८ वैशाख २०८१ शनिबार
राजनीति

कुलमानलाई उचित जिम्मा दिने मौकाको खोजीमा थिएँ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले एक–दुई वर्षयता आफू कुलमान घिसिङलाई उचित जिम्मेवारी दिने मौकाको खोजीमा रहेको बताएका छन्। शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित सोनाम ल्होसार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपाल जलविद्युत र पर्यटनमा अथाह सम्भावना बोकेको मुलूक भएको बताए।

 'लोडसेडिङको अन्त्य र विद्युतीकरण गरेर मात्र देशमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने मेरो सोंच हो। कुलमान घिसिङजीको क्षमता र इमान्दारितालाई मैले विगत एक–दुई वर्षयता नजिकबाट हेरिरहेको थिएँ। कति बेला मौका मिल्ला र उहाँलाई उचित जिम्मेवारी दिन सकिएला भन्ने मौकाको खोजीमा थिएँ, प्रधानमन्त्री भएपछि त्यो मौका मिल्यो, सरकारले उहाँलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनायो', दाहालले भने, ' आज उहाँले हाम्रो विश्वासलाई व्यवहारमा उतार्नुभएको छ। म उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । जिम्मेवारी पायो भने जुनसुकै जाति र समुदायको व्यक्तिले पनि गरेर देखाउन सक्छ भन्ने कुरा तामाङको छोरो कुलमानजीले प्रमाणित गरेर देखाउनुभएको छ। ’
कार्यक्रममा प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित गणतन्त्रले महत्वपूर्ण परिवर्तन ल्याएको बताए। प्रधानमन्त्रीले भने, ‘अहिले राष्ट्रपति महिला हुनुहुन्छ, उपराष्ट्रपति जनजाति समुदायको हुनुहुन्छ, प्रधानन्यायाधीश महिला हुनुहुन्छ, सभामूख जनजाति समुदायको महिला हुनुहुन्छ, उपसभामूख मधेशी हुनुहुन्छ। यो सबै जनयुद्धकै राजनीतिक र परिवर्तनकारी सोंचको देन हो। अझ संयोग भनौं, उहाँहरु सबैलाई प्रस्ताव गर्ने संयोग पनि मलाई नै जुट्यो।’


 

 

प्रकाशित: १५ माघ २०७३ ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App