coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काल हो कि खाडल?

काठमाडौं- पुस ८ गते सर्वज्ञ मानन्धर चाबहिलबाट जोरपाटीतर्फ जाँदै थिए। बा६७प ८२२३ नम्बरको मोटरसाइकलमा सवार मानन्धर दुर्घटनामा परेर गम्भीर घाइते भए।

– त्रिपुरेश्वर–कंलकी सडक खण्डमा बा७१प ४३२१ नम्बरको मोटरसाइकलमा सवार मीनप्रसाद तिमिल्सेना दुर्घटनामा परे। उनले चलाएको मोटरसाइकलले सोही दिशामा गुडिरहेको बा९च १३९७ नम्बरको कारलाई ठक्कर दियो। तिमिल्सेना घाइते भए।

– पुस २३ गते ललितपुर, कोपुण्डोलमा राकेश शाह साइकल दुर्घटनामा परे। गम्भीर घाइते भई अस्पताल पुर्‍याइएका साहको उपचार क्रममा निधन भयो।

– मंसिर १८ गते बा४६प ४३८ नम्बरको मोटरसाइकलमा सवार निर्मला विक दुर्घटनामा परिन्। नैकापमा भएको दुघर्टनामा उनको ज्यान गयो।

– बल्खु सडकमा कात्तिक २४ गते राजाराम बिडारी मोटरसाइकल दुर्घटनामा घाइते भए, पछाडि बसेकी पत्नीको ज्यानै गयो।

यी सबै दुर्घटनाको कारण एउटै हो– राजधानीका जीर्ण सडक। यी दुर्घटना सडकका खाल्डा छल्न खोज्दा, पल्टिँदा, अनियन्त्रित हुँदा र चिप्लिँदा भएका हुन्। तीव्र गतिमा रहेका सवारी खाल्डामा परेर पल्टने र पछाडि आइरहेको अर्को सवारीले ठक्कर दिँदा ठूलो दुर्घटना हुने गरेको छ। राजधानीका सडकमा पछिल्लो समय यस्ता घटना दैनिकजसो हुने गरेका छन्।

‘सडकका खाल्डाकै कारण दुर्घटना भइरहेको भन्न मिल्दैन’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लले भने, ‘अधिकांश सडक दुर्घटनामा सडकको बिग्रँदो अवस्था भने जोडिने गरेको छ।’

उपत्यकामा सडक दुर्घटना दर भने घट्दै गएको उनले सुनाए। सडकको अवस्था नाजुक रहको र चालकले सावधानी नअपनाउँदा दुर्घटना बढेको भने उनी स्विकार्छन्। सडक अवस्था राम्रो भए दुर्घटना दर अझ कम हुने प्रवक्ता मल्लको आँकलन छ।

त्रिपुरेश्वरमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी कृष्णकुमार कटवाल सडकमा रहेका खाल्डाका कारण साना दुर्घटना भइरहेको बताउँछन्। ‘ज्यानै जाने घटना कमै हुन्छन्,’ उनले भने, ‘मोटरसाइकल लड्ने, पल्टिने, ठोकिनेजस्ता  दुर्घटना बाक्लै भइरहेका छन्।’

बौद्धमा ड्युटीमा खटिएका  एक ट्राफिक प्रहरीले भने, ‘ड्युटीमा रहँदा चारपाँचवटा लडेका मोटरसाइकल नउठाएको दिनै हुँदैन।’ ठूला दुर्घटना भने खासै नहुने उनी बताउँछन्। खाल्डामा सबैभन्दा बढी मोटरसाइकल र टेम्पो पर्ने गरेको उनले सुनाए।

प्रवक्ता मल्लका अनुसार सडकका खाल्डाका कारण भइरहेका दुर्घटना र सवारी आवागमनमा भएको व्यवधानबारे सरोकारवालालाई जानकारी गराइए पनि सुनुवाइ भएन।

‘हामीले सडक अवस्थाबारे सरोकारवाला निकायलाई नियमित रूपमा जानकारी गराउँदै आएका छौं’, मल्लले भने, ‘तर ती निकाय सुने पनि नसुनेझैं गरिरहेका छन्।’

राजधानीका सडक निर्माण र मर्मत गर्ने निकाय सडक विभाग र काठमाडौं महानगरपालिका हुन्। यी दुई निकायको गैरजिम्मेवारीले उपत्यकाका सडक प्रयोगकर्ताले सास्ती भोग्नुपरेको छ।

उपत्यकामा आठ मिटरभन्दा बढी चौंडाका सडक निर्माणको जिम्मेवारी सडक विभाग र आठ मिटरभन्दा कम चौंडाका सडकको जिम्मेवारी काठमाडौं महानगरपालिकाको हो। ‘सडकमा खाल्डा छन्, त्यो हामीले बुझेका छौं,’ सडक विभागका प्रवक्ता दयाकान्त झाले भने, ‘कतै सडक विस्तार भइरहेका छन्, कतै आयोजना कार्यान्वयन निर्देशनालय (मेलम्ची खानेपानी–२) ले पाइप बिछ्याउने काम गरिरहेको छ।’ उनका अनुसार मेलम्ची आयोजनाले खनेको ठाउँमा आफैंले मर्मत गर्दै छ भने सडकको रूप नै फेरिने गरी सडक विस्तार हुँदै छ।’ दुवैमा ठेक्का लागेर काम भइरहेकाले विभागले मर्मत गर्न नमिल्ने झाले बताए।  सडक विस्तार भइरहेका र मेलम्ची आयोजनाको काम नभएका सडक भने विभागले नियमित मर्मत गरिरहेको झाले दाबी गरे।

महानगरपालिकाले पनि सडक मर्मत चाँडै थाल्ने जनाएको छ। ‘महानगरभित्रका सडक त्यति जीर्ण छैनन्,’ महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागका प्रमुख उत्तरकुमार रेग्मीले भने, ‘पाँच वर्षअघि र अहिलेका सडकको अवस्थामा धेरै सुधार आएको छ। हामी अझै सुधारका लागि लागिपरेका छौं।’ उनका अनुसार महानगरले सडक मर्मतसम्भारका लागि ८ करोड ५० लाख रुपैयाँ छुट्ट्याएको छ।

‘यसपटकदेखि सडक भत्किएको ठाउँमा तुरुन्तै मर्मत गर्न बजेट व्यवस्था गरेका छौं,’ रेग्मीले भने, ‘ठेक्का प्रक्रियामा गइसकेकाले फागुन पहिलो सातादेखि मर्मत कार्य थालिनेछ।’ उनले फागुनपछि महानगरभित्रका सडकमा देखिएका खाल्डा तुरुन्तै मर्मत गरिने दाबी गरे। ‘यसअघि मर्मतका लागि भनेर छुट्टै बजेट व्यवस्था थिएन,’ रेग्मीले भने, ‘कालोपत्रे उप्किएर खाल्डा बन्दा समस्या भएको गुनासो बढेपछि बजेट व्यवस्था गरेका हौं।’

महानगरभित्रका सडकमा भएका खाल्डाको जानकारी लिन वडा कार्यालय परिचालन गरिने उनले बताए। काठमाडौंै महानगरपालिकाले सडक मर्मत शीर्षकमा आगामी आर्थिक वर्षका लागि १० करोड बजेट प्रस्ताव गरेको छ।

प्रकाशित: १७ माघ २०७३ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App