पोखरा– हाम्रो सन्दर्भमा सबैभन्दा चोटिलो मुद्दा हो, समृद्धि । छिमेकी राष्ट्र चीन र भारत उच्च अंकले आर्थिक वृद्धि गरिरहेका बेला नेपाल भने सार्क राष्ट्रमा गरिब राष्ट्रतिर उन्मुख छ । यो बेला समृद्धिमा चासो रहनु स्वाभाविक हो । पोखरामा जारी नेपाल साहित्य महोत्सव दोस्रो दिनको पहिलो सेसन ‘समृद्धि सपना’ बहसमा केन्द्रित भयो ।
वक्तामा समाजशास्त्री चैतन्य मिश्र थिए भने प्रस्तोतामा पत्रकार सुधीर शर्मा । मिश्रले समृद्धिको मार्गचित्र कोर्न नेताको हात रहने र यसका लागि नेताले इतिहास पढ्नुपर्ने बताए ।
‘काठमाडौं भ्याली एक समय संसारको समृद्ध सहरमध्ये एक थियो । नेताले यो इतिहास राम्ररी बुझेका छैनन्’
‘नेताले इतिहास पढून्,’ मिश्रले नेपाल कुनै समय समृद्ध रहेको दृष्टान्त दिँदै भने, ‘दक्षिण एसिया १२औंदेखि १७औं शताब्दीसम्म आर्थिक केन्द्र थियो । त्यसपछि बिस्तारै त्यो केन्द्र युरोप र पछि अमेरिकातिर स¥यो । काठमाडौं भ्याली एक समय संसारको समृद्ध सहरमध्ये एक थियो । नेताले यो इतिहास राम्ररी बुझेका छैनन् ।’
करिब एक घन्टा चलेको सेसनमा मिश्रले छिमेकका दुई देश आर्थिक शक्ति बन्ने बाटोमा अगाडि बढिरहँदा नेपालको अवस्था के हुने भन्नेबारे पनि धारणा राखे । ‘यस्तो अवस्थामा खतरा पनि छ र सम्भावना पनि,’ उनले भने । उनले देशको आन्तरिक सुरक्षा, पानीलगायत स्रोतका विषयमा खतरा रहेकोतर्फ संकेत गरे भने भने नेपालीसँग श्रम सम्भावना रहेको बताए ।’
मिश्रले नेपालको समृद्धिका लागि हरेक राजनीतिक पार्टीले आर्थिक मार्गचित्र तयार गर्नुपर्ने र आर्थिक वृद्धिलाई केन्द्रमा राखेर अन्तरपार्टी छलफल चलाउन सुझाव दिए ।
महोत्सवमा नेपाली समाजसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा छलफल जारी छन् । पहिलो दिन दलीय राजनीतिको सिकार बनेको समाजबारे छलफल केन्द्रित रह्यो भने दोस्रो दिन राजनीतिसँगै साहित्यले प्राथमिकता पायो ।
मिश्र र शर्माको सेसनलगत्तै पत्रकार यज्ञश र भारतीय लेखक उदयप्रकाश कृति अनुवादको पाटोमा गफिए । सोही अवसरमा यज्ञशले अनुवाद गरेको उदयप्रकाश लिखित कथासंग्रह ‘नेलकटर’ विमोचन गरियो । विमोचनलगत्तै भएको छलफलमा उदयप्रकाशले अनुवाद गाह्रो काम भएको र अनुवादकले असली लेखकले भन्दा ज्यादा मेहनत गर्नुपर्ने बताए ।
‘मेरो विचारमा अनुवादक असली लेखकको विस्तार रुप हो । सही अनुवादकले त्यो लेखकलाई नयाँ उचाइमा पु¥याउन मद्दत गर्छ,’ उदयप्रकाशले भने । उदयप्रकाशको अघिल्लो कृति ‘मोहनदास’को समेत अनुवाद गरेका यज्ञशले सानैदेखि हिन्दी फिल्म र साहित्य पढेका कारण अनुवादका लागि हिम्मत गरेको भए पनि केही शब्दले भने दुःख दिएको अनुभव सुनाए ।
