coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

उदास अनुहार सम्झेर

अनमोलमणि

भर्खरै तानबाट झारिएको रंगीन गलैँचाजस्तो

पार्कको नरम दुबोमा बसेर

घाम ताप्दै वा घाम छल्दै

के सोचिरहेछौ तिमी

र, भुइँमा झरेको म्यापलको सुकेको पातजस्तो

उदास छ तिम्रो अनुहार?

 

खर्कको भेडीगोठभन्दा ठूलो स्टोरभित्र

तिमीले तानेको त्यो गाडामा

सामान भरिएको छ कि सपना?

ग्यास स्टेसनको एकाउन्टमा

तिमी सिक्का गनिरहेछौ कि उमेर?

कस्तो छ भर्खरै दाहिने हातको चोरीऔँलाले

सिनित्त पुछेको तिम्रो निधारको पसिनाको रंग?

 

सिरसिर बतासबीच

भर्खरै आकाशबाट झरेको नरम कपासजस्तो हिउँ

कपाल, कुम र अनुहारबाट टक्टकाउँदा पनि

किन हेरिरहेछौ र चुमिरहेछौ तिमी

हत्केलामा बसेको हँसियाको उही पुरानो ठेला?

किन तिमीलाई यतिविघ्न प्रिय लागेको

दर्शनढुंगामा ठोकिएर रगतपच्छे

तिम्रो त्यो दाहिने खुट्टाको बूढीऔँलाको खत?

(तिमी त ती सब मेट्न र भुल्न चाहन्थ्यौ)

साँच्चै कता जाँदैछ यौटा भंगालोबाट उछिट्टिएर

अर्को भंगालो पुगेको तिम्रो जीवनको डुंगा?

 

चौरभरि चरिरहेका पानीहाँसका बथान हेर्दै

किन उदासउदास छौ तिमी?

के भन्यो त्यो रेस्टुरेन्टको साहुले आज?

साँच्चै किन गाली गर्‍यो

त्यो स्टोरको सुपरभाइजरले?

किन रिसाइ डे केयरकी डाइरेक्टर?

किन बेखुस भयो तिम्रो कार्यालयको हाकिम?

किन असन्तुष्ट भई

आइब्रो मिलाउन आएकी त्यो गोरी केटी?

तिम्रो आँखा छलेर कता भाग्यो

मानसिक रोगको त्यो विरामी

र, किन केरकार गर्‍यो तिमीलाई पुलिसले?

 

तिमी त कुदाइरहेछौ विशाल चिल्लो सडकमा

भरखरै किनेको आफ्नो निजी कार

टाउकोमा सिउरिएका छौ त्यो ब्रान्डेड चस्मा

छातीमा भिरेका छौ यौटा एसएलआर क्यामेरा

हातमा छ भरखरै आएको नयाँ मोडेलको स्मार्टफोन

छिनछिनमा पोस्टिरहेछौ मुस्कानसहितको सेल्फी फेसबुकमा

पोखिरहेछौ असन्तुष्टि टि्वटरमा

र पनि सधैं अनिदोजस्तो

सधैँ असन्तुष्टजस्तो

जीवनमा केही नभेटे र नपुगेजस्तो

किन फुस्रोफुस्रो छ तिम्रो अनुहार?

 

किन बेरंगीजस्तो देखिएको

तिम्रो ओठको लिपिस्टिक

गालाको पाउडर र क्रिमको चमक?

किन छोप्न नसकेको

तिम्रो ओठको कृत्रिम मुस्कानले

उदासउदास देखिएको त्यो अनुहारको भाव?

 

के लिन आएका थियौ र के पुगेन तिमीलाई

बोल किन मौन छौ? केही त बोल–

किन आयौ तिमी भूगोलको अर्को पिँधमा

हजारौँ माइल पर प्रियजनहरू छाडेर?

जहाँ घाम पनि एक दिन ढिलो उदाउँछ

जहाँ जून पनि एक दिन ढिलो अस्ताउँछ

 

सपनाको ट्रान्जिट

हुन्हुनाएर एकनास बग्दैछन्

कालो सडकको नांगो छातीमा मेरा सपनाहरू

यो साँझ म सपनाको ट्रान्जिटमा छु

 

कलेटी परेका मेरा कुर्कुच्चा देखेर

डराउँछ काठमाडौँको सिरेटो र ठिही

सिँगान पुछ्दापुछ्दा कटकटिएको

मेरो पुरानो सर्टको बाहुला देखेर आत्तिन्छ

सरुवा रोगको फ्लु

 

मजस्तै एक्लो यो बिजुलीपोल साथी खोजिरहेछ

मजस्तै एक्लो यो खैरो कुुकुर साथी खोजिरहेछ

वसन्तपुरको यो डबलीमा

जूनकीरीजस्तो बेलाबेला पिलपिल बल्ने

बिजुलीबत्ती साक्षी रोखर म भन्न चाहन्छु,

'ओ मान्छेहरू

मलाई पनि पढ्न मन छ,

मलाई पनि मेरो नाम लेख्ने मन छ

हेर मेरा आखामा पनि छन्

तिमीजस्तै ठूलो र असल मान्छे हुने सपना।'

 

 

यो साँझ म सपनाको ट्रान्जिटमा छु

मलाई हेक्का छैन

कुन मोडमा छलिए मेरा बाउआमा

जसलाई खोज्दै आइपुगेँ म उज्यालो सहर

नभेटेर कतै सहाराको छहारी

वसन्तुपुरको चिसो सिँढीमा ढेस्सिएर

म चुसिरहेछु अहिले

फिल्टरमात्रै बाँकी रहेको जुठो चुरोट

 

चमक हराएको काष्ठमण्डपको

गजुर हेर्दै फालिरहेछु

ध्वाँसे आकाशतिर चुरोटको धुवाँ

त्यही धुँवाले छेक्छ मेरा सारा सपना

अघिल्तिरको अग्लो न अग्लो घर

हरेक साँझ यो गल्लीमा

हिँड्छन् कवि, पत्रकार

कलाकार र नेता

भट्टीबाट हुलका हुल निस्कन्छन्

दिउँसो बालअधिकारको भाषण सकेर छिर्ने दलालहरू

सहरको साँघुरो गल्लीमा

पटकपटक ठोकिएर उनीहरूसित

छरिएका छन् मेरा सपना

टुक्राटुक्रा भएर अध्यारो भुइँभरि

छरिएका सपना सम्हाल्न नपाउँदै

भोलि बिहानै पुग्नुपर्छ मलाई

बेग सुस्ताएको वाग्मतीको किनार

सुस्केरा हराएको विष्णुमतिको पुछार

मैले ल्याउनु छ एक धोक्रो पुराना प्लास्टिक

किन्नु छ नयाँ सडकमा बासी समोसा

मलाई बन्नु छ यो सहरमा

सुकिलो, ज्यानदार र धोद्रे स्वर भएको

फिल्मको जुल्पि्कदार नायक राजेश हमाल!

प्रकाशित: १५ माघ २०७३ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App