७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘कर्जाको ब्याज बढ्दा संकट’

पोखरा– बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर बढाउँदा लगानीकर्ता मारमा परेको व्यवसायीले गुनासो गरेका छन् । कर्जाको ब्याजदर बढ्दा चलिरहेको व्यवसाय आर्थिक संकटमा पर्न थालेको उनीहरुको भनाइ छ ।

तरलता (तत्काल लगानीयोग्य रकम) कम हुँदै गएर ठूलो आकारको ऋण दिन नसक्ने अवस्था आएपछि वित्तीय संस्थाले निक्षेप र कर्जा दुवैमा ब्याज बढाउँदै गएका छन् । त्यसले लगानीकर्ता जोखिममा परेको व्यावसायीको गुनासो छ । कर्जाको ब्याजदर बढ्दा अर्थतन्त्र उल्टो बाटोमा जाने भन्दै यहाँका व्यवासायीले आपत्ति जनाएका छन् ।

लगातार जसो ब्याज बढ्दा व्यवसायीले खर्च धान्न नसकेको राष्ट्र बैंक पदाधिकारीसमक्ष व्यवसायीले गुनासो पोखे । पोखरा उद्योग वाणिज्य संघले राष्ट्र बैंक पदाधिकारीसँग गरेको छलफलमा व्यवसायीले कर्जामा ब्याज बढाउँदा निर्माणाधिन आयोजनाको लागत बढ्न गई समग्र अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारेको गुनासो गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले वित्तीय संस्थाले कर्जाको ब्याजदर बढाउँदा निजी क्षेत्र अन्योलग्रस्त बनेको बताए ।

‘बैंकबाट आउने टेलिफोन र म्यासेजले उद्योगी÷व्यवसायीको निद्रा लुटेको छ । स्वदेशमै केही गरौं भन्ने भावनामाथि चिसोपानी खन्याइएको छ,’ उनले भने, ‘घरघरमा निक्षेप माग्न र ऋण दिन पुग्ने बैंक तथा वित्तीय संस्थाको मनोमानीले अहिले निजी क्षेत्र आक्रान्त बनेको छ । हिजोका दिनमा सामन्तले ऋणमा ब्याज अनि ब्याजमा स्याज जोडेजस्तै यतिबेला वित्तीय संस्थाले ऋणीलाई त्यस्तै व्यवहार गरेका छन् ।’

निक्षेपमा झन्डै दोब्बर ब्याजदर बढाइएकाले कर्जामा पनि ब्याज बढ्नु स्वाभाविक भएको तर्कसहित वित्तीय संस्थाले पुरानो ऋणमा एक्कासि ब्याज थोपरेको व्यवसायीको भनाइ छ । ‘एकतर्फी रुपले ब्याज बढाइनु भनेको ऋणीलाई अप्ठेरोमा पारेर ‘मृत्युपत्रमा’ हस्ताक्षर गराउनु हो,’ अध्यक्ष पालिखेले भने, ‘वित्तीय क्षेत्रको यो प्रयास राष्ट्रिय उद्यमशीलता माथिको निर्मम प्रहार हो ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले कर्जामा ब्याज बढाएर वित्तीय संस्थाले देशको अर्थतन्त्रमा नकारात्मक भूमिका खेलेको बताए । वित्तीय संस्थाले संकलित निक्षेपभन्दा बढी कर्जा लगानी गर्ने अवस्था आउँदा समेत नियमनकारी निकाय राष्ट्र बैंक मौन बसेकाले यो अवस्था आएको उनले बताए । ‘राष्ट्र बैंकले निर्देशन दिएर मात्र पुग्दैन, नियमन गर्नुपर्छ,’ उनले भने, ‘बेलैमा सजग गराएको भए वित्तीय संस्था लगानीप्रति सजग बन्ने थिए ।’

पर्यटन व्यवसायी सुन्दरकुमार श्रेष्ठले व्यवसायीले लिएको ऋण नयाँ हो वा पुरानो भन्ने अन्योल भएको बताए । ‘धेरै समय अघिको ऋणमा समेत अहिले ब्याजदर बढ्नु आपत्तिजनक छ,’ उनले भने, ‘बैंकले जनताको पैसा चलाएर नाफा कमाउनाले उत्पादनशीलता क्षेत्रमा लगानी बढ्न सकेन ।’