चार दिनसम्म चल्ने महोत्सवमा करिब ४० शीर्षकमा छलफल चल्नेछन् । हिमा विष्टले अर्का भारतीय लेखक दुर्जोय दत्तसँग ‘दी मेकिङ अफ बेस्टसेलर’ शीर्षकमा शनिबार नै छलफल गरिन् । आठ वर्षको अन्तरालमा करिब १४ उपन्यास सार्वजनिक गरेका दत्तका अधिकांश उपन्यास ‘बेस्टसेलर’ सूचीमा समावेश छन् । दुर्जोयले बजारमा के चल्छ भन्ने कुनै पनि लेखकलाई थाहा नहुने तर आफूलाई चाख लागेको र आफूले पनि ‘इन्जोय’ गर्ने कथा लेखे सफलता वा असफलताले फरक नपार्ने अनुभव सुनाए ।
प्रेमकथा लेख्ने लेखकलाई नेपालमा झैँ भारतमा पनि लेखक मान्न इन्कार गर्ने जमात ठूलै छ । दुर्जोयले यस्तो अवस्थामा आफूलाई खासै अनौठो नलाग्ने बताए ।
‘क्रिटिक्सले मलाई लेखक मान्दैनन् र यसमा मलाई पनि कुनै गुनासो छैन । यदि २०–३० वर्षपछि पनि मेरा किताब आजझैँ बिक्री भए भने बल्ल आफूलाई लेखक मान्नेछु,’ दुर्जोयले भने ।
दोस्रो दिनको महोत्सव ‘गन्धर्व गीत’ बाट सुरु भएको थियो । गन्धर्व र उनीहरुको परम्पराको व्याख्या गर्दै शोधकर्ता कुसुमाकर न्यौपानेले गायकद्वय हरिबहादुर गन्धर्व र नारायण गन्धर्वका माध्यमबाट उनीहरुको समुदायको कुशल गायन सीप र प्रतिभा उजागर गरेका थिए ।
हल र चौर गरी दुवैतिर चलेको तेस्रो सत्रमा हिन्दी भाषाका लेखक उदयप्रकाश र पत्रकार यज्ञश ‘मोहनदासदेखि नेलकटर’ विषयमा छलफल चलिरहँदा हलमा हालै निधन भएका साहित्यकार कमलमणि दीक्षितले गरेका कामबारे चर्चा चलेको थियो । केदार शर्माले प्रस्तुत गरेको उक्त सत्रमा वक्ता वैरागी काइँला, धु्रवचन्द्र गौतम र राजेन्द्र दाहालले कमलमणिका विशिष्ट योगदानबारे चर्चा गरे । यसलगत्तै हलमा नै भएको कार्यक्रममा हिमाल एसोसिएसनका प्रमुख तथा अनुवादक वसन्त थापाले अनुवादको महŒवबारे एकल विचार प्रस्तुत गरे ।
चौरमा चलेको छैटौँ सत्रमा भने चार वक्ताले दर्शकलाई स्वैरकल्पनाको संसारमा पु¥याए । लेखक तथा पत्रकार नारायण वाग्लेले लेखकत्रय नयनराज पाण्डे, कुमार नगरकोटी र नारायण ढकाललाई लेखनमा यथार्थ र कल्पनाको दुनियाँबारे जिज्ञासा राखे । यही समय हलमा भने कवितामा क्लिसे वा विम्बको अतिप्रयोग र पुनरावृत्तिबारे कवि निभा शाह, भूपिन र तीर्थ श्रेष्ठले आफ्ना विचार प्रस्तुत गरे । यो सत्रलाई कवि नवराज पराजुलीले सञ्चालन गरेका थिए ।
शनिबार नै लेखक अमर न्यौपानेले व्यवसायी तथा लेखक जीवा लामिछाने, विश्व साइकलयात्री पुष्कर शाहसँग संसार घुम्ने तरिकाबारे रोचक कुराकानी गरे ।
यहीबेला हलमा अन्तिम सत्रका रुपमा पत्रकार यज्ञशले सम्पादकहरु हरिहर विरही, राजेन्द्र दाहाल तथा अमित ढकालसँग पत्रकारिताको विगत, वर्तमान र अबको मार्गबारे बहस गरे ।
शनिबारको अन्तिम सत्रमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले प्रहसन प्रस्तुत गर्दै माहोल रंगीन बनाए । व्यंग्यमार्फत देशका बेतिथिलाई घोचपेच गरी उनीहरुले दर्शक हँसाए । यही बेला सम्पादक नारायण वाग्लेले गायक अमृत गुरुङसँग गायन, जिन्दगी र जन्मथलो पोखराबारे कुराकानी गरे ।
क्याप्सन ः
‘गन्धर्व गीत’ सेसनमा सहभागी कुसुमाकर न्यौपाने, गायक हरिबहादुर गन्धर्व र नारायण गन्धर्व ।
तस्बिर ः नागरिक
प्रकाशित: १६ माघ २०७३ ०४:१३ आइतबार