६ वैशाख २०८१ बिहीबार
राजनीति

फेरि भाका सारे प्रधानमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेको बताएका छन्। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग आइतबार भएको भेटमा प्रधानमन्त्री दाहालले सरकार छिट्टै निर्वाचन घोषणा तयारीमा रहेको जानकारी गराउँदै आयोगलाई पनि आफ्नो काम थाल्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री दाहालले गत साता प्रमुख आयुक्तसँगको भेटमा जेठ १५ सम्म निर्वाचन गर्नेगरी माघ १५ भित्र मिति घोषणा र आवश्यक कानुन निर्माण गर्ने जानकारी गराएका थिए। प्रधानमन्त्री दाहालले आफूले तोकेको माघ १५ सम्मको समयसीमाभित्र चुनाव घोषणा गर्न नसकेपछि पुनः प्रमुख आयुक्तलाई भेटेर उक्त जानकारी गराएका हुन्।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार प्रमुख आयुक्त यादव र  प्रधानमन्त्री दाहालबीचको भेटमा निर्वाचन विषयमा छलफल भएको थियो। उनका अनुसार भेटमा निर्वाचन कानुन निर्माण, मिति घोषणा हुँदानहुँदाका जटिलता र निर्वाचनका प्राथमिकता विषयमा कुराकानी भएको हो।  प्रधानमन्त्री दाहालले छिटै स्थानीय तह निर्वाचन मिति घोषणा हुने भन्दै तयारीमा जुट्न आयोगलाई आग्रह गरेका थिए।

प्रमुख निर्वाचन आयुक्त यादवले फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउन लागिएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए।

सरकारले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन पनि कार्यान्वयनमा ल्याउन सकेको छैन। आयोगले तीन साताअघि प्रधानमन्त्रीको उपस्थितिमा संघीय मामिला तथाा स्थानीय विकासमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदन गत शुक्रबार मन्त्रिपरिषद् पुगे पनि राजनीतिक सहमति जुटाएर मात्रै कार्यान्वयन गर्ने भन्दै प्रधानमन्त्रीले रोकिराखेका छन्।

प्रकाशित: १७ माघ २०७३ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App