५ वैशाख २०८१ बुधबार
समाज

कोरला नाकाः ढोकामै आयो चीन, नेपाल गयल !

हिम शृङ्खलाहरुकै उचाइमा रहेको समथर मरुभूमिको बीचमा सिमेन्टको एउटा सीमास्तम्भ ठडिएको छ। २४ नम्बरको यही स्तम्भले चीन–नेपालको सीमा छुट्याउँछ र यसैलाई भनिन्छ– कोरला नाका।

दशगजा उता एक मिटर समेत नछाडेर चीनले आफ्नो सीमा रक्षाकालागि फलामे गेट बनाएको छ। गेट छेउ दायाँ–बायाँ फलामकै पिलर गाडेर मान्छेभन्दा अग्लो उचाइसम्म काँडेतारले घेरिएको छ। आँखाले नभ्याउनेगरी टाढासम्म कयौं किलोमिटरमा तारबार गरेर चीनले आफ्नो सीमाक्षेत्र कब्जामा राखेको छ। 

४,६५० मिटर उचाइमा रहेर पनि यतिबेला यहाँ हिउँ देखिँदैन। बलौटे खैरो माटोले ढाकिएको फराकिलो हरियालीशून्य यो मैदानमा नेपाल–चीन दुबैतर्फ मानव बस्ती त छैन तर चिनिया सुरक्षाकर्मी तैनाथ छन्। यहाँदेखि ३० किलोमिटर टाढा मात्रै नजिकको पहिलो चिनियाँ बजार आउँछ त्यो हो– ढोङ्वासेन। नाकायता २७ किलोमिटरमा छ नेपालतर्फको ठूलो वस्ती–लोमाङ्थाङ।

लोमाङ्थाङदेखि २७ किलोमिटर दूरीमा पर्ने कोरला नाकामा चीनतर्फको चहलपहल देखेपछि नेपालतर्फ भने शून्य लाग्छ। नेपाली मनले आफ्नो राज्यको उपस्थिति खोज्छ। तर भेट्दैन।

कोरला नाका उताको पठार भूमिमा चिनियाँ सुरक्षाकर्मीका गाडी धुलो उडाउँदै कुँदेका देखिन्छन्। नाकादेखि करिव ३ किलोमिटर टाढा चिनियाँ सुरक्षाकर्मीको बेस क्याम्प छ। त्यहाँ दर्जनौं गाडी र उल्लेख्य संख्यामा सुरक्षाकर्मीको चहलपहल देखिन्छ। सोलार प्यानलबाट चल्ने सिसी टिभीको निगरानी छ। हातमा पञ्जा, चश्मा, मास्क र हेल्मेट लगाएर गाडीमा कुँद्ने सुरक्षाकर्मीसँग दुरविन, क्यामेरा र अत्याधुनिक हतियार साथमै रहन्छ।

लोमाङ्थाङदेखि २७ किलोमिटर दूरीमा पर्ने कोरला नाकामा चीनतर्फको चहलपहल देखेपछि नेपालतर्फ भने शून्य लाग्छ। नेपाली मनले आफ्नो राज्यको उपस्थिति खोज्छ। तर भेट्दैन। दशगजा उता एक मिटर समेत नछाडेर चीनले आफ्नो उपस्थिति जनाउँदा नेपालतर्फ भने १० किलोमिटर यतामात्रै राज्यको उपस्थिति देखिन्छ। कोरला नाकादेखि १० किलोमिटरयता छोसेरमा सामान्य भौतिक संरचनामा मुस्ताङ छोटी भन्सार र इलाका प्रहरी कार्यालय छ।

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी र देशको रक्षार्थ खटिने नेपाली सेनाको उपस्थिति कोरला नाकादेखि एकसय किलोमिटर यता मुस्ताङ सदरमुकाम जोमसोममा मात्रै छ। चीनसँग मोटर बाटोले छोएका तीनवटा मात्रै नाका छन् र तीन मध्येको एक यो कोरला नाकामा सवारी साधन र व्यापारिक चहलपहल भैसक्दासम्म सुरक्षा उपस्थिति भने छैन। २४ नम्बरको त्यो पिलर नहुँदो हो त नेपालतर्फ सीमा संकेतको अर्को कुनै छनक भेटिदैन।

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी र देशको रक्षार्थ खटिने नेपाली सेनाको उपस्थिति कोरला नाकादेखि एकसय किलोमिटर यता मुस्ताङ सदरमुकाम जोमसोममा मात्रै छ।

प्रहरीले भत्काए जिविसको स्वागत द्वार
सीमा स्तम्भदेखि करिब ५ किलोमिटरयता लोमाङ्थाङ–कोरला सडक खण्डमा जिविस मुस्ताङले सिमेन्टको प्रवेशद्वार बनायो र लेख्यो– नेपालमा स्वागत छ। दशगजा छेउ उभिनुपर्ने प्रवेशद्वार ५ किलोमिटरयता बनाएको भन्दै स्थानीयले आपत्ति जनाए। नेपालतर्फका सुरक्षाकर्मी पुगेर त्यो प्रवेशद्वार भत्काइदिए। दश गजा छेउमा अर्को द्वार बन्ने कुनै छनक छैन।

