ३ गते नेपाल आएकी बोलेभियन नागरिक क्लाउडियो नेग्रो साउन २६ गते पक्राउ परेकी थिइन्। उक्त लागूपदार्थ मलेसिया तथा दुबई पुर्‍याउने जिम्मा लिएर एक नाइजेरियन महिला थाइल्यान्ड हुँदै नेपाल आएकी थिइन्। उनी पनि साउन २५ गते नै पक्राउ परेकी थिइन्। 

गत जेठ १५ मा चिनियाँ नागरिक २१ वर्षीय चुन मन हो तीन किलो एक सय ७७ ग्राम कोकिनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे। हङकङ पुर्‍याउने तयारीमा रहेको उक्त कोकिन जेठ १४ गते बोलेभियन महिला इलेना गोन्जालिज तिरादोले चुनलाई हस्तान्तरण गरेकी थिइन्।

यी घटनाका आधारमा केही वर्षयता नेपाललाई ट्रान्जिट बनाएर कोकिनको व्यापार फस्टाइरहेको प्रहरी बुझाइ छ।

ब्युरोको तथ्यांकअनुसार सन् २०१२ देखियता नेपाललाई ट्रान्जिट बनाउँदै ठूलो परिमाणमा लागूऔषध कोकिन बेचबिखन गर्ने विभिन्न १० घटनामा विदेशी नागरिकहरू पक्राउ परेका छन्। कोकिनसहित पक्राउ पर्ने धेरैमध्ये ब्राजिल, बोलेभिया र पेरूका नागरिक छन्। प्रहरीले चार वर्ष अवधिमा ब्राजिलबाट नेपाल हुँदै युरोपतर्फ कोकिन पठाउन खोज्ने पाँच वटा प्रयास असफल बनाएको छ। यी घटनामा २० किलो पाँच सय ७७ ग्राम कोकिन बरामद भएको छ।

प्रहरीले सन् २०१२ यता बोलेभिया हुँदै नेपाल भित्रिएको करिब आठ किलो कोकिन नियन्त्रणमा लिएको छ। यस अवधिमा पेरू हुँदै नेपाल भित्रिएको तीन किलो आठ सय ३० ग्राम कोकिन नियन्त्रणमा लिएको ब्युरोको तथ्यांक छ। प्रहरीले हालसम्म नियन्त्रणमा लिएको कोकिनको मूल्य करोडांै छ।

ल्ाागूऔषध नियन्त्रण ब्युरोका प्रहरी निरीक्षक अनिल ठकुरीका अनुसार विभिन्न मुलुकबाट नेपाल भित्रने कोकिनको कारोबार नेपालमा भन्दा पनि युरोपेली मुलुकहरूमा जाने गरेको छ। महँगो मूल्य पर्ने कोकिनको प्रयोगकर्ता नेपालमा निकै कम रहेको ठकुरीको भनाइ छ। उनी भन्छन्, 'कोकिन निकै महँगो हुन्छ, त्यसलै सामान्य नेपालीले यसलाई किन्न सक्दैनन्।' त्रिभुवन  विमानस्थलको अराइभल सुरक्षा जाँच फितलो भएकाले लागूऔषध कारोबारीका लागि सहज गन्तव्य बनेको ब्युरोका उच्च अधिकारीको दाबी छ।

भारतसँगको खुला सिमाना तथा लागूऔषध कारोबारीलाई दिइने सजाय पनि कम भएकाले नेपाल ट्रान्जिट बनिरहेको ब्युरोले जनाएको छ। ब्युरोले अन्तर्राष्ट्रिय कारोबारीबाट  विशेष सूचनाका आधारमा तथा विमानस्थलमा जाँचका क्रममा नियन्त्रणमा लिने गरेको छ। 

पछिल्लो समय कोकिनसहित पक्राउ पर्नेमध्ये अधिकांश बोलेभियन महिला छन्। पक्राउ परेकाहरूको आर्थिक अवस्था कमजोर रहेको पाइएको प्रहरी निरीक्षक ठकुरीले बताए।

प्रकाशित: १७ माघ २०७३ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App