८ वैशाख २०८१ शनिबार
अर्थ

गणतन्त्र स्मारक अन्तिम चरणमा

बसन्त खड्का

काठमाडौं– सरकारले नारायणहिटी  दरबार परिसरमा बनाउन लागेको गणतन्त्र स्मारक अन्तिम चरणमा पुगेको छ । स्मारकको अधिकांश भौतिक संरचना निर्माण भएको र आगामी वैशाख मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गरिने लक्ष्य राखिएको सहरी विकास तथा भवन निर्माण विभाग इन्जिनियर कृष्णकुमार कार्कीले जानकारी दिए । ०६९ चैतबाट सुरु भएको स्मारक झन्डै डेढ वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको हो ।
स्मारक निर्माणका लागि सरकारले बिकोई बिल्डर, स्काई बिल्डर तथा बंगलामुखी कन्स्ट्रक्सनसँग ०६९ मंसिर २२ गते सम्झौता गरेको थियो । स्मारक सहरी विकास तथा भवन निर्माणको मातहतमा बन्न लागेको हो । ०७२ मंसिर २१ मा स्मारक निर्माण सम्पन्न गर्ने गरी सरकारले नारायणहिटी क्षेत्रको ८२ रोपनी क्षेत्रफल छुट्याउने निर्णय गरेको थियो । सेनाको मातहतमा रहेकाले तत्काल जग्गा उपलब्ध नहुँदा चार महिनापछि मात्र स्मारकको काम सुरु भएको थियो ।
सेनाले ३५ रोपनी जग्गा मात्र उपलब्ध गराएको र सोही जग्गामै स्मारक निर्माण कार्य अघि बढाइएको विभागले जनाएको छ ।
अहिले ८५ प्रतिशतभन्दा बढी कार्य सकिएकाले कुनै अप्ठेरो परिस्थिति नआए वैशाख मसान्तसम्म स्मारक सम्पन्न हुने कार्कीले जनाए ।
‘वैशाख मसान्तसम्म स्मारक सम्पन्न गर्न सरकारसँग म्याद समेत थप गराएका छौँ,’ उनले भने ।
स्मारक सम्पन्न भएपछि दरबार संग्रहालयलाई हस्तान्तरण गरिनेछ ।
स्मारक निर्माणमा हालसम्म ३४ करोड २२ लाख खर्च भइसकेको र ४२ करोड रुपैयाँ कुल अनुमानित लागत रहेको विभागले जनाएको छ ।
१२ मिटर उचाइ रहने स्मारकमा अप्पर बेसमेन्ट तथा लोअर बेसमेन्ट गरी दुई ग्यालेरी रहने कार्कीले जनाए । स्मारकमा रहने चारवटा खम्बामा बेपत्ता पारिएका, अंगभंग भएका, मृत्यु भएकाको स्मरण गरिनेछ ।
स्मारकको फ्लोरमा धातुले बनेको नेपालको नक्सा राखिनेछ । स्मारक अपांगमैत्री हुने र अन्डरग्राउन्डमा सहज ढंगले हावा पास गराउने प्रविधिको पनि प्रयोग भएको छ । स्मारक क्षेत्रमा दुई सार्वजनिक शौचालय तथा एक भिआइपी पार्किङको व्यवस्था रहेको कार्कीले जानकारी दिए ।
गणतन्त्र स्थापनाको आठौँ वर्षगाँठमा स्मारक औपचारिक रुपमा उद्घाटन गरिने विभागले जनाएको छ ।

प्रकाशित: १६ माघ २०७३ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App