coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निगमले सञ्चय कोषसँगै २५ अर्ब ऋण लिने

काठमाडौं– नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) जहाज खरिदका लागि आवश्यक २५ अर्ब रुपैयाँबराबरको ऋण सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषबाटै लिने भएको छ ।

निगम व्यवस्थापनका अधिकारी तथा सञ्चालक समिति सदस्यहरू सञ्चय कोषबाटै ऋण लिनुपर्नेमा लगभग सहमत छन् । यसबारे विस्तृतमा छलफल गर्न माघ १७ गते (सोमबार) निगम सञ्चालक समितिको बैठक बस्दै छ ।

सञ्चय कोष, नागरिक लगानी कोष, हिमालयन, इन्भेस्टमेन्ट, नबिल, राष्ट्रिय वाणिज्य, नेपाल बैंक र विदेशी वित्तीय संस्थाका ऋण प्रस्तावबारे सोमबार छलफल

‘दुइटा वाइड बडी जहाज किन्न चाहिने २५ अर्ब रुपैयाँ हामी सम्भवतः कर्मचारी सञ्चय कोषबाटै ऋणस्वरूप लिन्छौं,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले शनिबार नागरिकसँग भने, ‘यसबाहेक नागरिक लगानी कोष तथा विभिन्न सरकारी एवं निजी क्षेत्रका ठूला बैंकहरूको प्रस्तावप्रति पनि सकारात्मक नै छौं ।’

उनका अनुसार सोमबार बस्ने सञ्चालक समिति बैठकमा सञ्चय कोष, नागरिक लगानी कोष, निजी क्षेत्रका हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंक तथा सरकारी बैंकहरू राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडबाट आएका ऋण प्रस्तावमाथि छलफल हुनेछ ।

हिमालयन, इन्भेस्टमेन्ट र नबिलले दुइटा वाइड बडी जहाज खरिदका लागि आवश्यक रकम उपलब्ध गराउन निगमलाई लिखित प्रस्ताव पेस गरेका छन् भने राष्ट्रिय वाणिज्य र नेपाल बैंकसँग मौखिक वार्ता भइरहेको कंसाकारले जानकारी दिए ।
सञ्चय कोषले गत भदौ २९ गते वायुसेवा निगमलाई दुईथान वाइड बडी जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँ एक्लै उपलब्ध गराउने प्रस्तावसहित पत्र पठाएको थियो । कोषको प्रस्तावपछि निगमलाई ठूलो परिमाणको रकम व्यवस्था गर्ने झन्झटबाट मुक्ति मिले पनि उसले उपलब्ध गराउने रकमको ब्याजदर कति हुन्छ भन्नेबारे द्विपक्षीय छलफल भने हुन बाँकी छ ।

निगमले लिने ऋणमा सरकारले जमानी बस्ने निर्णय गर्नुअघि नै सञ्चय कोषले ऋण दिने प्रस्ताव गरेको थियो । निगमले लिने २५ अर्ब रुपैयाँबराबर ऋणमा जमानी बस्ने सरकारको निर्णय लगत्तै अर्थ मन्त्रालयले गत असोज ६ गते निगमलाई यससम्बन्धी पत्र पठाएको थियो ।

सञ्चय कोषमात्र नभई निगमलाई उक्त परिमाणबराबरको रकम उपलब्ध गराउन नागरिक लगानी कोषसमेत तयार रहेको छ । यो संस्थासँग पनि निगम व्यवस्थापनले अनौपचारिक छलफल गरिरहेको छ ।

‘कूल ऋणको आधा सञ्चय कोष र आधा नागरिक लगानी कोषबाट लिने बारे पनि बैठकमा छलफल गर्ने छौं,’ महाप्रबन्धक कंसाकारले भने, ‘तर, यसरी आधा–आधा लिँदा प्रक्रिया लामो र झन्झटिलो हुनसक्छ । त्यसकारण सञ्चय कोष एक्लैसँग लिने सम्भावना अतिउच्च छ ।’

अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ) का दरले दुईवटा वाइड बडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले अनुमोदन गरेपछि निगम व्यवस्थापन पैसा जोहो गर्नतिर लागेको छ । जसअनुसार दुई जहाजका लागि निगमले २२ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ तिर्नुपर्ने छ ।

निगमलाई युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका दुईथान वाइड बडी जहाज बिक्री गर्न गत कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए । तीमध्ये एएआर कर्पोरेसनले सबैभन्दा सस्तो मूल्यमा दुईथान वाइड बडी बेच्ने प्रस्ताव गरेको थियो । उसले ‘ब्रान्ड न्यु’ (एक मिनेट पनि नउडेको) जहाज दिने प्रस्ताव गरेको छ ।

‘सञ्चय कोषसँग पहिला पनि ऋण लिएको र ब्याज दर पनि समयसापेक्ष घटाउँदै लगेका कारण यसपालि वाइड बडी जहाजका लागि पनि उसैसँग ऋण लिँदा सहज हुन्छ,’ निगम सञ्चालक समितिका एक सदस्यले भने, ‘कोषसँग वार्ता गरी हाल लिइरहेको ९ प्रतिशतभन्दा पनि कममा लिने प्रयास व्यवस्थापनले गर्नुपर्छ ।’

युरोपका केही वित्तीय संस्थाबाट पनि निगमलाई सस्तो ब्याज दरमा ऋण उपलब्ध गराउने प्रस्ताव आएको छ । निगमका अनुसार प्रस्तावक संस्थाबाट दुईदेखि बढीमा चार वा साढे चार प्रतिशत ब्याजमा ऋण दिने मौखिक प्रस्ताव आएका हुन् ।
निगमले यसअघि एयरबससँग १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका दुईथान जहाज खरिद गर्न सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो । निगम र कोषबीच २०७० असार ४ गते १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो । त्यसबेला कोषले वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको थियो भने चुक्ता अवधि १५ वर्ष राखेको थियो । कोषले सुरुमा १२ प्रतिशत ब्याज दर तोके पनि पहिलो किस्ता चुक्ता गर्दा ११ प्रतिशतमात्र ब्याज लिएको थियो । त्यसपछि अझ सहुलियत दिँदै दोस्रो किस्तादेखि वार्षिक १० प्रतिशतका दरले मात्र ब्याज लिएको थियो ।

हाल त्यसमा पनि घटाउँदै ब्याज दर ९ प्रतिशतमा झारिसकेको छ । निगम र कोषबीचको सम्झौताअनुसार प्रत्येक तीन महिनामा एक पटक गरी वार्षिक चार किस्तामा सावाँ–ब्याज चुक्ता गर्नुपर्छ । १५ वर्षमा ६० किस्ता तिर्नुपर्ने सम्झौता छ ।
निगमका अनुसार पहिलो वाइड बडी आगामी २०७४ मंसिरमा र दोस्रो वाइड बडी त्यही वर्ष फागुन अन्तिमसम्ममा काठमाडौं अवतरण गर्ने पक्कापक्की भएको छ । पुरानो मितिअनुसार भने पहिलो वाइड बडी २०७४ असोजमा र त्यसको ६ महिनापछि २०७५ वैशाखमा दोस्रो वाइड बडी आउने तालिका थियो ।  

निगमले दुईथान वाइड बडी जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ । निगमले खरिद गर्न लागेको वाइड बडी जहाजले एकतर्फी सिधा ९ देखि १० घन्टा ‘नन्स्टप’ उडान गर्न सक्छ ।

 

प्रकाशित: १६ माघ २०७३ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App