१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

२०४५ फागुन ६ पछि जन्मेका मात्रै उम्मेदवार

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव उमेर हदबन्दी कडाइका साथ लागू गर्ने भएको छ। त्रिवि कार्यकारी परिषद्को बिहीबार साँझ बसेको बैठकले स्ववियु निर्वाचन कार्यतालिका र निर्वाचन निर्देशिका, २०७३ पास गर्दै २०४५ फागुन ६ गतेयता जन्मेकाले मात्रै उम्मेदवारी दिन पाउने निर्णय गरेको छ।

विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापामगरले भने, '२०४५ फागुन ६ गतेयता जन्मेकाले मात्र उम्मेदवार हुन पाउने व्यवस्था चुनाव कार्यतालिका तथा निर्देशिकामा गरिएको छ,' निर्देशक थापामगरले नागरिकसँग भने, 'कार्यकारी परिषद्ले स्ववियु चुनाव फागुन १४ गते गर्ने निर्णय गर्‍यो। स्ववियु निर्वाचन मिश्रित प्रणालीबाटै हुने निर्णय भएको छ।'

चुनाव निष्पक्ष र धाँधलीरहित बनाउन विश्वविद्यालयले माघ १५ गतेदेखि कार्यान्वयन हुनेगरी स्नातक र स्नातकोत्तर तहको विद्यार्थी भर्ना कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। यसअघि चुनावको मिति तोकेलगत्तै जथाभावी विद्यार्थी भर्ना हुने गरेकोमा यसपटक त्यसो हुन नदिन विश्वविद्यालयले यो निर्णय गरेको हो। 'विश्वविद्यालयलले माघ १५ गतेदेखि नै कार्यान्वयन हुनेगरी सबै कलेजमा विद्यार्थी भर्ना रोक्न शुक्रबार निर्देशन दियो,' थापामगरले नागरिकसँग भने, 'विकृति रोक्न कार्यकारी परिषद्ले यस्तो निर्णय गरेको हो।'

कार्यतालिकाअनुसार विद्यार्थी संघसंगठनले फागुन १ गतेभित्र दर्ता  भइसक्नुपर्नेछ।  फागुन १ गते नै मतदाता सूची प्रकाशित गर्ने, फागुन २ गते मतदाता सूचीमा दाबी विरोध, फागुन ४ गते मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ। यसैगरी फागुन ५ गते उम्मेदवारको मनोनयन गर्नुपर्नेछ। क्याम्पस निर्वाचन समीतिले फागुन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ।

मिश्रित प्रणालीबाट हुने निर्वाचनमा अध्यक्ष, कोषाध्यक्ष र सचिव प्रत्यक्ष प्रणालीबाट चयन हुनेछन् भने ५० प्रतिशत सदस्य समानुपातिक विधिबाट चयन गरिनेछ। समानुपातिक निर्वाचित सदस्यबाटै उपाध्यक्ष र सहसचिव  कार्यसमितिले चयन गर्ने निर्देशक थापामगरले स्पष्ट पारे।

यसैगरी दुई सय विद्यार्थी भएको क्याम्पसमा पदाधिकारीसहित ११ सदस्यीय, २ सय एकदेखि एक हजार विद्यार्थी भएको क्याम्पसमा१५ सदस्यीय, १ हजार एकदेखि ३ हजार विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३ हजार एकदेखि बढी विद्यार्थी भएका क्याम्पसमा पदाधिकारीसहित २१ सदस्यीय कार्यसमिति चयन हुने व्यवस्था निर्देशिकाले गरेको छ।

कार्यकारी परिषद्ले निर्वाचन अचारसंहितासमेत पारित गरेको छ। 'निर्वाचनमा संघसंगठनले भित्ते लेखन, माइक, पर्चा, ब्यानर, पम्प्लेट प्रयोग गर्न पाउने छैनन्,' थापामगरले भने, 'संघसंगठनले एक रङको कागजमा घोषणापत्र छापेर प्रचार गर्न सक्छन्।'

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनका सभापति नैनसिंह महरले आठ वर्षपछि हुन लागेको चुनाव गराउन नेवि संघ विश्वविद्यालयको हरेक नियमन मान्न तयार रहेको बताए। उनले सबै विद्यार्थी संगठनको नियमित बैठक बस्दै आएको र चुनावी तयारीबारे छलफल गरी सबै एकै स्थलमा पुगेको दाबी गरे।

'विश्वविद्यालयले चुनाव कार्यतालिका र निर्देशिका पास गरेलगत्तै संघसंगठनमा चुनावी सरगर्मी बढेको छ,' महरले नागरिकसँग भने, 'हामी सबै उम्मेदवार छनोट, एजेन्डा बनाउने र चुनाव जित्ने रणनीति बनाउनतर्फ लागेका छौं।'

प्रकाशित: १५ माघ २०७३ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App