६ वैशाख २०८१ बिहीबार
विचार

सहिद दिवसको अन्तर्कथा

१९९३ सालभन्दा पहिला नेपालमा कुनै पनि राजनैतिक सङ्गठन खोल्न पाउने व्यवस्था थिएन र कसैले लुकिछिपीकन पनि खोल्न सकेका थिएनन् । काठमाडौंस्थित ओमबहाल निवासी धर्मभक्त माथेमा भारतको कलकत्तामा गएर व्यायामको प्रशिक्षण लिएर आएकाले राजा त्रिभुवनले यिनलाई आफ्नो व्यायाम शिक्षकमा नियुक्त गरी यिनैबाट व्यायाम सिक्थे ।

व्यायाम सिक्ने समयमा प्रधानमन्त्री जुद्ध शमशेरका छोराहरू बहादुरशमशेर र अग्निशमशेर तथा बहादुर शमशेरका छोरा नरशमशेरको उपस्थिति भइरहन्थ्यो । यिनीहरूको उपस्थितिका कारण राजा त्रिभुवनले यी व्यायाम शिक्षकसँग कुनै आन्तरिक कुरा गर्न नपाऊन् भनेर हो । तैपनि मौका परेको समयमा राजा त्रिभुवन र धर्मभक्तबीच मुलुकको राजनैतिक विषयमा कुराकानी हुन्थ्यो । राजा त्रिभुवनको राजनैतिक विचारबाट धर्मभक्त निकै प्रभावित थिए ।
  

टीकाप्रसाद आचार्यका छोरा टङ्कप्रसाद आचार्य एक जुझारु स्वभावका थिए । नेपालको जहानिया राणा शासन हटाई प्रजातन्त्र स्थापना गर्नुपर्छ भनी एकदिन दशरथ चन्दसहित यिनै व्यायाम शिक्षक धर्मभक्तसँग परामर्श गर्न पुगेछन् । धर्मभक्तकी फुपूको घरमा जम्मा भएर छलफल गरेछन् । त्यसपछि टङ्कप्रसाद आचार्यले रामहरि शर्मा र जीवराज शर्मालाई पनि लगेर पाँच जनाको संगठन बनाएछन् । एउटा कागजमा उपस्थितिको नाम लखेर प्रजापरिषद् भन्ने राजनैतिक संस्था गठन गरेर राजाको नेतृत्वमा प्रजातन्त्रको स्थापना गर्ने लक्ष्य राखेछन् । विष्णुमतीको पानीमा हात चोपेर गोपनीयता कायम राख्ने भनी किरिया खाँदै उक्त कागजमा आ–आफ्नो हातबाट रगत निकालेर रगतले मुछिएको औंठाछाप सबैले लगाई उक्त कागज धर्मभक्तलाई सुरक्षित राख्न दिएछन् । सो कुराको जानकारी व्यायाम सिकाउने समयमा धर्मभक्तले राजा त्रिभुवनलाई जानकारी गराई राजालाई पनि यस सङ्गठनमा सहभागी गराउने सहमति गराए । धर्मभक्तले राजालाई जानकारी गराउन अनुकूल नपरेकाले राजा त्रिभुवनको स्वास्थ्य परीक्षण गर्ने कम्पाउण्डर चन्द्रमान मास्केमार्फत् जानकारी गराई राजा त्रिभुवन पनि यस प्रजापरिषद् सङ्गठनको सदस्य बनी अंग्रेजीमा ‘कन्सिडर टु मी एज अ मेम्बर अफ प्रजापरिषद्’ लेखी हस्ताक्षर गरेछन् र केही मात्रामा आर्थिक सहयोग पनि गरिदिए ।
  

यस संगठनबाट सर्वप्रथम काठमाडौं, ललितपुर र भक्तपुरका धेरै ठाउँमा राणा सरकारको विरोधमा पर्चाहरू छरिए । यो पर्चा छर्ने काम भोटो देखाउने तथा मच्छिन्द्रनाथ जात्राको रातमा भएको थियो किनभने अरु बेला रातमा हिँडडुल गर्दा प्रहरीको प्यारोल चाहिन्थ्यो । भोटो देखाउने एवम् मछिन्द्रनाथ जात्राको रातमा भने सरकारले जुवा फुकाउने हुनाले रातभर ठाउँठाउँमा जुवाका खाल हुन्थे । सर्वसाधारण जुवा खेल्न र हेर्न हिँडिरहने हुनाले प्रहरीको प्यारोल नचाहिने हुँदा पर्चा छर्न सहज भएको थियो ।
  