नाकासम्म सडक पिच गर्दै चीनः
फलामे गेट पार गरेर चीनतर्फ छिर्नासाथ सडकको स्तर बेग्लै देखिन्छ। जमिन सतहबाट केही फिट माथिसम्म माटो भरेर पिच गर्न तयार छ– सडक। पछिल्लो तीनमहिनायता चीनतर्फको सडक स्तरोन्नत गर्ने काम चलिरहेको बताउँछन् लोमाङ्थाङ गाविसका सचिव ज्ञानेन्द्र बिष्ट।

सडक छेउमा लोडर र डोजरहरु देखिन्छन्। बिष्टकाअनुसार छिट्टै चीनले कोरला नाकासम्म कालोपत्रे बिच्याउँदैछ।

चीन अग्रसर नेपाल सुस्तः
नाकाको चहलपहलले देखाउँछ चीन नेपालसँगको सम्बन्ध विस्तारमा इच्छुक छ। सीमा क्षेत्रका चिनियाँ र नेपाली समुदाय पनि नाका सुचारु भएको हेर्न ब्यग्र प्रतिक्षामा देखिन्छन्।

कोरला नाका हुँदै नेपालसँग सम्बन्ध विस्तारका लागि चीनले आफ्नो पूर्व तयारी थालेको महसुस हुन्छ। 

पछिल्ला केही महिनायता नाकामा चीनले बढाएको सक्रियता, सुरक्षा पोष्टको बढोत्तरी, भौतिक संरचनाको निर्माण, सडक विस्तार र स्तरोन्नति, सोलार प्यानल र त्यसबाट चलेका सिसि क्यामेराको निगरानि, सीमा क्षेत्रका द्विदेशीय व्यापारी-व्यावसायीबीचको बढ्दो सम्बन्ध र नेपाली–चिनियाँ अधिकारीबीचका पछिल्ला छलफल र बैठकहरु यसका प्रमाण हुन्।

पछिल्ला यी सम्बन्ध विस्तारका कडिहरुले नेपालतर्फको चिनियाँ उत्सुक्ता प्रष्ट्याउँछ। तर चीन उत्तिकै सतर्क देखिन्छ। कोरला नाकामा लागेको नेपाल–चीन व्यापार मेलाको समापनमा सहभागी हुन आएका एकजना चिनियाँ अधिकारीले ठट्यौली शैलीमा नेपाली टोलीसामु आफ्नो चासो खुलाए ‘हामी नेपालसँग हात मिलाउन तयार छौं, तर हात सफा हुनुपर्छ।’ उनले कोरला नाकादेखि करिब ५ किलोमिटर उता चिनियाँ भूमिमा नेपाली टोलीको स्वागत मात्रै गरेनन्, आफ्नो चासोमिश्रित व्यंग्य पनि गरे ‘नेपाली पाहुनालाई बोलाउँदा नबोलाएका पाहुना पनि मिसिएर आउने पो हुन् कि?’

काठमाडौंका सभा–समारोहमा गरिने राजनीतिक भाषणबाजी सुनेकै भरमा चिनियाँ नाका सुचारु गर्न नेपालको सत्ता नेतृत्व अग्रसर छ भन्ने ठान्नु भ्रम हुनेछ। पछिल्लो तीन महिनायता कोरला नाकामा चीनले बढाएको सक्रियताले चीन काममा विश्वाँस गरेर अघि बढ्दैछ भन्ने झल्को दिन्छ। त्यसको ठिक विपरित नाकायता नेपाली भूमिमा देखिने हाम्रो राज्यको रिक्तता र चिनियाँ नाका खोल्नेबारे काठमाडौंमा पोखिने राजनीतिक हाँकले आपसमा तालमेल खाएको कुनै प्रमण फेला परेन।

भाषा र रहनसहन मिल्ने लोमाङ्थाङ र आसपासका नेपालीसमेत बर्षदिनमा लाग्ने व्यापार मेला कुरेर त्यही अवधिमा कोरला नाका छिर्न पाउँछन्। मेलाको यो संयोगमा कोरला नाका पुगेर चिनिया अधिकारीहरुको अनुमतिमा नागरिक शो का लागि दृश्य खिच्ने हामीलाई दुर्लभ मौका जुर्यो। 

प्रस्तुत छ कोरला नाकाको यथार्थ पस्कने यो विशेष नागरिक शोः

तस्बिरमा कोरला नाकाको चहलपहलः (सबै तस्बिरः टेकनारायण भट्टराई)

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App