१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रविधिमैत्री बन्दै दल, माओवादी केन्द्र पछाडि

काठमाडौं- सूचना प्रविधि विस्तारसँगै राजनीतिक दलहरूले पनि आफूलाई प्रविधिमैत्री बनाउन थालेका छन्। दलहरूले विशेषतः इन्टरनेट प्रविधि उपयोग गर्दै पार्टी सञ्जाल विस्तार गर्न लागेका हुन्। दलहरूले आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जाललाई नियमित अपडेट गर्न थालेका छन्। पार्टीका ऐतिहासिक तथा महŒवपूर्ण दस्ताबेज, संगठन संरचना, नेतालगायतको जानकारी र आधिकारिक सूचना अनलाइनबाटै दिने व्यवस्था मुख्य दलहरूले गरेका छन्। अनलाइनमार्फत सदस्यताका लागि आवेदन दिनसक्ने व्यवस्था पनि प्रायः दलले गरेका छन्।

प्रविधि प्रयोगमा नयाँ शक्ति नेपाल, विवेकशील नेपाललगायत दल अगाडि देखिन्छन्। पुरानो तथा संसद्को ठूलो दल नेपाली कांग्रेस र एमालेले पनि प्रविधि प्रयोगमा जोड दिन थालेका छन्। सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र भने प्रविधि प्रयोगमा अन्य दलभन्दा पछाडि छ।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले आफूलाई प्रविधिमैत्री बनाउँदै लगेको छ। कांग्रेसको आधिकारिक वेबसाइट नेपालीकांग्रेस डटओआरजी सञ्चालनमा छ। यसमा कांग्रेसका ऐतिहासिक दस्तावेजहरू, पार्टी विधान, घोषणापत्र, संगठन संरचना, राष्ट्रिय महाधिवेशनका दस्तावेज, अग्रज नेताहरूको विवरणलगायत सामग्री राखिएको छ।

वेबसाइट र फेसबुक पेजमा पार्टीका आधिकारिकबाहेक अन्य सामग्री अपडेट नगरिने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बताए। 'केन्द्रीय कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति र आधिकारिक समाचार नियमित अपडेट गर्छौं,' उनले भने, 'पार्टीका नेताहरूले विभिन्न कार्यक्रममा दिएका अभिव्यक्ति आधिकारिक धारणाअनुसार हुँदैनन्। त्यसैले नेताले बोलेका आधारमा आएका समाचार अफिसियल पेजमा हामी अपडेट गर्दैनौैं।'

पराजुलीका अनुसार कांग्रेसले फ्याक्स र हुलाकमार्फत परिपत्र गर्ने कार्य लगभग बन्द गरेको छ। '७५ वटै जिल्ला समितिलाई इमेलमार्फत परिपत्र गर्छौं,' पराजुलीले भने, 'नयाँ प्रविधि प्रयोग गर्न प्रत्येक जिल्ला समितिलाई एकएकवटा कम्प्युटर प्रदान गरेका छौं।'

केन्द्रीय कार्यालयको सर्भरमा पाँच लाख क्रियाशील सदस्यको तथ्यांक रहेको जानकारी दिँदै पराजुलीले कुनै पनि बेला ती सदस्यलाई इमेल गर्न सकिने बताए। 'बल्क एसएमएस' सेवा पनि पार्टीले प्रयोग गर्दै आएको जनाउँदै उनले भने, 'केन्द्रीय समितिको बैठक जानकारी पनि एकैपटक एसएमएसबाट सबै जिल्ला समितिलाई दिने गरेका छौं।'

पार्टीलाई उच्च प्रविधिमैत्री बनाउन लागिपरेको बताउँदै उनी थप्छन्, 'केन्द्रीय कार्यालयलाई नेटवर्किङ गरेर 'पेपरलेस अफिस' बनाउने तयारीमा छौै।' उनका अनुसार पार्टीको आइटी विभागमा चार कर्मचारी नियमित काम गर्छन्।

पार्टी विधानले नदिने भएकाले हाललाई अनलाइनमार्फत सदस्यताका लागि आवेदन लिने व्यवस्था नरहेको उनले बताए। 'गाउँ/नगर एकाइबाटै सदस्यता लिनुपर्ने प्रावधान पार्टी विधानमा छ,' उनले भने, 'प्राविधिक रूपमा हामी तयार छौँ।'