यता धर्मभक्तले १९९३ जेठ २० गते गठन गरिएको प्रजापरिषद् दलको कार्यालय आफ्नै घरमा खोलेर अति गोप्यरुपबाट कार्य सुरु गरे । राजा त्रिभुवनको स्वास्थ्य कमजोर हुँदै गएकाले व्यायाम सिकाउन जान पनि नपर्ने भएछ । यसरी गोप्यरुपमा काम गर्दा टङ्कप्रसादको प्रकाश, दशरथको सेवाराम, धर्मभक्तको अजबबहादुर, रामहरिको हरेराम र जीवराजको वसन्त भन्ने गुप्तनाम राखे । आफूले लेखापढी गर्दा राजा त्रिभुवनलाई मुखिया र प्रधानमन्त्रीलाई जमदार भन्ने गुप्तनाम पनि कायम गरे । यस सङ्गठनको अध्यक्षमा टङ्कप्रसाद आचार्यलाई तोके । यसका सदस्यहरू थप गर्ने क्रममा गणेशमान सिंह, सुन्दरराज चालिसे, बिपी कोइराला, हरिश्चरण श्रेष्ठ, गोविन्दप्रसाद उपाध्याय, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, फणीन्द्रराज हमाल, मुकुन्दप्रसाद रिमाल, ध्रुव दवाडी, पुष्करनाथ उप्रेती, चन्द्रमान मास्के, चुँडाप्रसाद उपाध्याय, बलबहादुर पाण्डे, कटकबहादुर, मरिचमान आदि थपिँदै गए ।
  

यसरी सदस्य सङ्ख्या पनि बढाउँदै लगिएको र ३–४ पटकसम्म विभिन्न ठाउँमा राणा विरोधी पर्चा छर्दै गर्दा १९९७ साल कार्तिक २ गते  संस्था स्थापना भएको चार वर्ष चार महिनामा प्रजापरिषद्कै एक सदस्य रामजी जोशी (गुप्तनाम वाकपतिराज) ले आर्थिक प्रलोभनमा परी प्रजापरिषद्को पोल राणा सरकारसमक्ष खोलिदिए । यसपछि नेपालमा रहेका प्रजापरिषद्का सबै सदस्य पक्राउ गरी नेल र हतकडीसहित हिरासतमा राखिए । अध्यक्ष टङ्कप्रसादलाई सबै सदस्यको सल्लाहले पहिलेदेखि नै भारततर्फ पठाइएकामा अन्य सदस्य पक्राउ परेपछि भीमशमशेरका छोरा रामशमशेरले रामचन्द्र अधिकारीमार्फत ‘तिम्रो पिताजी सिकिस्त बिरामी छन्, तुरुन्त मुख हेर्न आउनू’ भन्ने झूठो आवा पठाउन लगाए । आवा प्राप्त भएपछि टङ्कप्रसाद कार्तिक १० गते नेपाल फर्कने क्रममा जयनगरबाटै पक्राउ गरी १४ दिनपछि काठमाडौं ल्याई अन्य सदस्यहरुजस्तै  हिरासतमा राखिए ।

त्यसपछि सोधपुछ र केरकार गर्दै जाँदा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त र गङ्गालाललाई मृत्युदण्डको सजाय र अन्यलाई सर्वस्व हरणसहित कारावासको सजाय तोकियो । टङ्कप्रसाद आचार्य, रामहरि शर्माहरू ब्राह्मण भएकाले चारपाटा मुडी, जातपतन गरी सर्वस्व हरणसहित आजीवन काराबासको सजाय तोकियो । चुडाप्रसाद ढुङ्गाना र गणेशमान सिंहलाई सर्वस्व हरणसहित आजीवन कैदको सजाय तोकियो । जीवराज शर्मालाई १८ वर्षको कैद सजाय भयो । स्मरण रहोस्, उक्त सबै सजायको आदेश प्रधानमन्त्री जुद्धशमशेरको इच्छाअनुसार भएको थियो । मृत्युदण्ड दिने क्रममा शुक्रराज शास्त्रीले काठमाडौं इन्द्रचोकमा श्रीभद्भगवद्गीताको माध्यमबाट प्रवचन दिई राणा सरकारको विरोध गरेकाले १९९७ माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा खरीको रुखमा झुण्ड्याएर राति मृत्युदण्ड दिइयो भने धर्मभक्त माथेमालाई आफ्नै घरमा प्रजापरिषद् दल सञ्चालन गरेर राणा सरकारको विरोध गरेकोले १९९७ माघ १३ गते राति काठमाडौं सिफलस्थित बकैनाको रुखमा झुण्ड्याई  मृत्युदण्ड दिइयो । त्यसै गरी इन्द्रचोकमा शुक्रराज शास्त्रीले गरेको गीता प्रवचनको आमसभामा भाग लिई भाषण गरेको अभियोगमा गंगालाल श्रेष्ठलाई र राणा सरकारको खुलेरै विरोध गरेको अभियोगमा दशरथ चन्दलाई एकै दिनमा संयुक्त रुपमा काठमाडौंस्थित शोभा भगवतीमा १९९७ माघ १६ गते गोली हानी मृत्युदण्ड दिइएको थियो । यिनै चारजना अमर सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मको अवधिलाई सहिद सप्ताहको रुपमा मनाइने परम्परा कायम गरिएको छ । यी चार सहिद त मारिए–मारिए, तर यिनीहरुले राष्ट्रले स्वतन्त्रता र प्रजातन्त्र पाउनुपर्छ भनी गरिएको त्याग र बलिदानका कारण यिनीहरूको नाम नेपाल रहेसम्म अमर रहिरहनेछ । आजीवन काराबासमा रहेका टङ्कप्रसाद आचार्य, गणेशमान सिंहसमेतका अन्य नेताहरु चाहिँ २००७ सालमा मुलुकमा प्रजातन्त्र स्थापना भएपछि मात्र कारागारबाट मुक्त भए ।

प्रकाशित: १६ माघ २०७३ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App