संघका निवर्तमान अध्यक्ष बिन्दुकुमार थापाले कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ८०–२० हुने भएकाले वित्तीय संस्थाले निक्षेपको ८० प्रतिशतसम्म लगानी गर्न पाउने दायरालाई केही फराक बनाएर भए पनि समस्या समाधान गर्न सुझाए । राष्ट्र बैंकको नियमअनुसार निक्षेपको ८० प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न पाइँदैन । तर, लगानीको अवस्था नाजुक भएकाले ८० प्रतिशतको दायरालाई केही अवधिसम्मका लागि बढाएर भए पनि समस्या समाधान गर्नुपर्ने थापाको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले वित्तीय संस्थाले भनेजस्तो तरलता अभाव नरहेको दाबी गरे । राष्ट्र बैंकले लगानीको समस्या समाधान गर्नका लागि केही दिनअघि २० अर्ब रुपैयाँको रिपो जारी गरेको पनि उनले बताए । ‘जारी गरेको २० अर्बमध्ये करिब १८ अर्ब रुपैयाँ गएको छ, त्यसैले अहिले तरलता समस्या होइन,’ उनले भने, ‘तरलता अभाव रहेको भए राष्ट्र बैंकको रिपोमा माग बढ्नुपर्ने हो । तर जारी भए अनुसार माग छैन ।’

पौडेलका अनुसार ठूला वित्तीय संस्थाको लगानी ८० प्रतिशत हाराहारीमा पुगेको छ । ती वित्तीय संस्था थप लगानी गर्न सक्ने अवस्थामा नरहेकोले अहिले तरलताको चर्चा बढी भएको उनले बताए । ‘८० प्रतिशत लगानीको सीमामा बाँधिन थालेका वित्तीय संस्थाले अब निक्षेप बढाउनुको विकल्प छैन । त्यसैगरी अनुत्पादक क्षेत्रको लगानी रोक्नुपर्छ,’ पौडेलले भने, ‘चालु आर्थिक वर्षको पाँच महिनाको कर्जा बढाई स्वभाविक थिएन । त्यसले अहिले समस्या पारेको हो । यसलाई तरलता अभाव भन्न मिल्दैन ।’

उनका अनुसार पाँच महिनाको अवधिमा १ सय १४ अर्ब निक्षेप र १ सय ५८ अर्ब कर्जा बढेको छ । निक्षेप वृद्धिदर ५.७ र कर्जाको वृद्धि ९.६ प्रतिशत पुगेको पौडेलले बताए । अनुत्पादक क्षेत्र मानिएका घरजग्गा, गाडीमा बढी कर्जा गएकाले त्यसलाई कम गर्नुको विकल्प नरहेको उनले बताए । ‘८० प्रतिशतको दायरा तोक्दा त यो हालत भएको छ भने बढाएर ८५ वा ९० प्रतिशत पु¥याउने हो भने विष्फोट हुन सक्छ,’ प्रवक्ता पौडेलले भने, ‘जोखिम कम गर्न सिडी रेसियो बढाउनु हुन्न ।’ अहिले बैंकहरु सबैभन्दा ठूलो गियरमा चलेको उनको भनाइ छ, ‘त्यहाँभन्दा बढीको गियर लगाउने अवस्था छैन,’ उनले भने, ‘यसको कारक पनि उनीहरु नै हुन् ।’

अहिलेको ब्याजदर वृद्धिको समस्या केही महिनाभित्र समाधान हुने उनले बताए । ‘अहिलेको अवस्था सधैं आउँदैन, २–४ महिनामा समाधान हुन्छ,’ उनले भने, ‘अहिले बढेको ब्याजदर १–२ वर्षका लागि होइन । यस्तो अवस्था सधैं आउँछ । यो पटक अलि चर्काे भएको हो ।’
 

प्रकाशित: १६ माघ २०७३ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App