संसद्को दोस्रो ठूलो दल एमालेको आधिकारिक वेबसाइट सिपिएनयुएमएल डटओआरजी सञ्चालनमा छ। वेबसाइट र सामाजिक सञ्जाल नियमित अपडेटका लागि छुट्टै कर्मचारी खटिएका छन्। सो कार्यमा संलग्न कर्मचारी प्रेम गुरागाईंका अनुसार पार्टीका ऐतिहासिक दस्तावेज, नीतिगत दस्तावेज, राष्ट्रिय महाधिवेशनका दस्तावेज  जनसंगठन र आबद्ध संगठन, नेतृत्व, सांसदलगायत सबै प्रकारका आधिकारिक विवरणहरू वेबसाइटमा राखिएको छ। पार्टीका नियमित गतिविधि र प्रेस विज्ञप्ति  पनि वेबसाइटमा अपडेट गरिन्छ।

सामजिक सञ्जाल फेसबुकमा रहेको एमालेको आधिकारिक पेजमा पार्टीका हरेक गतिविधि अपडेट हुने गुरागाईंले बताए। 'पार्टीका विशेष कार्यक्रमहरू फेसबुक पेजबाटै लाइभ अपडेट गर्दै आएका छौं,' गुरागाईं भन्छन्, 'पार्टी र नेताहरूसँग सम्बन्धित रहेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार पनि पेजबाट नियमित सेयर गरिरहेका छौं।'

आधिकारिक वेबसाइटभित्र प्रवासलाई लक्षित गरी छुट्टै पेज बनाउने तयारी भइरहेको उनले जानकारी दिए। अनलाइनबाटै सदस्यता लिन सक्ने व्यवस्था पनि एमालेले गरेको छ।

प्रविधि प्रयोगमा प्रधानमन्त्री पुष्पकमल दाहाल  नेतृत्वको नेकपा माओवादी केन्द्र अन्य दलभन्दा निक्कै पछाडि देखिन्छ। उसको आधिकारिक वेबसाइट युसिपिएनएमाओस्ट डटओआरजी करिब एक वर्षदेखि अपडेट देखिँदैन। पछिल्लोपटक २०७२ फागुन १ गते जनयुद्ध दिवसका अवसरमा अध्यक्ष दाहालको शुभकामना अपडेट गरेको देखिन्छ। पार्टीको फेसबुक पेज १५ फेब्रुअरी २०१६ यता अपडेट देखिँदैन।

एमाओवादी केन्द्रको वेबसाइट हेर्ने शिव खकुरेलले पार्टी एकीकरणपछि पुरानो वेबसाइट अपडेट नरहेको बताए। 'सिपिएनएमसेन्टर डटओआरजी नामबाट नयाँ साइट अबको एक महिनाभित्र लन्च गर्ने तयारीमा छौं,' उनले भने। नयाँ बन्ने वेबसाइटमा पार्टीको सम्पूर्ण दस्ताबेज राखिने र आन्तरिक डाटाबेसमा सबै जिल्लाको विवरण राखिने उनले बताए। 'पार्टी एकता भएकाले केही समस्या भएको हो,' उनले भने, 'नयाँ वेबसाइटको काम सकिनासाथ सामाजिक सञ्जाल पनि उपयोग गर्ने योजना छ।'

राष्ट्रिय प्रजातन्त्र पार्टी पनि प्रविधि प्रयोगमा अगाडि बढेको देखिन्छ। उसको आरपिपिएन डटओआरजी नामक आधिकारिक वेबसाइट सञ्चालनमा रहेको छ।

वेबसाइटको नियमित अपडेट पार्टी सूचना प्रविधि विभागबाट गरिँदै आएको विभागका कर्मचारी कृष्ण खनालले बताए। तत्कालीन राप्रपा नेपालका प्रायः सबै दस्तावेज वेबसाइटमा राखिएको र पार्टी एकतापछिका दस्तावेज राख्ने क्रममा रहेको उनले जानकारी दिए। उनका अनुसार वेबसाइटमार्फत नयाँ सदस्यताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

राप्रपाको फेसबुक पेजबाट पार्टी कार्यक्रमको लाइभ र नियमित गतिविधि नियमित अपडेट गरिँदै आएको खनालले बताए। पाका उमेरका नेताहरू र विकट क्षेत्रमा यसको प्रभावकारिता कम देखिए पनि युवालाई आकर्षित गर्न प्रविधि प्रयोग उपयोगी बन्दै गएको उनी बताउँछन्।

राप्रपाले आगामी महाधिवेशन प्रचारप्रसारमा पनि सामाजिक सञ्जालको प्रयोग गर्ने घोषणा गरेको छ। 

एमाओवादीबाट अलग भएर नयाँ पार्टी खोलेका डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा अन्य नेताहरूको तुलनामा अगाडि देखिन्छन्। उनले नेतृत्व गरेको दल नयाँ शक्ति नेपाल पनि प्रविधि प्रयोगमा अगाडि देखिन्छ। सो दलले नयाँशक्तिनेपाल डटओआरजी नामक वेबसाइट सञ्चालन गरेको छ। जसमा पार्टीबारे सबै जानकारी राखिएका छन्। पार्टी गतिविधिनियमित रुपमा अपडेट गरिएको छ।

