coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सम्पत्ति शुद्धीकरण आजको आवस्यकताः गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विश्वव्यापी ऐन तथा नियम मान्नु बैंक तथा वित्तीय संस्थाका लागि आवस्यक रहेको बताएका छन् ।  

नेपाल बैंकिङ इन्स्टिच्युट (एनबिआई)ले शुक्रबार काठमाडोैंमा आयोजना गरेको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी एकदिने कार्यशालामा बोल्दै उनले नेपालजस्ता गरिब मुलुकले पनि सम्पत्ति शुद्धीकरण ऐन तथा नियम मान्नु हाम्रो कुनै एैच्छिक विषय नभएको बताए । ‘यो आजको संसारकै आवस्यकता हो,’ उनले भने ।

उनका अनुसार न्यून बीजकीकरण, लागु पदार्थ, हातहतियार तथा मानव बेचबिखनका साथै भ्रष्टाचारमार्फत कमाएको पैसा विभिन्न अवैध आतंकवादी क्रियाकलापमा प्रयोग भइरहेको विश्वव्यापी सन्दर्भमा नेपालका बैंक पनि चनाखो हुनुपर्छ । ‘यस्ता गलत क्रियाकलापबाट कमाएको अवैध पैसा आफ्नो च्यानलमार्फत शुद्धीकरण हुनसक्ने खताराप्रति सचेत हुनु आवस्यक छ,’ उनले भने ।  

सम्पत्ति शुद्धीकरण निवारणको विषयमा राजनीतिज्ञदेखि सरोकारवालालाई समेत कम जानकारी रहेको भन्दै उनले नेपालमा पैसा आउन किन रोक्ने भन्ने प्रश्न उठ्ने गरेको बताए । तर जस्तो पायो त्यस्तै पैसा आउन दिँदा त्यसले बैक तथा वित्तीय संथामात्र होइन अर्थतन्त्र नै डामाडोल हुन सक्ने बताए । सम्पत्ति शुद्धीकरण निवारणका बारेमा जानकारीको अभावले पनि अन्तर्राष्ट्रिय रुपमा नै गम्भीर समस्या आउन सक्ने भन्दै उनले सचेत हुनुपर्नेमा पनि जोड दिए ।

‘सभासदहरु नै बाहिरबाट स्रोत नखुलेको पैसा राष्ट्र बैंकले रोकेको सन्दर्भमा गरिब देशमा आउने पैसा किन रोकेको होला भन्नुहुन्छ,’ उनले भने, ‘स्रोत नखुलेको पैसा जसरी आउछ त्यसैगरी नै जान्छ र अर्थतन्त्रमा ठूलो समस्या आउँछ भनेर उहाँहरुलाई कन्भिन्स गर्नुपर्ने अवस्था छ ।’

ठूलो परिमाणको पैसा एकैपटक प्रणालीबाट बाहिरिने हुँदा बैंक तथा वित्तीय संस्था र समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्नेतर्फ सबैले समयमा नै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले बैंक तथा वित्तीय संस्थाले मानव संशाधन तथा प्रविधिमा खर्च गर्नुपर्नेमा जोड दिए ।

यस्तै, एनबिआईका अध्यक्ष तथा बैंक अफ काठमान्डु लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले हाल बैंकहरुमा लगानीयोग्य रकम अभाव भएकाले निक्षेप खोजिरहेको समयमा समस्या प¥यो भन्दैमा जस्तो पायो त्यस्तै निक्षेप लिन नहुने पनि बताए ।

उक्त अवसरमा फिन्टेलिक्ट र एनबिआईले नेपालका बैंक तथा वित्तीय संस्थाको सम्पत्ति शुद्धीकरणका विषयमा नियम पालना, क्षमता लगायत विषयमा गरेको अध्ययन पनि सार्वजनिक गरेको थियो । अध्ययनले बैंक तथा वित्तीय संस्था नियम पालना, सुशासन र प्रविधिको दृष्टिकोणले निकै पछाडि रहेको देखाएको छ ।

फिन्टेलिक्टका प्रमुख कार्यकारी अधिकृत शिरिष पाठकले अध्ययनको बारेमा प्रस्तुति दिएको उक्त कार्यशालामा विभिन्न बैंकका १ सय ५० प्रतिनिधिले भाग लिएका थिए ।

केवाइसी फारम सहज बनाइने
सो अवसरमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले बैंक तथा वित्तीय संस्थाले भराउने ग्राहक परिचय (केवाइसी) फारम धेरै नै लामो तथा झन्झटिलो भएको गुनासो आएको बताए । ग्राहकलाई फारम भर्न दुःख नहुने गरी सहज तथा छोटो फारम बनाउन केन्द्रीय बैंकले पहल गर्ने बताउँदै उनले सर्वसाधारणलाई जति सहज बनायो उती धेरै ग्राहक बढ्ने बताए । हालको केवाइसी फारम राष्ट्र बैंककै निर्देशनमा ल्याइएको हो । तर, फारम लामो र यसमा धेरै सूचना तथा जानकारी भर्नुपर्ने हुनाले साधारण ग्रामीण ग्राहकका लागि भने अप्ठ्यारो भएको उनले बताए ।

प्रकाशित: १६ माघ २०७३ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App