४ वैशाख २०८१ मंगलबार
खेल

पाँच लाख रुपैयाँ पुरस्कार सहित आहा–राराको उपाधि मनाङ मर्स्याङदीलाई

उपाधि पछि मनाङ मर्स्याङदीका खेलाडी सामूहिक तस्बिर खिचाउँदै। तस्बिर शौजन्य: संजय शाक्य

पोखरा- लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लवले आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा आयोजक सहारालाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङदी उपाधि हात पारेको हो।

पहिलो हाफ गोलरहित रहेकोमा खेलको ७० मिनेटमा मनाङका कमल श्रेष्ठले गरेको गोल नै उपाधि जित्नका लागि प्रयाप्त रह्यो। करिब ३० यार्ड टाढाबाट हानेको पावर सटलाई सहाराका गोलकिपर सुजीत गुरुङले अनुमान गर्न सकेनन्।

उपाधि जितेसँगै मनाङ मर्स्याङदीले ५ लाख एकहजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफि, मेडल पायो। उपविजेता बनेको सहाराले २ लाख ५१ हजार रुपैयाँ साथमा ट्रफि, मेडलमा चित्त बुझाउनुपर्‍यो। फाइनल खेलको म्यान अफ दी म्याच मनाङका कमल श्रेष्ठ बने।

२०५८ को क्याराभान गोल्डकप सहित आहा रारा गोल्डकपमा मनाङले यो सहित दशपटक फाइनल खेलेको छ। ती मध्ये १५ औं संस्करण सहित मनाङले आहा–राराको पाँचपटक उपाधि जित्न सफल भयो । मनाङ अघिल्लो संस्करणको पनि विजेता टिम हो । आयोजक सहारा आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १२ औं संस्करणको विजेता हो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एकथान स्कुटर प्रदान गरियो । सहाराका सुजीत गुरुङ सर्वोत्कृष्ट खेलाडी बने । सर्वोत्कृष्ट बनेका सुजीतले स्कुटर पुरस्कार पाए । त्यस्तै उत्कृष्ट गोलकिपर पनि सुजीत नै बने । उत्कृष्ड डिफेन्स मनाङ मस्र्याङदीका कमल श्रेष्ठ भए । उत्कृष्ट मिडफिल्डरको उपाधि मनाङकै सुजल श्रेष्ठ भए।

 सर्वाधिक बढी गोलकर्ता झापा ११ का कर्ण लिम्बु भए । उनले ३ गोल गरेका थिए । उत्कृष्ट स्ट्राइकरको उपाधि सहाराका शिव सुवेदी, प्रशिक्षक पनि सहारकै किरण श्रेष्ठ बने । फेयर प्ले टिम झापा ११ बन्यो । ५ विधामा उत्कृष्ट हुनेले नगद १५ हजार रुपैयाँ राशि सहितको पुरस्कार पाए। सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाए।

 

 

 

प्रकाशित: १५ माघ २०७३ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App