७ वैशाख २०८१ शुक्रबार
राजनीति

लेखा समितिको नेतृत्व चयन आज

काठमाडौं- संसदको सार्वजनिक लेखा समितिमो सभापति छान्न सोमबार निर्वाचन हुने भएको छ। लेखा समिति सात महिनादेखि सभापतिविहीन छ। समितिमा सभापति जनार्दन शर्मा गत साउनमा ऊर्जामन्त्री भएपछि सो पद खाली भएको हो।

समितिको सभापतिका लागि प्रतिपक्षी एमाले र सत्ता पक्ष माओवादी केन्द्र– काग्रेस गठबन्धनले अलगअलग उम्मेदवारी दर्ता गराएका छन्। एमालेले पशुपति चौलागाईंलाई अघि सारेको छ। कांग्रेस–माओवादीले डोरप्रसाद उपाध्यायलाई अघि सारेका छन्।

सार्वजनिक निकाय र संगठित संस्थामा हुने अनियमिततामा छानबिन गर्ने अधिकारी लेखा समितिले पाएको छ।

अहिले संसद्का दुई समिति सभापतिविहीन छन्। पहिलो चरणमा लेखा समितिको निर्वाचन गर्न लागिएको हो। यसपछि महाभियोग सिफारिस समितिको सभापति चयन प्रक्रिया अघि बढाइने छ।  

संसद्को कार्यसञ्चालन नियमावलीअनुसार लेखा समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु भएको बढीमा एक महिनामा सभापति चयन भइसक्नुपर्छ। करिब एक महिनाअघि ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको सभापतित्वमा समितिको बैठक बसेपछि सभामुख ओनसरी घर्तीको निर्वाचन प्रक्रिया अघि बढाइएको हो। यसअघि तय भएको निर्वाचन कार्यक्रम अन्तिम चरणमा आएर स्थगित भएको थियो।

लेखा समितिमा नेपाली कांग्रेस र एमालेका १५/१५ सदस्य छन् भने माओवादी केन्द्रका ७ सदस्य छन्। राप्रपाका दुई र अन्य साना दलका १० सदस्य छन्। लेखा समिति ५१ सदस्य हुने व्यवस्था छ। नेतृत्व पाउन २६ मत ल्याउनुपर्ने हुन्छ।

लेखा समितिमा प्रतिपक्षी दलको दाबी लाग्ने परम्परा छ। यसअघि तत्कालीन सभापति शर्मा पनि प्रतिपक्षी दलका तर्फबाट सभापति भएका थिए।  अन्य समितिमा सभापतिको दलीय भागबण्डा नमिलेको अवस्थामा शर्मा प्रतिपक्षको तर्फबाट सभापति भएका थिए। तर, शर्माअघि लेखा समिति सभापति रहेका कांग्रेसका रामकृष्ण यादवले पार्टी सरकारमा सामेल हुँदा पनि सो पद भने छाडेका थिएनन्।  माओवादीले यादवको नजिर देखाएर सभापतिमा दाबी गरेको हो।

महाभियोग सिफारिस समितिको सभापति पनि अब केही दिनमै चयन हुने सचिवालयले जनाएको छ। ११ सदस्यीय यो समिति गत कात्तिक ३ गते गठन भएको हो।

प्रकाशित: १७ माघ २०७३ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App