पार्टीले सोसियल नेटवर्कलाई विशेष फोकस गर्दै आएको प्रचार विभाग सदय तथा डा. भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले बताए। '७५ वटै जिल्लामा सोसल नेटवर्क अनुगमन गर्ने टिम बनाउने तयारीमा छौं,' उनले भने, 'दलको फेसबुक पेज र टि्वटरमा पार्टी गतिविधिका अतिरिक्त सामाजिक गतिविधि र विभिन्न स्वतन्त्र लेखकका विचारलाई पनि प्रचार गर्दै आएका छौं।'   

अनलाइनबाट सदस्यता लिने कार्य प्रभावकारी बनेको बताउँदै उनले हालसम्म ४० हजारभन्दा बढीको आवेदन आएको जानकारी दिए। पार्टीले सबै सदस्यको विवरण राख्ने कार्य गरिरहेको पाण्डेले बताए। 'अहिले डाटा इन्ट्री काम भइरहेको छ,' उनले भने, 'डाटा इन्ट्री र मिडिया कन्टेन्टका लागि छुट्टै जनशक्ति परिचालन गरेका छौं।' 

युवाको अगुवाइमा स्थापित दल 'विवेकशील नेपाली दल' पनि सूचना प्रविधि प्रयोगमा अगाडि देखिन्छ। यो दलको लिडनेपाल डटकम नामक आधिकारिक वेबसाइट,  फेसबुक, टि्वटर पेज तथा युट्युब च्यानल छ। 'हामीले सुरुवातदेखि नै सूचना प्रविधिलाई भरपुर उपयोग गर्दै आएका छौं,' दलकी सञ्चार विभाग प्रमुख रञ्जु दर्शनाले भनिन्, 'दलको आयव्ययदेखि सबै प्रकारका जानकारी वेबसाइटमा राखेका छौं।'

सामाजिक सञ्जाल हेर्न 'सोसियल मिडिया लिडर्स' का रूपमा १६ जना संलग्न रहेको उनले बताइन्। आफ्नो दल सामाजिक सञ्जाल प्रयोग गर्ने पहिलो दल भएको दाबी गर्दै उनले भनिन्, 'फेसबुक पेजमा चार लाखभन्दा बढी लाइक आइसकेको छ। ७५ वटै जिल्ला शाखाको आआफ्नै पेज छ।'

सामाजिक सञ्जाल प्रयोगमा दलको छुट्टै नीति रहेको उनले बताइन्। 'फेसबुक पेज र टि्वटरमा पनि के कुरा सेयर गर्ने/नगर्ने भन्ने पार्टीको नीति बनेको छ, हाम्रो टिमले नियमित अनुगमन गरिरहेको हुन्छ,' उनले भनिन्, 'पार्टीको नीतिभित्रका कुरामात्र सेयर गर्छौं।' उनले आफ्नो पेजको नियमित 'एनालाइसिस' पनि गर्दै आएको जानकारी दिइन्।

सेन्टर फर मिडिया रिसर्चका कार्यकारी निर्देशक उज्ज्वल अधिकारी राजनीतिक दल प्रविधितर्फ केन्द्रित हुनुलाई स्वाभाविक बताउँछन्। 'सोसल मिडिया अहिले सबैका लागि अनिवार्यजस्तै बनिसकेको छ,' उनले भने। पोलिटिकल कम्युनिकेसनमा पार्टी र नेतालाई अझ बढी यसको आवश्यकता रहेको उनले औंल्याए। 'सोसल मिडिया पब्लिक माझ पुग्न सबैभन्दा सजिलो माध्यम बनेको छ,' उनले भने, 'हिजोका दिनमा पत्रकारले मध्यस्थकर्ताको काम गर्थे, जुन राजनीतिक दलले चाहेजस्तो हुँदैनथ्यो। सोसल मिडिया आएपछि 'गेट किपिङ फ्री' भएको छ।'

नेपालका सबै नेताले सामाजिक सञ्जालको आवश्यकता महसुस गरेको अधिकारीको बुझाइ छ। उनी भन्छन्, 'सबैले प्रयास गरेको देखिन्छ। तर जुन हिसाबले प्रयोग हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन।' 'मल्टी वे' प्रकृतिको सोसल मिडियालाई नेताहरूले परम्परागत 'वान वे' मिडियाका रूपमा मात्र प्रयोग गरेको पाइएको उनले बताए। सोसल मिडिया अहिलेको सशक्त माध्यम रहेको उनले बताए।

प्रकाशित: १५ माघ २०७३ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App