६ वैशाख २०८१ बिहीबार
खेल

उपाधिमा सहारा र मनाङको दाबी

पोखरा- घरेलु टोली सहारा क्लब र नेपाली फुटबलको सदावाहर महारथी लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी क्लब शनिबार पोखरा रंगशालामा आमने–सामने हुँदा दर्शकले तीन वर्षअघिको फाइनल सम्झनेछन्। १२ औं संस्करणमा पनि यिनै दुई टोलीबीच फाइनल भएको थियो।

आयोजक सहारा पोखराको स्थानीय टोली हो भने मनाङ पनि गण्डकी अञ्चलकै टोली भएकाले पोखरेली समर्थकमाझ लोकप्रिय छ। त्यसैले तीन वर्षअघिको फाइनल रिप्लेका रुपमा हुन लागेको उपाधि भिडन्तमा दुवै टोलीले घरेलु मैदानको भावनाका साथ खेल्नेछन्। सहारा र मनाङबीचका यी संयोगमा उपाधि जित्ने उद्देश्यको समानता पनि थपिएको छ। मनाङ पाँचौं पटक आहा–राराको उपाधिमा कब्जा जमाउन चाहन्छ भने सहारा दोस्रो पटक उपाधि घरमा राख्ने अभियानमा हुनेछ।

फाइनलअघि शुक्रबार गरिएको पत्रकार सम्मेलनमा दुवै टिमका कप्तान र प्रशिक्षकले निर्धारित समयभित्रै नतिजा निकाल्ने रणनीति बनाएको बताए। एक–अर्कालाई सहजै पाखा लगाउने दुवै टिमका कप्तान र प्रशिक्षकको दाबी छ। मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पोखरा रंगशाला आफ्ना लागि पनि घरेलु मैदानसरह रहेकाले खेल जित्न समस्या नरहेको बताए।

'हामीले पनि पोखरा रंगशालालाई सधैं घरेलु मैदान ठान्ने गरेका छौं,' उनले भने, 'घरेलु मैदानमा खेले सरह हुने भएकाले शनिबारको फाइनललाई लिएर हामी दबाबमा छैनौं। सहारा घरेलु टिम भए पनि हामीले आफूलाई बाहिरी ठानेका छैनौं।'

फाइनलमा जुनसुकै टिमसँग खेल्न पनि कठिन हुने उनको भनाइ छ। 'फाइनल पुग्ने टिम कमजोर हुँदैन। कुनै पनि टिम राम्रो खेलेरै फाइनलमा पुग्छन्। त्यसैले हामीले सहारालाई कमजोर ठानेका छैनौं,' उनले भने, 'हामीसँग सेट टिम छ। राष्ट्रिय खेलाडीको सशक्त बल पनि हामीसँगै छ।' उनले सहाराको खेल हेटौंडा र धनगढीमा समेत हेरेकाले कमजोर नआँक्ने बताए।

तीन वर्षअघिको भेटमा भन्दा अहिले मनाङको अवस्था बलियो रहेको उनले दाबी गरे। 'उ बेलाका प्रशिक्षक, खेलाडी सबै अहिले मैदानमा छैनन्। फरक खेलाडी र प्रशिक्षक हुँदा अहिलेको अन्तर फरक छ,' गुरुङले भने, 'हामीसँग अहिले पनि सशक्त टिम छ। त्यही सशक्त बललाई हामीले उपयोग गर्ने हो।'

मनाङका प्रशिक्षक गुरुङले पहिलो १० मिनेटभित्र गोल गर्न सके ३/४ गोल हुने दाबी गरे। 'सुरुमा गोल निस्कन नसके पनि निर्धारित समयभित्रै उपाधि जित्ने हाम्रो लक्ष्य हो। सुरुमै गोल गर्न सकिएन भने विजयअन्तर चाँही साँघुरो हुन्छ,' उनको विश्वास छ, 'फुटबलको स्कोरमा भरोसा हुँदैन। कुनै पनि बेला निस्कन सक्छ, कहिलेकाँही अन्तिमसम्म कुुर्नुपर्ने पनि हुनसक्छ।'

मनाङका कप्तान अनिल गुरुङले पनि फाइनललाई लिएर दबाब महसुस नगरेको बताए। 'हामीलाई उत्तिसारो दबाब छैन। फाइनल भिडन्त भएकाले जसले राम्रो खेल्छ, उसैले उपाधि लैजान्छ,' कप्तान गुरुङले भने।

घरेलु टिम सहाराले पनि उपाधि घरमै राख्ने रणनीतिका साथ खेल्ने बताएको छ। सहाराका प्रशिक्षक किरण श्रेष्ठले आफूसँग राष्ट्रिय खेलाडीको जमात नरहे पनि मेहनती टिम भएको बताए। 'अनुशासित भएर खेल्दा पक्कै उपाधि जित्न सकिन्छ भन्ने विश्वास छ,' उनले भने, 'केही खेलाडी थपेर भए पनि उपाधि जित्ने दाउमा छौं।'

सेमिफाइनलमा बबीले रातो कार्ड सामना गरेका कारण शनिबार उपाधि भिडन्तमा उनको उपस्थिति हुने छैन। उनको अनुपस्थितिमा थोरै दबाब भए पनि हेमन्त गुरुङ र मानबहादुर तामाङ फाइनलमा मैदान उत्रिने भएकाले श्रेष्ठलाई राहत मिलेको छ।

सहारालाई रक्षात्मक खेल्ने गरेको आरोपबारे प्रशिक्षक श्रेष्ठले भने, 'परिस्थितिअनुसार रणनीति बनाउनुपर्छ। फाइनलमा पनि खेल कुन तरिकाले जान्छ, हामी त्यहीअनुसार रणनीति बनाउँछौं। रक्षात्मक खेल्नु समयको माग हो,' उनले भने।

सहाराका कप्तान उत्तम गुरुङले दोस्रो पटक उपाधि घरमा राख्ने उद्देश्यमा मेहनतपूर्वक खेल्ने बताए। तीन वर्षअघि फाइनलमा मनाङलाई १–० को नतिजामा हराउँदै सहाराले उपाधि घरमा राखेको थियो।

२०५८ को क्याराभान गोल्डकपसहित आहा–रारा गोल्डकपमा मनाङले सबैभन्दा बढी ९ पटक फाइनल खेलेको छ। तीमध्ये चारपटक उपाधि जितेको छ। मनाङ अघिल्लो संस्करणको पनि विजेता टिम हो। अघिल्लो संस्करणको फाइनलमा मनाङले विभागीय टिम आर्मीलाई १–० ले हराएको थियो। आयोजक सहाराको यो तेस्रो फाइनल यात्रा हो।

प्रकाशित: १५ माघ २०७३ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App