८ वैशाख २०८१ शनिबार
खेल

आहा–राराको उपाधि मनाङमर्स्याङ्दीलाई

पोखरा– तीन वर्षअघिको हार बिर्साउने गरि लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबले सहारा क्लबलाई १–० ले हराउँदै आहा– रारा गोल्डकपकको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा कमल श्रेष्ठको गोलमा सहारालाई पारजित गर्दै मनाङले १५ औं संस्करणको उपाधि हात पारेको हो । ३ वर्ष अघिको १२ आंै संस्करणमा सहाराले मनाङ मस्र्याङदीलाई १–० ले हराउँदै उपाधि उचालेको थियो । त्यसको बदला मनाङले यो वर्ष लिएको छ ।

२०५८ को क्याराभान गोल्डकप सहित मनाङले आहा–रारा गोल्डकपमा फाइनल खेलेको यो दशौं पटक हो । १५ औं संस्करणको उपाधि जितेसँगै मनाङले आहा–रारामा पाँच पटक उपाधि जित्न सफल भयो । सविक विजेतासँग मनाङसँग हारेसँगै दोस्रो पटक घरेलु मैदानमा उपाधि उचाल्ने आयोजक साहराको सपना सफल हुन सकेन । साहारा १२ औं संस्करणको विजेता हो ।

खचाखच दर्शकमाझ भएको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७० औं मिनेटमा कमल श्रेष्ठले गरेको गोल नै मनाङलाई उपाधि जिताउन प्रयाप्त रह्यो । कमलले करिब ३० यार्ड टाढाबाट हानेको सशक्त प्रहार सहाराका गोलकिपर सुजीत गुरुङलाई कुनै मौका नदिई गोलमा परिणत भएको थियो ।

विजेता मनाङले ५ लाख १ हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफि र मेडल पुरस्कार जित्यो । उपविजेता सहाराले २ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पायो । मनाङका लागि विजयी गोल गरेका कमल म्यान अफ दी म्याच घोषित भए ।
केही उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा दोस्रोपटक उपाधि घरमै राख्न सहारा असफल बन्यो । ५१ औं मिनेटमा सहाराका अजयी मार्टिन्सले मनाङका सिसोकोलाई छलाउँदै पेनाल्टी एरियाबाट गरेको प्रहार मनाङका गोलकिपर दीनेश थापामगरले उत्कृष्ट बचाउ गरे । रिबाउण्ड भएको बलमा उत्तम गुरुङले गरेको प्रहार क्रसबारमा लागेर फर्कियो ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले पाएको अवसर चुकाउनु नै हारको कारण भएको प्रतिकृया दिए । ‘हामीले निकै राम्रो अवसर पाएका थियौं । तर, गोल हुन सकेन । त्यो अवसर नचुकेको भए खेलको नतिजै फरक आउन सक्थ्यो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘राम्रो खेल्दाखेल्दै पनि पराजित हुनुप¥यो ।’

मनाङले पनि २४ औं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । अफिज ओलाडिपोले सहाराका दुई रक्षकलाई छलाउँदै लगेको बलमा गोल गर्न सकेनन् । उनी वन–भर्सेज–वनको स्थितीमा गोल गर्न चकेका थिए । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले राम्रो खेल्दाखेल्दै पनि गोलका लागि संघर्ष गर्नुपरेको बताए ।
‘सहाराको रणनीति थाहा पाएर मैले पनि हाम्रो रणनीति परिवर्तन गरेको हुँ । तर, आज सहाराले निकै रक्षात्मक खेल्यो । उनीहरुले रक्षात्मक खेलेपछि त्यसलाई चिर्न साइडबाट खेल्दा गोल गर्न समय लाग्यो,’ प्रशिक्षक गुरुङले भने, ‘रक्षात्मक खेलेर जितिन्छ भन्ने प्रशिक्षकको सोचाई होला । तर, सधैं रक्षात्मक खेल्दा त्यही बानी लाग्छ । कमजोर टिमसँग पनि त्यसरी खेल्नुपर्ने हुँदा समस्या आउनसक्छ ।’
प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी सुजीत गुरुङले एकथान स्कुटर पुरस्कार पाए । उत्कृष्ट गोलकिपर पनि सुजीत नै बने । मनाङका कमल उत्कृष्ट रक्षक घोषित भए । मनाङकै सुजल श्रेष्ठ उत्कृष्ट मिडफिल्डर बने । सर्वाधिक बढी गोलकर्ता झापा ११ का कर्ण लिम्बु भए । कर्णले ३ गोल गरेका थिए ।सहाराका शिव सुवेदी उत्कृष्ट स्ट्राइकर घोषित हुदाँ सहारकै किरण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने । फेयर प्लेको उपाधि झापा ११ जित्यो । ५ विधामा उत्कृष्ट हुनेले जनही १५ हजार रुपैयाँ नगद पुरस्कार पाए । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ नगद पुरस्कार जिते ।

दुई कप्तानको संयोग
२०५८ सालमा सहारा एकेडेमी सुरु गर्दा पहिलो ब्याचका खेलाडी थिए, अनिल गुरुङ र विष्णु गुरुङ । अनिल अहिले लक्ष्मीहुण्डाई मनाङमस्र्याङदी क्लवका कप्तान छन् । अनिलका सहपाठी विष्णुले शनिबार आहा–रारा गोल्डकपमा मनाङविरुद्धको फाइनलमा केही बेर सहाराको कप्तानी सम्हाल्ने अवसर पाए ।

७८ औं मिनेटमा सहाराका नियमित कप्तान उत्तम गुरुङको स्थानमा बिके लामा मैदान छिरेका थिए । तर, बिके छिर्दा टोलीको कप्तानी सम्हाल्ने जिम्मा विष्णुले पाए । त्यो बेलासम्म सहारा १–० ले पछि परिसकेको थियो । निकै मिल्ने दुई साथी विपरित टोलीको कप्तानी गर्दै एकअर्का विरुद्ध खेल्नु अनिल र विष्णुका पनि नौलो अवसर बन्यो । तर, दुवैले आफ्नो टिमलाई जिताउन खेलेकाले त्यसै अनुसार जिम्मेवारी निभाएको बताए ।

‘हाम्रो समुहका धेरै खेलाडी अहिले खेल्दैनन । तर आज विष्णु र म कप्तानका रुपमा एकअर्काविरुद्ध खेल्यौं,’ अनिलले भने, ‘यसले एकेडेमीमा संगै खेल्दाको सम्झना दिलायो । तर, एकअर्काविरुद्ध खेलिरहेकाले हामीले त्यही अनुसरको भूमिका निभायौं । अरुबेला निकै मिल्ने साथी हौं । खेलमा विपक्षीलाई हराउनु थियो । हामी  त्यसैमा दत्तचित्त थियौं ।’

अर्का दौतरी विष्णुले पनि अनिलकै जस्तै भाषा बोले । ‘हुन त छोटो अवधिका लागि मात्र मैले कप्तानी लिए । तर सँगसँगै हुर्केको साथीसँग कप्तानी सम्हाल्दै खेल्नु मेरा लागि पनि नौलो थियो,’ विष्णुले भने, ‘हामी आ–आफ्नो जिम्मामा थियौं । अरुबेला जे जसो भएपनि मैदानमा उत्रिएपछि त्यसै अनुसार खेल्नुपर्छ । हामीले पनि त्यही ग¥यौ । हारजीत आफ्नो ठाउँमा छ ।’

 

 

प्रकाशित: १६ माघ २०७३ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App